Fact Check
Fact Check: के कक्षा १२ को नतिजा सार्वजनिक भएको हो?

दाबी: कक्षा १२ को नतिजा सार्वजनिक भएको र १ लाख ८८ हजार ४१० जना ननग्रेडिङमा परेको जानकारी ।
तथ्य: राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलका अनुसार पुरानो तथ्यांक र जानकारी भ्रामक तवरले सामाजिक संजालमा फैलिएको छ ।
कक्षा १२ को नतिजासँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । भाइरल पोस्टहरुमा कक्षा १२ को नतिजा सार्वजनिक भएको र १ लाख ८८ हजार ४१० जना ननग्रेडिङमा परेको जानकारी दिइएको छ ।
Pradipsharma987 र timro.paran लगायतका टिकटक आइडीमा पोस्ट गरिएको सामग्री एउटा अडियो जोडिएको छ । उक्त अडियोमा भनिएको छ- ‘कक्षा १२ को नतिजा सार्वजनिक, १ लाख ८८ हजार ४१० जना ननग्रेडिङमा परेको राष्ट्रिय परीक्षा बोर्डको भनाई ।’

के राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
कक्षा १२ को नतिजा सार्वजनिक भन्ने दाबीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले केही वाक्यांशहरु तयार पार्यौँ । साथै ‘कक्षा १२ नतिजा’ ‘१ लाख ८८ हजार ४१० ननग्रेडिङ’ लगायतका वाक्यांशहरुलाई जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप ekantipur.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । २०७९ भाद्र १७ गते प्रकाशित समाचारमा राष्ट्रिय परीक्षा बोर्डले २०७८ मा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिइएको छ ।

साथै, ३ लाख ६३ हजार ८ परीक्षार्थीमध्ये १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेकोसमेत सामाचारमा उल्लेख छ । उल्लेखित पुरानो समाचारको नन ग्रेडिङ संख्या र दाबीसहितको अडियोमा दिइएको संख्या हुबहु मिलेको देखिन्छ । त्यसैले हामीले दाबीसहितको अडियोको जाँच सुरु गर्यौँ ।
जाँचका क्रममा विभिन्न संचार माध्यमले २०७९ भाद्र १७ गते पोस्ट गरेका भिडियो रिपोर्टहरु नियाल्यौँ । केही घण्टाको जाँचपछि News24 Nepal टेलिभिजनको पुरानो समाचार रिपोर्ट फेला पर्यो ।
२०२२ सेप्टेम्बर २ मा पोस्ट गरिएको समाचार अनुसार २०७८ सालमा कक्षा १२ को परीक्षा दिएका ३ लाख ६३ हजार ८ परीक्षार्थीमध्ये १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । यही समाचार अडियो नै प्रत्येक वर्ष सामाजिक संजालमा फैलिरहेको देखियो । यही समाचार अडियो यस वर्ष पनि भाइरल भइरहेको पाइयो ।

केही वर्ष यता, कक्षा १२ को नतिजा साउन मसान्तसम्ममा प्रकाशन हुने गरेको छ । यस वर्षको नतिजा यो तथ्यजाँच गर्दासम्म सार्वजनिक भएको छैन । राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलका अनुसार पुरानो तथ्यांक र जानकारी भ्रामक तवरले सामाजिक संजालमा फैलिएको देखिन्छ ।
न्युजचेकरसँग राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी पोख्रेलले भने- ‘कक्षा १२ को यस वर्ष सार्वजनिक हुनुपर्ने नतिजा आइसकेको छैन । बोर्डले नतिजा निकाल्ने तयारी गरिरहेको छ ।’
निष्कर्ष
कक्षा १२ को नतिजा सार्वजनिक भएको भन्ने दाबी भ्रामक रहेको पुष्टि हुन्छ । दाबीसहितको अडियोमा प्रस्तुत गरिएको जानकारी पुरानो विवरण हो । यस वर्षको कक्षा १२ को नतिजा यो तथ्यजाँच गर्दासम्म सार्वजनिक भइसकेको छैन भन्ने कुरा राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ। पुरानो तथ्यांकलाई अहिलेको जस्तो देखाएर फैलाउने खोजिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
सूचना अधिकारी, neb.gov.np
समाचार, ekantipur.com
भिडियो, News24 Nepal