Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको र उनी प्रहरीको गिरफ्तमा परेको दाबी गरिएको देखिन्छ ।
Surachxy Khadka नामक टिकटक आइडीमा उक्त दाबीसहितको सामग्री पोस्ट गरिएको छ । दाबीसहितको सामग्रीमा अनुराधा कोइरालाका विभिन्न तस्बिरसँगै भिडियो पनि देखिन्छ । उक्त भिडियोमा रहेको थमनेलमा उनी पक्राउ परेको दाबी गरिएको छ ।
थमनेलमा लेखिएको छ– ‘सन्दीप लामिछानेलाई फसाएको भन्दै माइती नेपालकी संचालक अनुराधा कोइराला पक्राउ, अनुराधा भारतीय नागरिक भएको प्रमाण ।’
त्यस्तै प्रस्तुत भिडियोसहितको सामग्रीमा एउटा अडियो पनि सुनिएको छ । उक्त अडियोमा पनि अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको र उनले भारतीय आधारकार्ड बोकेको दाबी गरिएको छ ।
दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट भएको २४ घण्टा पनि पुगेको छैन । त्यसैले प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट त्यति व्यापक देखिँदैन । तर, आगामी दिनमा प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ ।
नेपालसँग देश-विदेशमा ख्यातिप्राप्त व्यक्तित्व हुन्, अनुराधा कोइराला । यिनै अनुराधा कोइरालाको विषयमा गरिएको प्रस्तुत दाबी अति सम्बेदनशील रहेको छ । त्यही कारण हामीले प्रस्तुत दाबीमाथि जाँच गर्ने जमर्को गरेका छौँ ।
सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा मुख्यत: तीनवटा दाबीलाई पहिचान गर्न सकिन्छ । ती दाबी हुन्- ‘अनुराधा कोइरालाले सन्दीप लामिछानेलाई फसाएको’, ‘अनुराधा कोइराला पक्राउ परेको’ र ‘अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको’ ।
प्रस्तुत सामग्रीमा गरिएको पहिलो दाबीमा अनुराधा कोइरालालाई सन्दीप लामिछानेको मुद्दासँग जोड्न खोजिएको देखिन्छ । त्यसैले हामीले सबैभन्दा पहिले सन्दीप लामिछानेको मुद्दा र अनुराधा कोइरालाको भूमिकाबारे यहाँ प्रष्ट पार्नैपर्छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने अहिले न्यायिक हिरासतमा छन् । नाबालिग बलात्कारको आरोपमा उनलाई २०७९ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । एक किशोरीले सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएपछि २०७९ कात्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
बलात्कारको आरोप लगाउने किशोरीको परिचय अहिलेसम्म गोप्य राखिएको छ । मुद्दा अदालती प्रक्रियामा अगाडि बढिरहँदा ती किशोरीलाई माइती नेपालको संरक्षणमा पठाइयो । तर, केही ‘अभियान्ता’ सन्दीप लामिछानेका समर्थकले माइती नेपालकै विरुद्धमा उर्लिए । उनीहरूले सन्दीप लामिछाने प्रकरणमा माइती नेपालविरुद्ध नै आशंका गर्न थाले र अनुराधा कोइरालाकै योजनामा ‘सन्दीपलाई फसाइएको’समेत दाबी गरे ।
माइती नेपाल स्वदेश तथा विदेशमा बेचिएका नेपाली चेलीबेटीको उद्वार तथा पुनर्स्थापनामा संलग्न रहेर चर्चामा आएको गैरसरकारी संस्था हो । सन्दीप लामिछाने पक्षधरको आक्रमण व्यहोरिरहेको माइती नेपालकी संस्थापक अध्यक्ष हुन्, अनुराधा कोइराला । प्रसिद्ध समाजसेवीका रुपमा देशविदेशमा परिचित अनुराधा कोइराला बागमती प्रदेश प्रमुखसमेत रहिसकेकी (कार्यकाल- २०७४।१०।०५ देखि २०७६।०७।१७) छन् ।
सन्दीप लामिछानेका समर्थकले माइती नेपाल र आफूविरुद्ध आवाज उठाउन थालेपछि अनुराधा कोइरालाले न्युज२४ टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा अन्तर्वार्ता दिइन् । अनुराधाले सरकारको रोहवरमा बालिकालाई संरक्षण दिएको स्वीकार गरिन् । अर्कोतर्फ आफूहरूले बालिकालाई बन्धक नबनाएकोसमेत अनुराधा कोइरालाले प्रष्ट पारिन् ।
अन्तर्वार्ताको एउटा अंश यस्तो छ : ‘माइती नेपाल कुनै पनि अफ्ठ्यारोमा परेका बालिका, बालक र महिलाहरूको संरक्षण गृह हो । यो सबै पुलिसमार्फत् पत्र ल्याएर आउँछ । त्यसैगरी यो नानी पनि पुलिसले संरक्षणमा राखिदिनु भनेर पत्र लेखेर आको हो । जसरी अरु बच्चाहरू, अरु महिलाहरूलाई पठाइन्छ त्यसरी नै पठाको हो र हामीले राखेको हो । नियन्त्रणमा भन्ने शब्द चाहिँ मलाई ठिक लागेन । किनभने नियमन्त्रण भन्दा पनि उसलाई हामीले संरक्षण गरिराको छौँ ।’
‘अनुराधा कोइरालाले सन्दीप लामिछानेलाई फसाएको’ भन्ने दाबी उल्लेखित घटनाक्रमबाट प्रमाणित हुँदैन । घटना घटिसकेपछि माइती नेपाल र अनुराधा कोइराला समक्ष सन्दीप लामिछानेको मुद्दा पुगेको थियो । यही सेरोफेरोमा सन्दीपका समर्थकले माइती नेपाल र अनुराधा कोइरालाविरुद्ध आरोप लगाए । तर उक्त आरोप पुष्टि हुँदैन ।
त्यसपछि हामी ‘अनुराधा कोइराला पक्राउ परेको’ र ‘अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको’ भन्ने दाबीको जाँच गर्नतर्फ लाग्यौँ । सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलाइएको दाबीसहितको सामग्रीको मूल अंश पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि हामीले दाबीसहितको सामग्री पुन: एकपटक नियाल्यौँ । जसमा एउटा युट्युब च्यानलको लोगो देखिन्छ ।
प्रस्तुत लोगो ATOZ Khabar नामक युट्युब च्यानलको रहेको पत्ता लागेपछि हामी दाबीसहितको भिडियोको खोजीमा लाग्यौँ । उक्त च्यानलमा पोस्ट गरिएका भिडियोहरू नियाल्ने क्रममा हामीले मूल भिडियो फेला पार्यौँ । १५ डिसेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘सन्दिपलाई फसाएको भन्दै माइती नेपालकी सञ्चालक अनुराधा पक्राउ ।’
यही भिडियो रिपोर्टको एउटा अंश छाँटकाँट गरेर सामाजिक संजालमा पोस्ट गरिएको र सोही पोस्ट हामीले फेला पारेका रहेछौँ । युट्युबमै पोस्ट गरिएको सामग्री र सामाजिक संजालमा पोस्ट गरिएको सामग्रीमा रहेको दाबीमा अन्तर देखिँदैन । त्यसैले हामी पुन: दाबीमै केन्द्रीत भयौँ ।
त्यसैगरी ‘अनुराधा कोइराला पक्राउ’ परेको भन्ने दाबी पूर्णत: गलत छ । उनलाई यो सामग्री तयार पार्दासम्म नेपालको कुनैपनि प्रहरीले पक्राउ गरेको छैन । ‘यस्ता भ्रामक सामग्री रोक्ने प्रयत्न गरिरहेको’ नेपाल प्रहरी मुख्यालयले न्युजचेकरलाई जानकारी दियो ।
अन्तिममा रह्यो, ‘अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको’ दाबी । अनुराधा कोइराला तत्कालीन प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लाग्दा पनि उनको जम्मस्थानबारे चर्चा भएको थियो । चर्चा जे भएपनि अनुराधा कोइराला प्रदेश प्रमुख नियुक्त भइन् ।
प्रदेश प्रमुखसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख जस्ता महत्वपूर्ण पदहरुबारे नेपालको संविधानमा विशिष्ट व्यवस्था गरिएको देखिन्छ । संविधान अनुसार यी पदहरुमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्ने हुन्छ ।
संविधानको धारा २८९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखमा अंगीकृत नागरिकहरुलाई निर्वाचित, मनोनित वा नियुक्त गर्न नसकिने प्रावधान राखिएको छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेर प्रदेश प्रमुख भइसकेकी अनुराधा कोइराला भारतीय नागरिक होइनन् । अनुराधा भाररतीय नागरिक भएको के प्रमाण फेला पर्यो त्यो त भेटिएको छैन तर उनी भारतीय नागरिक नभएको प्रमाणहरू अनेक भेटिएका छन् ।
भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा रहेकी अनुराधा कोइरालाले सन् २०१७ मा भारतको चर्चित पद्मश्री पुरस्कार प्राप्त गरेकी थिइन् । पुरस्कार घोषणापछि काठमाडौँस्थित भारतीय दूताबासले पदमश्री पुरस्कार पाउने एक मात्र विदेशी नागरिकको रुपमा अनुराधा कोइरालालाई पचिरिच गराएको थियो ।
अर्कोतर्फ अनुराधा कोइरालाको एउटा नागरिकतासमेत सार्वजनिक भएको देखिन्छ । अनलाइन खबरमा प्रकाशित एउटा समाचारमा अनुराधा कोइरालाका छोरा मनिष कोइरालाले आफ्नी आमा बंशज नेपाली नागरिक भएको बताएकाे उल्लेख छ । उनले आफ्नी आमा ओखलढुंगाको रुम्जाटार–३ मा जन्मिएको बताएकाे विवरण समाचारमा राखिएको छ । उक्त समाचारमा प्रस्तुत नागरिकता राखिएको छ :
अनुराधा कोइरालाको एउटा प्रोफाइल नारी म्यागजिनले प्रकाशित गरेको छ । उक्त प्रोफाइलमा उनको जन्म, हुर्काइ र समाजसेवाबारे लेखिएको एउटा अंश यस्तो छ :
वि.सं. २००९ साल वैशाख १ गते जन्मिएकी अनुराधा बुबा प्रतापसिंह गुरुङ तथा आमा जरिना गुरुङसँग आसाममा हुर्किएकी हुन् । उनी २०२१ सालमा नेपाल आएकी हुन् । काठमाडौंको बसाइका क्रममा दिनेशप्रसाद कोइरालासँग विवाह गरेकी अनुराधा यहाँ आउँदा अंग्रेजी शिक्षालाई प्राथमिकता दिने ट्रेन्ड भर्खरै सुरु भएको थियो । अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाले अंग्रेजी शिक्षणबाट करियर प्रारम्भ गरिन् । शिक्षण पेसा पनि एक किसिमको समाजसेवा नै हो भन्ने कोइरालाले शिक्षणमा २० वर्ष बिताइन् । बालबालिकालाई खेलाएर पढाइने मन्टेश्वरी शिक्षण विधि जानेकी कोइरालाले न्यू इंग्लिस स्कुल (अमर आदर्श), मार्टियस, बूढानीलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइनजस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन् भने त्रिशक्ति विद्यालयमा संस्थापक प्रधानाध्यापकका रूपमा काम गरिन् । करिब ५३ वर्षअघि पनि गौशालामा बस्ने कोइराला प्राय: बिहान पशुपतिनाथको दर्शन गर्थिन् । पशुपति जाने क्रममा बाटामा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे । त्यस्तो देख्दा उनको मनमा प्रश्न उब्जन्थ्यो । यसरी दिनभरी सडकमा मागेर राति आकाशको ओत लाग्नेहरू यौनजन्य हिंसाबाट मुक्त होलान् त ? यही प्रश्नको उत्तर खोज्ने क्रममा एक मगन्ते महिलासँगको वार्तालापबाट थाहा भयो उनको शंका ठीक रहेछ । यौनजन्य हिंसाबाट मुक्त गर्न उनले भेटिएकामध्ये नौजनालाई सहयोगस्वरूप कोठा लिन तथा नाङ्लो पसल थाप्न प्रतिव्यक्ति १ हजार रुपैंयाँका दरले उपलब्ध गराएपछि उनको समाजसेवा प्रारम्भ भयो ।
‘अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको’ दाबीबारे अन्तिम पटक सन्दर्भ जाँच गरियो । केही समयअघि संचार माध्यमहरूमा माइती नेपाल र अनुराधा कोइरालासँग सम्बन्धित एउटा समाचार छापियो । उक्त समाचारमा माइती नेपाल हटाउनुपर्ने माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको जानकारी दिइएको छ ।
समाचार अनुसार आफूलाई समाजिक अभियन्ताको भन्ने तारा बराल लगायतले माइती नेपालका सञ्चालकले नागरिकता, जन्मदर्तालगायत कागजात नै किर्ते बनाएर विभिन्न निर्दोष पुरुषहरू फसाउने र गैरकानुनी रूपमा राज्यको काममा पनि हस्तक्षेप गर्ने गरेको आरोपसहित उजुरी दायर गरेका थिए ।
प्रस्तुत तथ्यबाट माइती नेपाल र अनुराधा कोइरालाविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको जानकारी पाइन्छ । तर, अनुराधा कोइरालाले सन्दीप लामिछानेलाई फसाएको, उनी पक्राउ परेको र अनुराधा भारतीय नागरिक भएको प्रमाण फेला परेको दाबी प्रमाणित हुँदैछ । त्यसैले दाबीसहितको सामग्री भ्रामक बनेको छ ।
अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको र उनी प्रहरीको गिरफ्तमा परेको दाबी भ्रामक छन् । एउटा उजुरीको प्रसंगलाई तोडमोड गरेर यी दाबी तयार पारिएको पाइयो । सामाजिक संजालमा फैलाइएको सामग्रीका कुनैपनि दाबी प्रमाणित भएनन् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]