दाबी: प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी (तस्बिर)
तथ्य: पुरानो र फरक सन्दर्भमा खिचिएको तस्बिरलाई जोडेर अपुष्ट दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन शाह देखिएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरसँगै प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी गरेको दाबी गरिएको छ ।
मिसन 84 बालेन PM नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री ओली र मेयर बालेनको तस्बिर जोडिएको छ । उक्त तस्बिरमा प्रधानमन्त्री ओलीले नमस्कार गरेको दृश्य देख्न सकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्रीले गल्ती भयो भनेर बालेनसँग माफी मागेका छन् भने बालेनले माफी अस्वीकार गरेको छन् ।’
३ मार्च २०२५ मा पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीलाई पोस्ट गरिएको तीन दिनमै ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

के प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेका हुन् त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन शाहबीचको सम्बन्ध सुरुवातदेखि नै उतारचढावपूर्ण रहँदै आएको छ ।
यही सन्दर्भमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका थिए । दाबीसहितको सामग्री पोस्ट भएकै दिन अर्थात् ३ मार्च २०२५ मा बालेनले सरकारविरुद्ध अर्को फेसबुक स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसमा उनले अहिलेको सरकारदे भ्रमको खेतीमा पीएचडी गरेको आरोप लगाएका थिए ।
यही सेरोफेरोमा प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । हामीले सबैभन्दा पहिले दाबीसँगै पोस्ट गरिएको तस्बिरको जाँच गर्यौँ ।
जाँचका क्रममा तस्बिरलाई रिभर्स इमेल सर्च गर्यौँ । यसको नतिजास्वरुप nepalpress.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । यही समाचारमा दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरसमेत उल्लेख गरिएको छ । यद्यपी, प्रस्तुत तस्बिर र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी लागेको दाबीसँग कुनै सम्बन्ध छैन ।

१७ जेठ २०७९ मा प्रकाशित समाचार अनुसार काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहेका बेला बालेन केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका थिए । सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य प्रमाण फेला परेन । अर्कोतर्फ केही महिनाअघि मात्रै प्रधानमन्त्री ओलीले बालेनतर्फ संकेत गर्दै काठमाडौँ महानगरमा आतंक मच्चिएको धारणा व्यक्त गरेका थिए ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेको दाबी अपुष्ट छ । पुरानो र फरक सन्दर्भमा खिचिएको तस्बिरको सहायता लिँदै अपुष्ट दाबीलाई सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, bbc.com/nepali
तस्बिर, nepalpress.com
बालेन स्ट्याटस, facebook.com/balenOfficial
समाचार, nagariknews.nagariknetwork.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।