दाबी: सरकारले फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा गरेको छ ।
तथ्य: सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ ।
सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध दुई दर्जनभन्दा बढी रिट दायर भएका छन् । न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको छ । यही सन्दर्भमा सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाल पनि बन्द गर्ने घोषणा गरेको दाबी गरिएका सामग्री फेला परेका छन् ।
Nepalimedianetwork नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक समाचार प्रस्तोता देखिएकी छन् । उनले नेपालमा फेसबुक र युट्युब लगायतका सामाजिक संजाल सरकारको नियमन बाहिर रहेको जानकारी दिइरहेकी छन् । समाचारको भिडियोसँगै थमनेलमा लेखिएको छ- ‘सरकारले अब फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा ।’
एक साताअघि पोस्ट गरिएको दाबीसहितको पोस्टलाई २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब तीन सय प्रतिक्रिया आएको उक्त पोस्टलाई एक सय २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । दाबीसहितको उक्त पोस्ट सामाजिक संजालमा फैलदोक्रममा देखिन्छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको सन्दर्भमा फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई पनि सरकारले बन्द गर्ने घोषणा गरेको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२७ कात्तिक (२०८०) मा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै ‘सामाजिक सञ्जाल संचालन निर्देशिका २०८०’ पनि पारित गरेको थियो । उक्त निर्देशिकामा सामाजिक संजालहरू नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । यही सन्दर्भमा सरकारले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी गरिरहेको रिपोर्ट बिबिसी नेपालीले प्रकाशित गरेको छ ।
२९ नोभेम्बर २०२३ प्रकाशित बिबिसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले भनेका छन्-‘प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ । त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ ।’
प्रकाश रायमाझीले यो अभिव्यक्ति फेसबुक र युट्युबतर्फ लक्षित गर्दै होइन, बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूप्रति लक्षित छ । बिबिसीको रिपोर्ट सार्वजनिक भएसँगै अन्य संचार माध्यमले पनि बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि सरकारले निगरानी गरिरहेको समाचार प्रकाशित गरेका छन् ।
यस बाहेक फेसबुक, युट्युब लगायत सामाजिक संजालमा प्रतिबन्द गर्ने घोषणाबारे अन्य कुनै ताजा अपडेट यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म आएको छैन । तर, दाबीसहितको पोस्ट ९ दिनअघि नै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
बाँकी रह्यो, माथि उल्लेखित दाबीसहितको भिडियो । उक्त भिडियोमा एक समाचार प्रस्तोता देखिएकी छन् । उनले नेपालमा फेसबुक र युट्युब लगायतका सामाजिक संजाल सरकारको नियमन बाहिर रहेको जानकारी दिइरहेकी छन् । दाबीसहितको सामग्रीमा जोडिएको उक्त भिडियो एउटा टेलिभिजन समाचारको अंश जस्तो देखिन्छ ।
सोही अनुमानका आधारमा जाँच गर्दा News24 Nepal युट्युब च्यानलमा केही साताअघि पोस्ट गरिएको भिडियो फेला पर्यो । २१ नोभेम्बर २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई सरकारले बन्द गर्ने घोषणा गरेको जानकारी छैन ।
फेला परेका स्रोतहरुबाट के पुष्टि हुन्छ भने सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ । फरक सन्दर्भको समाचार भिडियोलाई सामाजिक संजालमा भ्रामक तरिकाले फैलाइएको पाइयो ।
निष्कर्ष
सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी पूर्णत: भ्रामक छ । प्रक्रियामै रहेको मुद्दालाई निर्णय नै भएको जसरी दाबी गरिएको र टेलिभिजनले तयार पारेको समाचारलाई तोडमोड गरी भ्रामक सामग्री तयार पारिएको तथा सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, bbc.com/nepali
भिडियो, News24 Nepal
समाचार, ekantipur.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]