बिहीबार दिउँसो हाम्रो नजर सामाजिक संजालमा फैलिइएको एउटा टिकटक सामग्रीमा पर्यो । जसले नेपालमा भयानक भूकम्प आएको दाबी गरेको थियो । Satyam Yadav नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा जमिन हल्लिरहेको दृश्यसमेत राखिएको देख्न सकिन्छ ।
भिडियोमा सडकमा गुडिरहेका सवारीसाधनहरू अवरुद्धसमेत देखिएको छ । त्यस्तै मानिसहरुबीच भागदौड मच्चिएको छ र ठूला ठूला भवनहरू भूकम्पले हल्लिरहेकोसमेत दाबीसहितको सामग्रीमा देख्न सकिन्छ । प्रस्तुत सामग्रीको थमनेलमा लेखिएको छ- ‘२०७९/३/२८ नेपालमा भूकम्प ।’
त्यसैगरी भारतको दार्जिलिङमा ठूलो भूकम्पको धक्का महसुस भएको दाबी गर्ने सामग्रीहरू पनि सामाजिक संजालमा फैलिएका छन् । केही दिनअघि भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्री अहिले व्यापक रुपमा फैलिएको छ ।

King Arjun171 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा एउटा स्कुलको दृश्य देखाइएको छ । केही विद्यार्थी भागदौड गरिरहेको के र केही विद्यार्थी घाइते भएर रक्ताम्य भएको दृश्य देखिएको उक्त सामग्रीमा यो घटना केही दिन अघिको रहेको जानकारी दिइएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘दार्जिलिङ केन्द्र बनाएर ७.६ स्केलको भूकम्प, मिति २०७९/३/२८ ।’
प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट पनि व्यापक रहेको छ । पोस्ट गरिएको दुई दिनमै दाबीसहितको उक्त सामग्रीमा २ लाख १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताको दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् ।
त्यस्तै दाबीसहितको सामग्रीमा सुनिने अडियोबाट मात्रै ५० भन्दा बढी सामग्री पुनर्उत्पादन भइरहेका छन् । हेर्नुहोस् पुनर्उत्पादित सामग्री :

तथ्यजाँच/प्रमाणीकरण
नेपालको राजधानी काठमाडौँ र भारतको दार्जिलिङमा एकै दिन अर्थात् असार २८ गते ठूलो भूकम्प गएको दाबी गर्ने माथिका दुबै सामग्रीमा समातना छ । भूकम्पको मिति मात्र नभएर दुबै दृश्यमा जोडिएको आवाजसमेत एउटै छ । यही कारण हामीले उक्त दाबीसहितका सामग्रीमा राखिएका दृश्यमै केन्द्रीत भएर यो जाँच गरेका छौँ ।
सबैभन्दा पहिले हामीले प्रस्तुत दाबीसहितको सामग्रीमा राखिएका दृश्यको वास्तविकता पत्ता लगाउने जमर्को गर्यौँ । दोस्रो सामग्रीमा दार्जिलिङ केन्द्र बनाएर ७.६ स्केलको भूकम्प गएको दाबी गरिएको छ । यही सूचनालाई आधार बनाएर हामीले युट्युब लगायतका अन्य सामाजिक संजालमा ‘दार्जिलिङ भूकम्प’, ‘स्कुल भूकम्प’ लगायतका अंग्रेजी-नेपाली किवर्ड सर्च गर्यौँ । दिनभरको प्रयासपछि पनि हामीले मूल भिडियो पत्ता लगाउन सकेनौँ ।
प्रस्तुत जाँचबाट हामी के निष्कर्षमा पुग्यौँ भने दाबीमा भनिएजस्तो दार्जिलिङमै ठूलो भकम्प नगएको र सामग्रीमा देखिएको दृश्य एउटा कुनै विद्यालयमा भूकम्पीय सुरक्षा अभ्यास भइरहेको हो । मूल भिडियो पत्ता नलागेपछि हामीले दार्जिलिङभन्दा बाहिर गएर वाक्यांश सर्च गर्न थाल्याैँ । कयौँ पटकको प्रयासपछि हामीले ‘earthquake safety practice Indian school’ वाक्याशं सर्च गर्दा नतिजाको अन्तिमतिर एउटा भिडियो फेला पर्यो ।

TUBE CRAWLER नामक युट्युब च्यानलमा भेटिएको उक्त भिडियो चार वर्षअघि अर्थान् २५ डिसेम्बर २०१७ मा पोस्ट गरिएको देखिन्छ । भिडियोबारे ब्याख्या गर्दै उक्त युट्युब च्यानलले लेखेको छ – ‘हाम्रो उद्देश्य भनेको तपाईलाई सिकाउनु हो, यो खतरनाक परिस्थितिमा तपाईं र तपाईको नजिकको र प्रियजनको जीवनलाई कसरी बचाउने भन्ने हो । ट्यूब क्रलरले भारत सरकारद्वारा पहिलो पटक मक ड्रिल अभ्यास प्रस्तुत गर्दछ । यसले सरकारको तयारी अर्थात् आपतकालीन अवस्थामा कसरी उद्दार गर्ने भन्ने देखाउँछ ।’
युट्युबले नै ४ वर्षअघिको मितिमा प्रस्तुत भिडियो पोस्ट गरिएको पुष्टि गरेको छ । त्यसैले हामीले थप तथ्य र स्रोतहरू जुटाउनु परेन । यसबाटै के प्रष्ट हुन्छ भने यो भिडियो आपतकालीन अवस्थामा कसरी उद्दार गर्ने भन्ने अभ्यासका सन्दर्भमा तयार पारिएको पुरानो भिडियो हो । त्यसैले यसलाई दार्जिलिङमा ७.६ रेक्टरस्केलको भूकम्प झट्का महसुस भयो भन्नु भ्रामक दाबी हो ।
हेर्नुहोस चार वर्षअघि पोस्ट गरिएको मूल भिडियो :
त्यस्तै पहिलो दाबीमा २०७९/३/२८ गते नेपालमा भूकम्प गएको दाबी गरिएको छ । उक्त दाबीमा सडकमा भागदौड मच्चिएको दृश्य राखिएको छ । दाबीसहितको यो सामग्रीमा जोडिएको भिडियो खोज्न हामीलाई त्यति गाह्रो भएन । युट्युबमा ‘bhukanpa nepal’ सर्च गर्दा भेटिएका नतिजामध्येको एउटा भिडियो नै दाबीसहितको सामग्रीमा प्रयोग गरिएको पाइयो ।
WildFilmsIndia नामक युट्युब च्यानलमा ३० अगस्ट २०१८ मा पोस्ट गरिएको उक्त भिडियोलाई नै काँटछाट गरेर नयाँ दाबीसहित सामाजिक संजालमा फैलाइएको छ । उक्त युट्युब च्यानलका अनुसार भिडियोमा देखिएका दृश्य २५ अप्रिल २०१५ मा महाभूकम्प जाँदा खिचिएका थिए । सोही दृश्यलाई पछिल्लो सन्दर्भ बनाएर सामाजिक संजालमा भ्रामक रुपमा फैलाइएको पाइयो ।
निष्कर्ष :
दार्जिलिङ र नेपालमा ठूलो भूकम्प गएको दाबी गर्ने भिडियो सामग्रीहरू भ्रामक छ । पूराना र फरक सन्दर्भका भिडियो राखेर ठूलो भूकम्प गयो भनेर पोस्ट गरिएका यी सामग्रीले सामाजिक संजालमा भ्रम पैदा गरेका छन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co