Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी : ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रावादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको ।
तथ्य : आ-आफ्नो धार्मिक विश्वास अनुसार धर्मलम्बीहरूले विरोध र प्रतिरोध गरेको र विवाद सामधान भइसकेको ।
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रवादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको दाबी गरिएको छ ।
Sameer_ever नामक टिकटक आइडीमा पोस्ट गरिएको प्रस्तुत सामग्रीमा केही मानिसहरूबीच विवाद भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा भारतीय नागरिकलाई ‘गुण्डा र आतंकवादी’का रुपमा प्रस्तुत गरिएको छ । सामग्रीको थमनेलमार्फत् दाबी पेश गरिएको छ ।
थमनेलमा लेखिएको छ- ‘विश्वको एउटै बुद्ध जन्मस्थलमा इन्डियाका गुन्डाले गरे अतिक्रमण, लुम्बिनी काण्डले लियो उग्ररुप । इन्डियाका उग्रावादीहरू आएर लुम्बिनीमा तोडफोड, झण्डा जलाउने अनि कुट्ने अप्रिय कार्य गर्दैछन्, इन्डियाको दादागिरी कहिलेसम्म । योगी मोदीका आतंककारीहरूले बुद्धिस्टहरूलाई हस्तक्षेप गर्यो, सरकार मौन ।’
सोमबार (६ मार्च) पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २४ घण्टाभित्र १४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै सोही अवधिमा करिब डेढ सय प्रतिक्रिया र ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको दाबीसहितको सामग्री अहिले हटाइएको छ ।
छिमेकी मुलुकका नागरिकमाथि ‘भारतीय गुण्डा’, ‘योगी-मोदीका आतंककारीहरू’, ‘उग्रवादीहरू’ जस्ता शब्द प्रयोग गरिएको दाबीसहितको सामग्री अत्यन्तै गम्भीर देखिन्छ । यही कारण हामीले प्रस्तुत सामग्रीमा गरिएका दाबी र घटनाको वास्तविकताबारे जाँच गरेका छौँ ।
‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रवादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको दाबीसहितको सामग्रीको जाँच गर्दै गर्दा हामीले सबैभन्दा पहिले घटना विवरणको खोजी गर्यौँ ।
‘लुम्बिनीमा झडप’, ‘भारतीय नागरिक’ लगायतका वाक्यांश तयार पारेर हामीले युट्युबमा किवर्ड सर्च गर्यौँ, जसको नतिजास्वरुप सम्बन्धित एउटा युट्युब भिडयो फेला पर्यो । Timeline Multimedia नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा लुम्बिनीमा रामकथा प्रवचनकाे विषयमा भएको विवादका विषयमा तयार पारिएको छ ।
एक महिनाअघि अर्थात् ६ फेब्रुअरी २०२३ मा पोस्ट गरिएको युट्युब भिडियोको शीर्षक राखिएको छ- ‘Lumbini Hot News लुम्बिनीमा झडप l रामकथा मुख्य कारण l के लुम्बिनीमा रामकथा गर्नु ठिक कि बेठिक’ । प्रस्तुत भिडियोकै एउटा दृश्यांशलाई दाबीसहितको सामग्रीमा प्रयोग गरिएको देखिन्छ ।
फेला परेको प्रस्तुत भिडियोबाट लुम्बिनीमा रामकथा प्रवचनकाे विषयमा विवाद भएको जानकारी प्राप्त भयो । यही आधारमा हामीले गुगलमा ‘लुम्बिनीमा रामकथा प्रवचनको विवाद’ लगायतका वाक्यांश सर्च गर्यौँ । जसको नतिजास्वरुप घटनाका बारेमा अझ विस्तृत जानकारी प्राप्त गर्यौँ ।
नेपालको सरकारी संचार माध्यम रेडियो नेपालले प्रकाशित गरेको समाचार अनुसार २०७९ माघ २४ गते नै लुम्बिनीको रामकथा प्रवचन सम्बन्धी विवाद समाधान भएको थियो । तर, रामकथा प्रवचन विवाद समाधान भएको एक महिनापछि अर्थात् फागुन २२ गते दाबीसहितको पोस्ट गरिएको हो । यसबाट के प्रष्ट हुन्छ भने एक महिनाअघि समाधान भइसकेको धार्मीक मुद्दालाई अनावश्यक रुपमा ढिलागरी सामाजिक संजालमा फैलाउन खोजिएको छ ।
२०७९ माघ २१ गतेदेखि लुम्बिनीमा भारतीय हिन्दु आध्यात्मिक गुरु मोरारी बापुबाट रामकथा प्रवचनको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमकै माहोलमा बौद्ध धर्मावलम्बीहरुले रामकथा प्रवचन रोक्न माग गरे । यही सन्दर्भबाट उक्त कार्यक्रम विवादमा तानिएको थियो ।
रामकथा प्रवचनको कार्यक्रम विवादमा तनिएपछि नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवाल बिच सहमति भएको हो ।
त्यसैगरी लुम्बिनीमा सञ्चालनमा भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघसंस्था र सरोकारवालासँग परामर्श र सहमति गर्ने सहमति विवाद समाधान भएको हो ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रवादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको भन्ने दाबी भ्रामक छन् । आ-आफ्नो धार्मिक विश्वास अनुसार विरोध र प्रतिरोध गरिएको घटनालाई दाबीसहितको सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।
एक महिनाअघि समाधान भइसकेको धार्मीक मुद्दालाई अनावश्यक रुपमा ढिलोगरी सामाजिक संजालमा फैलाउन खोजिएको छ । आ-आफ्नो धार्मिक विश्वास अनुसार विरोध र प्रतिरोध गरिएको घटनालाई दाबीसहितको सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]