भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा नेपाली कांग्रसका महामन्त्री विश्वप्रकाश शर्मा बोलिरहेको देखिन्छ । उक्त भिडियोमा सूर्य चिन्हलाई सांकेतिक रुपमा प्रयोग गरिएको छ ।
Adhikaribishnu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ब्यंग्य गरेको सुनिन्छ । दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा विश्वप्रकाश शर्माले भनेका छन्-
‘होइन हो प्रचण्ड कमरेड, दाङ दाङपनि हारियो, कास्की कास्कीपनि हारियो, धरान धरानपनि हारियो, बाग्लुङ र भक्तपुर पनि हारियो । लौ न हो कराएको वडा पनि हारियो यदि हामीले सच्चिएनौँ भने त ७९ सालको चुनाव त झिरिप्पै हुने रहेछ, त्यसैले हामी सच्चिनुपर्छ । केपी ओलीजी मार्क्सवाद, लेनिनवाद जिन्दावाद ।’
त्यस्तै प्रस्तुत भिडियोमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा भनिएको छ- ‘७९ सालको मंसिर ४ गतेको चुनावमा पूरै सच्चिएर सूर्यमा भोट हाल्नुहोला गठबन्धनले ।’

एक साताअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त सामग्री सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब ५० रहेको देखिन्छ । निर्वाचनकै मुखमा एउटै प्रस्तुत सामग्री फैलिएका कारण हामीले यसमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपाली कांग्रस र माओवादी केन्द्र एउटै गठबन्धन बनाएर आगामी मंसिर ४ हुने निर्वाचनमा होमिएका छन् । यही क्रममा सामाजिक संजालमा विश्वप्रकाश शर्माको भाषणसहितको सामग्री फैलिएको छ । एउटै गठबन्धनमा रहेको एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई ब्यंग्य गरेपछि मतदाताको मनस्थिति परिवर्तन हुन सक्छ । त्यसैले हामीले शर्माले गरेको उक्त भाषणको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।
प्रस्तुत दाबीसहितको सामग्रीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले विश्वप्रकाश शर्माले गरेको भाषणको मूल भिडियो पत्ता लगाउने काम गर्यौँ । जसका लागि हामीले युट्युबमा ‘विश्वप्रकाश शर्मा’ ‘mero dang’ लगायतका कवर्ड सर्च गर्यौँ । किवर्ड सर्च गर्नुअघि हामीले भिडियोमा देखिएको देखिएको लोगोलाई पनि आधार बनाएका थियौँ ।
किवर्ड सर्चको परिणास्वरुप हामीले एउटा युट्युब भिडियो फेला पर्यो । Ujyalo Khabar युट्युब च्यनलमा फेला परेको उक्त भिडियो २ वर्षअघि अर्थात् २३ नोभेम्बर २०१९ मा पोस्ट गरिएको देखिन्छ ।
यसबाट के प्रष्ट हुन्छ माथि उल्लेखित सामग्रीमा राखिएको भिडियो यस फरक सन्दर्भको हो । फरक सन्दर्भका बेला गरिएको भाषणको अंशलाई वर्तमान चुनावी सन्दर्भमा भ्रामक तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको छ । प्रस्तुत तथ्य फेला पारेपछि हामीले थप सन्दर्भको खोजी थाल्यौँ ।
भेटिएको तथ्यका आधारमा किवर्ड सर्च गर्दा farakkon.com मा प्रकाशित एउटा समाचार फेला पर्यो, उक्त समाचार प्रकाशित भएको मिति र हामीले फेला पारेको भाषण एकै दिन प्रकाशित भएको देखिन्छ । प्रस्तुत समाचारमा एउटा भिडियोसमेत राखिएको छ । उक्त भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियो पनि एक आपसमा मिलेको देखिन्छ ।
सोही तथ्यको आधारमा समाचारमा उल्लेखित विवरण हेर्दा दाबीसहितको भिडियो २०७६ मंसिरमा भएको उपनिर्वाचनको सन्दर्भको हो । नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गतेको उपनिर्वाचनका सन्दर्भमा दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरामा भाषण दिएकफो देखिन्छ । सोही भाषणलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको सन्दर्भमा भ्रामक तरिकाले फैलाउन खोजिएको छ ।

निष्कर्ष
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति ब्यंग्य गरेको भिडियो २ वर्षअघिको हो । पूरानो र फरक सन्दर्भको भिडियोलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा फैलाइनुले भ्रम सिर्जना गरेको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co