दाबी: भारतस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी ।
तथ्य: अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति भारतस्थित कर्नाटकबाट झिकाइएको कृष्णशिलाबाट बनाइएको हो ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन (२२ जनवरी २०२४) गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले रामको विशेष मूर्तिमा प्राण प्रतिष्ठा तथा जीवन अभिषेक अनुष्ठान गरेका थिए । यही सन्दर्भमा नेपालमा पनि अयोध्याको राम मन्दिर चर्चा परिचर्चाको विषय बनेको छ ।

सामाजिक संजालमा राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामललाको मूर्ति नेपालको शालिग्रामबाट बताइएको दाबी गरिएको छ । Ramesh.hmg नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अयोध्यास्थित राम मन्दिर र रामको विशेष मूर्तिको दृश्य देख्न सकिन्छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘अयोध्यामा बनेको श्रीराम मन्दिरको गर्भगृहमा प्रतिस्थापनार्थ नेपालको सालिग्रामबाट निर्मित प्रभु श्रीरामको मूर्ति ।’
त्यसैगरी RameshThapa नामक टिकटक आइडीमा पनि सोही व्यहोराको दाबीसहितको सामग्री पोस्ट गरिएको छ । राम मन्दिरको गर्भगृहमा स्थापित मूर्तिसहितको भिडियोको थमनेलमा लेखिएको छ- नेपाली शालिग्रामबाट प्रतिस्थापित भयो रामको मूर्ति, अयोध्यामा राम मन्दिरको भव्य उद्घाटन ।’

हालसालै पोस्ट गरिएका प्रस्तुत भिडियोहरुमा अयोध्यास्थित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामललाको मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी गरिएको छ । के उल्लेखित दाबीमा कुनै सत्यता छ ? वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
अयोध्यामा राम मन्दिर उद्घाटन भएको सन्दर्भमा माथि उल्लेखित दाबीसहितका सामग्री सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । साथै राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामललाको मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी गरिएको छ ।
प्रस्तुत जाँचको प्रारम्भमा सबैभन्दा पहिले हामीले ‘राम मन्दिर’ ‘नेपाल शालिग्राम’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप BBC नेपाली सेवामा प्रकाशित समाचार फेला पर्यो । २८ डिसेम्बर २०२३ मा प्रकाशित उक्त समाचारमा राम मन्दिरका लागि मूर्ति बनाउन भनेर नेपालको कालीगण्डकी नदीबाट लगिएका शिलाबारे जानकारी दिइएको छ ।
बिबिसीको समाचार अनुसार नेपालबाट लगिएका शिलालाई शालिग्रामस्वरूप मानिएकाले मूर्ति कुँद्ने प्रयास गरिएको थियो । तर, शिलाको प्राविधिक जाँच गर्ने क्रममा मूर्तिकारले ‘त्यस्तो शिलामा बनाउन सम्भव नहुने’ बताएपछि अन्य शिलाहरूमा मूर्ति कुँदिएका हो ।
मूर्ति बनाउनका लागि नेपालबाट भारत पुर्याइएका शिलाबारे बिबिसी नेपालीले तयार पारेको भिडियो सामग्री हेर्नुहोस्:
फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने नेपालको कालीगण्डकी नदीबाट भारत पुर्याइएका शिलाबाट रामको मूर्ति बनाइएको छैन । यही जानकारीका आधारमा हामीले जाँचको थप कामलाई अगाडि बढायौँ । यही क्रममा हामीले ‘Ram Mandir Murti’ ‘Black Stone’ ‘Ayodhya’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप IndiaToday मा प्रकाशित एउटा समाचार फेला पर्यो । २३ जनवरी २०२४ मा प्रकाशित उक्त समाचार अनुसार बलियो रासायनिक संरचना, एसिड, गर्मी र कठोर मौसम प्रतिरोधी कृष्णशिलामा रामललाको मूर्ति कुँदिएको जानकारी दिइएको छ ।
कृष्णशिला भौगोलिक रूपमा, सर्वोच्च-गुणस्तरको विश्वभरका विशिष्ट स्थानहरूमा मात्र पाइन्छ । इन्डिया टूडेका अनुसार भारतको उत्तर कन्नड जिल्लाबाट ल्याइएको कृष्णशिलाबाट राम मन्दिरको गर्भगृहमा स्थापित मूर्ति बनाइएको हो ।
त्यसैगरी जाँचका क्रममा IndianExpress मा प्रकाशित अर्को समाचार फेला पर्यो । २३ जनवरी २०२४ मा प्रकाशित उक्त समाचार अनुसार कर्नाटकका एक दलित किसानको जमिनबाट ल्याइएको कृष्णशिलाबाट राम मन्दिरको गर्भगृहमा राखिएको मूर्ति बनाइएको हो ।

फेला परेका तथ्य प्रमाणहरुबाट के पुष्टि हुन्छ भने माथि उल्लेखित दाबीसहितका सामग्री गलत छन् । राम मन्दिरको मूर्ति बनाउनका लागि नेपालबाट दुईवटा शिलाहरु अयोध्या पुर्याइए पनि ती शिलामा मूर्ति कुँदिएको छैन ।
निष्कर्ष
भारतस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी गलत छ । राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित मूर्ति भारतस्थित कर्नाटकबाट झिकाइएको कृष्णशिलाबाट तयार पारिएको जानकारी फेला परेका छन् ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
समाचार, BBC Nepali
समाचार, IndiaToday
समाचार, IndianExpress
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]