दाबी: ‘म हु गौशला २६ भन्दै काभ्रे कि यी बहिनी आन्दाेलन सकेर घर जाँदा आमा-बाले कुटेर अहिले हस्पिटल भर्नामा परिछिन्, अहिले भन्छिन्,‘छिमेकि दिदीले गर्दा आन्दाेलनमा गएकी हुँ (तस्बिरसहित) ।’
तथ्य: ‘गौशाला २६’ को पक्षमा प्रतीकात्मक भाव प्रदर्शन गरेकी अन्शु खनालको तस्बिर जोड्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । सडक प्रदर्शनमा सहभागि भएकै कारण उनीमाथि घरका सदस्यले कुटपीट गरेका छैनन् ।
एउटा दृश्यसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा ‘म हुँ गौशाला २६’ नारासहित प्रदर्शनमा सहभागि भएकी युवती ‘आमा-बुवाले कुटेर हस्पिटल भर्ना’ भएको दाबी गरिएको छ ।
Aayush Xtree नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामाग्रीमा ‘बलात्कारको वैधानिकताविरुद्ध खबरदारी कार्यक्रम’को एउटा दृश्य जोडिएको छ ।
साथै तस्बिरमा देखिएकी युवती हस्पिटल भर्ना भएको समाचार साँचो भएको दाबीसहित भिडियोको थमनेलमा लेखिएको छ- ‘Big Breaking:-म हु गौशला २६ भन्दै काभ्रे कि यी बहिनी आन्दाेलन सकेर घर जाँदा आमा-बाले कुटेर अहिले हस्पिटल भर्नामा परिछिन, अहिले भन्छिन्,‘छिमेकि दिदिले गर्दा आन्दाेलनमा गएकी हुँ ।’ कुरो यस्तो पो आयो त ।’

यतिमात्र होइन, प्रस्तुत दाबीसहितका थुप्रै पोस्टहरू प्रतिबन्धित टिकटकमा फेला परेका छन् । तिब्र गतिमा फैलिरहेका दाबीसहितका पोस्टहरूमा हजारौँ टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सयौले सेयर गरिसकेको देखिन्छ ।

‘गौशाला २६’को पक्षमा खबरदारी कार्यक्रममा सहभागि युवती आमा-बुवाकै कुटाइबाट अस्पताल भर्ना भएको दाबी अत्यन्तै संवेदनशील देखिन्छ । के प्रस्तुत दाबीमा कुनै सत्यता छ त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच/प्रमाणिकरण
सामाजिक संजालमा फैलिरहेका सामग्रीमा ‘म हुँ गौशाला २६’ वाक्यांशको प्रयोग गरिएको छ । दाबीसहितको सामग्रीमा ‘गौशाला २६’ भन्ने वित्तिकै क्रिकेटर सन्दीप लामिछानेकाे जबरजस्ती करणी मुद्दा बुझिन्छ । यो मुद्दामा सन्दीपविरुद्ध उजुरी गर्ने पीडितको नाम ‘गौशाला २६’का रुपमा परिचित छ ।
सोही मुद्दामा २०८० पुसमा काडमाडौँ जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । तर, २०८१ जेठ २ गते पाटन उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै सन्दीप लामिछानेलाई सफाइ दियो । यही सन्दर्भमा केही राजनीतिक संगठन र महिला अधिकारकर्मीहरूले गौशाला–२६ को पक्षमा प्रदर्शन गरेका थिए ।
पाटन उच्च अदालतले फैसला गरेको भोलिपल्ट अर्थात् जेठ ३ (२०८१) गते ‘वैज्ञानिक समाजवादी महिला संगठनको नेपाल’को आयोजनामा सडक प्रदर्शन भयो । जहाँ गौशाला–२६ का पक्षमा विभिन्न नारासहितका प्लेकार्ड एवं ‘म पनि गौशाला–२६’ भन्ने सन्देशसहितको भाव झल्किने विशेष अभिनय प्रदर्शन गरियो । ‘गौशाला-२६’ को भाव झल्किनेगरी अभिनय गर्ने युवती गोरखा घर भइ हाल भक्तपुर बस्दै आएकी अन्शु खनाल हुन् ।’

पत्रकार समेत रहेकी अन्शु खनाल सामाजिक अभियान्ताका रुपमा पनि परिचित छन् । उनी महिला हिंसाविरुद्धमा हुने सडक प्रदर्शनमा सहभागि हुँदै आएकी छन् । सडक कार्यक्रमहरुमा उनी सृजनात्मक एवं प्रतीकात्मक प्रदर्शन गर्ने गर्छिन् । २०७७ सालमा आयोजित बसन्तुपरदेखि भद्रकालीसम्मको महिला मार्चमा अन्शुले प्रतीकात्मक लासको प्रदर्शन गरेकी थिइन् ।
यही क्रममा पाटन उच्च अदालतको फैसलापछि अन्शुले ‘गौशाला-२६’को पक्षमा प्रतीकात्मक प्रदर्शन गरेकी हुन् । उक्त प्रदर्शनपछि अन्शुको तस्बिर जोडेर सामाजिक संजालमा दाबीसहितका पोस्टहरू फैलाइएको पाइयो । वास्तविकताको जाँच गर्न हामीले अन्शु खनाललाई फोनमार्फत् सम्पर्क गर्यौँ ।

दाबीसहितका सामग्रीको खण्डन गर्दै अन्शुले आफू भक्तपुरस्थित निवासमै रहेको प्रष्ट पारिन् ।
साथै उनले आमा आफूसँगै रहेको र घरका सदस्यले कुटपीटजन्य कुनैपनि क्रियाकलाप नगरेको बताइन् ।
उनका अनुसार सडक प्रदर्शनमा सहभागि भएपछि घरका अभिभावकले कुटपीट गरेको भन्ने दाबी भ्रामक छ ।
निष्कर्ष
‘वैज्ञानिक समाजवादी महिला संगठनको नेपाल’द्वारा आयोजित कार्यक्रममा ‘गौशाला २६’ को पक्षमा प्रतीकात्मक भाव प्रदर्शन गरेकी अन्शु खनालको तस्बिर जोडेर भ्रामक दाबी गरिएको पाइयो । ‘गौशाला २६’ पक्षको प्रदर्शनमा सहभागि युवतीलाई ‘आमा-बुवाले कुटेर हस्पिटल भर्ना’ गरिएको भन्ने दाबी भ्रामक छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
फोन सम्पर्क, अन्शु खनाल
समाचार, ratopati.com
समाचार, bbc.com
भिडियो, Setopati
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co