भिडियोमा सुनको मूल्य एक तोलाको १२ हजार ३ सय रुपैयाँमा झरेको दाबी गरिएको छ । एकै दिन सुनको मूल्य १६ सय घटेर १२ मा हजारमा आइपुगेकोसमेत दाबी गर्ने उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा समाचार बाचिकाले समाचार पढ्दै सुनकाे मूल्य सम्बन्धी जानकारी दिन्छन् ।
उनी भन्छिन्- ‘सुनकाे मूल्यमा एकै दिन १६ सयले गिरावट, सोमबार प्रतितोला ९३ हजार ९ सयमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य १२ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी महासंघको जानकारी ।’
भिडियोको थमलेनमा ‘सुन तोलाको १२ हजार’समेत लेखिएको छ । भिडियोमा प्रयोग भएको अडियोको सक्कल स्रोत खोज्दा टिकटकमा मात्रै ४० वटा भिडियो भेटिए । भिडियोलाई कोही प्रयोगकर्ताले हाँसिमजानको रुपमा लिएका छन्, कसैले सत्य जसरी नै प्रतिक्रिया जनाइरहरेका छन् । तर, अधिकांशले भिडियोमा दिइएको सूचनाको सत्यकाका विषयमा जिज्ञासा राखेका छन् ।

यहीक्रममा सोही जानकारीजन्य अडियो राखेर तयार पारिएको अर्को भिडियो भेटियो र जसमा सूचनाको सत्यताबारे जिज्ञासा राखिएको छ । उक्त भिडियोमा सुनका गरगहनाको तस्बिर देखाएर उक्त अडियो बजाइएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘के हो यो न्युन ? १२ हजार ३ सय भन्छ त ? तोलाकै १२ हजार ३ सय होला त ?’
तथ्य जाँच / प्रमाणीकरण
सामाजिक संजाल प्रयोगकर्ताले राखेको जिज्ञासामाथि हामीले तथ्यजाँच गर्यौँ। खोजबिन गर्दा यो सूचना एउटा टेलिभिजन समाचारको क्लिपबाट फैलिएको देखिन्छ । नेपाली टाइम्स नामक युट्यूब समाचार च्यानलको एउटा बुलेटिनमा यो सूचना बजेको थियो । २३ नोभेम्बरमा युट्यूबमा पोस्ट भएको उक्त बुलेटिन अझै पनि हेर्न सकिन्छ ।
यही बुलेटिनको एउटा क्लिप र अडियो नै अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सबैभन्दा पहिले हेराैँ उक्त क्लिपमाथि कुनै छेडखानी गरेर टिकटकमा राखिएको छ कि छैन ? नेपाली टाइम्सको अफिसियल च्यानलमा पोस्ट भएको भिडियो र टिकटकमा राखिएको भिडियोको क्लिप सुन्दा यसमा कुनै छेडखानी नभएको खुन्छ । यसबाट च्यानलले बजाएको सूचना नै अहिले भाइरल भएको प्रष्ट हुन्छ ।
त्यसपछि प्रश्न उठ्छ, के सुनको भाउ प्रतितोला १२ हजार ३ सय रुपैयाँमा झरेको हो त ? जाँच गर्दा पछिल्ला कयौँ वर्षसम्म पनि सुनको भाउ प्रतितोला १२ हजार रुपैयाँको आसपास पनि देखिन्छ । उक्त बुलेटिनमा दिइएको सुनको मूल्य सम्बन्धी सूचना अर्धसत्य छ ।
च्यानले बजाएको समाचार मंगलबारको हो। उक्त बुलेटिनमा बजाएजस्तै मंगलबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँमा गरावट आएको थियो। भिडियोमा सूचनाको पुष्टि गर्न सुनचाँदी व्यवसायी महासंघलाई आधार बनाइउको छ । तर, नेपालकै अर्को संचार माध्यमले महासंघलाई नै आधार बनाएर मंगलबार सुनको मूल्य प्रतितोला घटेर ९२ हजार ३ सय कायम भएको बताएको छ । मंगलबार प्रकाशित उक्त समाचारमा सुनको मूल्य प्रतितोला १६ सय घटेर ९२ हजार ३ सय पुगेको जानकारी दिइएको छ ।

दुईवटा समाचारमा दुईथरीका सूचना भेटिएपछि हामीले सुनचाँदी व्यवसायी महासंघको विवरणको जाँच गर्यो। महासंघको वेबसाइटबाट प्राप्त विवरण अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले त घटेको थियो १२ हजार ३ सय कायम भएको थिएन ९२ हजार ३ सय कायम भएको थियो । सोमबार २ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघको वेबसाइटमा प्रष्ट देखिन्छ ।
यो जाँचबाट के प्रष्ट हुन्छ भने मंगलबार सुनको मूल्य प्रतितोला १६ सय घटेकै हो र १६ सय गिरावट हुँदा १२ हजार ३ सय कायम भएको होइन । ९२ हजार ३ सय कायम भएको हो ।
निष्कर्ष :
मंगलबार सुनको मूल्य प्रतितोला १२ हजार ३ सय कायम गरिएको भन्ने दाबी भ्रामक छ । सुनको मूल्यमा प्रतितोला १६ सय गिरावट भएको तर १२ हजार होइन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य विवरण
मंगलबार सुनको मूल्यमा आएको गिरावटबाटको समाचार
सामाजिक संजालमा फैलिएको क्लिपको पूरा भिडियो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]