Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
वर्षाका कारण नेपालमा हरेक वर्ष निम्तिने मौसमी विपद्को श्रृंखला यस वर्ष पनि जारी छ । नेपालका विभिन्न स्थानहरूमा यस वर्ष पनि बाढी, पहिरो, डुवान लगायतकाका मौसमी विपद् निम्तिएका छन् । यही सन्दर्भमा बाढी, पहिरो, डुवान लगायतका विपत्तिका दृश्यहरू सामाजिक संजाल प्रयोगकर्ताहरूले पोस्ट गरिरहेका छन् ।
Kuberneupane25 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा ठूलो बाढी आएको देखिन्छ र हेर्दा हेर्दै उक्त बाढीले एउटा घरलाई नै तहसनहस बनाउँछ । उक्त सामग्रीमा जोडिएको अडियोमा भने बाढीले एउटा बच्चा बगाएको जानकारी दिइएको छ ।
अडियोमा यस्तो सुनिन्छ– ‘भेटियो बगाएको बच्चा, यत्रो बच्चालाई बगाएछ.. बच्चालाई बगायो.. बच्चालाई बगायो…सुर्खेतमा बच्चालाई बगाएर बच्चा मरिसक्यो (रुँदै)’
दुई साताअघि पोस्ट गरिएको उक्त भिडियोको फैलावट व्यापक रहेको छ । दाबीसहितको यो सामग्रीमा साढे १९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १७० भन्दा बढी प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् ।
त्यस्तै अर्को दाबीसहितको अर्को सामग्रीसमेत हामीले फेला परेका छौँ । घायल यात्री नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा एउटा ठूलो बाढी बस्तीमा पसेको देखिन्छ । उक्त बाढीले घर र रुखहरूसमेत बगाएको देखिन्छ ।
दाबीसहितको सामग्रीमा एउटा अडियोसमेत जोडिएको छ । उक्त अडियोमा भनिएको छ,’आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण मुगुको गमगाडमा यसरी बाढी पसी १५ घर बगाएको छ, हेर्नुहोस् साथीहरू मुगुको दर्दनाक अवस्था ।’
पाँच दिनअघि पोस्ट गरिएको उक्त दाबीसहितकी सामग्रीमा ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ५० जना प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसका छन् ।
तथ्यजाँच/प्रमाणीकरण
ठूलो बाढीले घरै बगाएको दृश्य देखिने र सुर्खेतमा बच्चा बगाएको भन्ने आजाव सुनिने पहिलो सामग्रीबाटै हामीले जाँच सुरु गर्यौँ । बाढीमा बग्नै लागेको घरको एउटा स्क्रीनसट लिएर गुगल रिवर्स इमेज सर्च गर्यौँ । जसको परिणामस्वरुप केही नतिजाहरू फेला परे । चर्चित संचार माध्यम globalnews र ibtimes लगायतले दाबीसहितका सामग्रीसँग मिल्दाजुल्दा केही तस्बिर समाचारमा प्रयोग गरेको देखियो ।
उक्त तस्बिरमा globalnews ले राखेको क्याप्सन यस्तो छ – ‘यो आइतवार, १६ जुन २०१३ फोटोमा, उत्तरी भारतीय राज्य उत्तराखण्डको उत्तरकाशीमा बाढीको पानीले तीन तले भवन ध्वस्त भएको छ । सरकारी अधिकारीहरूले उत्तरी भारतमा तीन दिनको भीषण वर्षापछि भवन र सडकहरू बगाउँदा कम्तीमा २३ जनाको मृत्यु भएको र करिब ५० जना बेपत्ता भएको बताएका छन् ।’
उक्त तस्बिरमा ibtimes ले राखेको क्याप्सन यस्तो छ- ‘उत्तरी भारतको तीर्थ सहर उत्तरकाशीमा गंगा नदीको बढ्दो बहावमा एउटा भवन भत्किन थाल्छ १६ जुन २०१३ ।’
यही तथ्यका आधारमा हामीले युट्युबमा ‘building is destroyed uttarakhnd 2013’ वाक्यांश सर्च गर्यौँ । फलस्वरुप Uttarakhand Flood नामक युट्युब च्यानलमा दाबीसहित सामाजिक संजालमा फैलाइएको सामग्रीको मूल स्रोत फेला पार्यौँ ।
प्रस्तुत यी तथ्यबाट के प्रस्ट हुन्छ भने दाबीसहितको सामग्रीमा भनिएजस्तो यो दृश्य सुर्खेतमा बच्चा बगाएको भिडियो होइन । यो नाै वर्षअघि भारतको उत्तराखण्डमा बाढीले निम्त्याएको विपद् हो ।
त्यस्तै दोस्रो भिडियोमा आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण मुगुको गमगाडमा क्षति भएको भन्दै एउटा बाढीको दृश्य राखिएको छ । तर, उक्त दृश्य अहिलेको भने होइन । यसअघि हामीले यही भिडियोमाथि ‘मनसुन भित्रिएसँगै सामाजिक संजालमा भ्रामक दाबी, बाढी-पहिरोका पुराना दृश्य फैलिँदै’ शीर्षकको रिपोर्ट तयार पारेका थियौँ ।
न्युजचेकरको उक्त जाँचबाट के प्रष्ट भएको थियो भने उक्त भिडियो तीन वर्ष पुरानो हो । सेप्टेम्बर १४, २०१९ मा उक्त भिडियो Parash Mani Malla नामक फेसबुक आइडीमा पोस्ट भएको थियो । उक्त आइडीमा पोस्ट गरिएको प्रस्तुत भिडियो तीन वर्षअघि निकै चर्चित भएको देखिन्छ । भिडियोसँगै उक्त आइडीमा घटनाको विवरणसमेत दिइएको छ । उक्त पोस्टमा लेखिएको छ – ‘७० वर्षपछि मुगुकाे गमगाडमा आएकाे कहालीलाग्दाे बाढी खेतीयाेग्य जमिनसहित दुईवटा घरमा पूर्ण क्षति भएतापनि मानवीय क्षति चाहिँ भएन…।’
निष्कर्ष :
साबीसहित सामाजिक संजालमा फैलिएका प्रस्तुत सामग्रीहरू भ्रामक छ । वर्षौँ पूराना र फरक सन्दर्भका सामग्रीहरूलाई वर्तमान सन्दर्भ जोडेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.