Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: राष्ट्रपति रामचन्द्र पौडेलले ‘राजा चाहिन्छ’ भन्ने अभिव्यक्ति दिएको दाबी ।
तथ्य: राष्ट्रपति पौडेलले सार्वजनिक रुपमा राजा चाहिन्छ भन्ने अभिव्यक्ति दिएका छैनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्बन्धित एउटा दृश्य सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा राष्ट्रपति पौडेलले राजा चाहिन्छ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
BAZIGAR नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पौडेललाई देख्न सकिन्छ । साथै उक्त भिडियोको एकजना व्यक्तिको रियाक्सन पनि जोडिएको छ । भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘राष्ट्रपतिको कुर्सीमा बसेर, राष्ट्रपतिले नै राष्ट्रपति होइन राजा चाहिन्छ भन्दै हुनुहुन्छ साथीहरु ।’
१८ मे २०२५ मा पोस्ट गरिएको सामग्रीमा ६ हजार ४ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै एक लाख भन्दा बढी हेरिएको भिडियो ६ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
के राष्ट्रपति रामचन्द्र पौडेलले राजा चाहिन्छ भन्ने अभिव्यक्ति दिएका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सबैभन्दा पहिले हामीले राष्ट्रपति रामचन्द्र पौडेल देखिने भिडियोको सन्दर्भ जाँच गर्यौँ। जाँचको क्रममा उहाँसँग सम्बन्धित विभिन्न वाक्यांशहरूको विश्लेषण गर्यौँ। सोही क्रममा न्युजचेकरमा प्रकाशित पुरानो तथ्य-जाँच रिपोर्ट फेला पर्यो।
६ जुन २०२३ मा प्रकाशित उक्त रिपोर्टमा ‘राष्ट्रपतिले आफ्नो पद अस्वीकार गरेका छन्’ भन्ने दाबीको तथ्य-जाँच गरिएको थियो। सो रिपोर्टले फरक सन्दर्भ र पूरानो अन्तर्वार्ताको भिडियोलाई काटछाँट गरी त्यसको एउटा अंश सामाजिक सञ्जालमा भ्रामक रूपमा फैलाइएको निष्कर्ष निकालेको थियो।
यही आधारमा हामीले हाल फैलिएको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने प्रयास थाल्यौँ। राष्ट्रपति पौडेल देखिने दृश्यको मूल सन्दर्भ जाँच गर्ने क्रममा हामीले पुनः एकपटक दाबी गरिएको सामग्रीलाई नियाल्यौँ। उक्त भिडियोमा “कैलाश खबर” लेखिएको लोगो देख्न सकिन्छ। लोगोमा लेखिएका शब्दहरू युट्युबमा खोज्दा कैलाश खबर नामक युट्युब च्यानल फेला पर्यो। सो च्यानलको लोगो र विवादित भिडियोमा देखिएको लोगो प्रायः उस्तै देखिएका छन्।
फेला परेका यस्ता तथ्यका आधारमा हामीले Kailash Khabar युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरू एक-एक गर्दै जाँच गर्यौँ। केही समयपछि रामचन्द्र पौडेलसँग सम्बन्धित एउटा भिडियो फेला पर्यो, जसमा उहाँ सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिइरहेका छन्।
२२ मे २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक थियो — ‘वंशवादले काँग्रेस सिद्धिन लाग्योः रामचन्द्र पौडेल’ । यो अन्तर्वार्ता प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को सन्दर्भमा लिइएको थियो, जहाँ तत्कालीन नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलसँग कांग्रेस–माओवादी गठबन्धनबारे प्रश्न गरिएको देखिन्छ।
फेला परेको भिडियो हालको सन्दर्भसँग मेल खान्न। अन्तर्वार्ता लिइएको समयमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचितसमेत भएका थिएनन्। उक्त अन्तर्वार्तामा उहाँले आफूमाथि लागेको आरोपको खण्डन गर्दै “मलाई राष्ट्रपति पद चाहिएन” भन्ने अभिव्यक्ति दिएका थिए।
त्यस्तै, उक्त अन्तर्वार्तामा राजा वा राजसंस्थासम्बन्धी कुनै प्रश्न गरिएको छैन। फरक सन्दर्भको अभिव्यक्तिलाई पौडेल राष्ट्रपति भइसकेको लामो समयपछि सामाजिक सञ्जालमा भ्रामक दाबीका साथ फैलाइएको देखियो ।
सामाजिक सञ्जालमा फैलाइएको राष्ट्रपति रामचन्द्र पौडेलको भिडियो हालको सन्दर्भसँग सम्बन्धित छैन । उक्त भिडियो २२ मे २०२२ मा लिइएको पुरानो अन्तर्वार्ताको अंश हो, जुन उहाँ राष्ट्रपति नहुनुअघि लिइएको थियो । भिडियोमा व्यक्त गरिएको ‘मलाई राष्ट्रपति पद चाहिएन’ भन्ने अभिव्यक्ति त्यस समयको राजनीतिक परिस्थितिसँग सम्बन्धित थियो । साथै, उक्त अन्तर्वार्तामा राजा राजसंस्थासम्बन्धी कुनै प्रश्न उठाइएको थिएन । राष्ट्रपति पौडेलले सार्वजनिक रुपमा राजा चाहिन्छ भन्ने अभिव्यक्ति दिएका छैनन् ।
भिडियो, Kailash Khabar
तथ्यजाँच रिपोर्ट, nepal.newschecker.co
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
March 11, 2025