दाबी: माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सरकारलाई सिफारिस गरिएको दाबी ।
तथ्य: कोभिड-१९ महामारीसँग सम्बन्धित पुरानो समाचार अडियोलाई ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै पोस्ट गरिएको देखियो ।
ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै एउटा अडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त अडियोमा ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सिफारिस गरिएको दाबी गरिएको छ ।
Melenophile नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा समाचार अडियो जोडिएको छ । साथै उक्त अडियोमा भनिएको छ- ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सीसीएमसीको सिफारिस’ ।
त्यसैगरी भिडियोको थमनेलमा पनि उस्तै दाबी दोहोर्याइएको छ । थमनेलमा लेखिएको छ- ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आदेश । फेरि आयो नयाँ HMPV Virus. Everyone Be Safe’
११ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा ३१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीसहितको भिडियो भिडियो ८ हजारभन्दा बढी पटक सेयर भइरहेको छ ।

दाबीसहितको उही अडियो Dinesh Vlogger नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको देखिन्छ । अडियोसँगै रूटीन अफ नेपाल बन्द फेसबुक पेजको स्क्रिनसट जोडिएको छ । उक्त सक्रिनसटमा सरकारलाई एचएमपीभीले विद्यालयका भौतिक कक्षाहरू बन्द गर्न सुझाव दिएको जानकारी उल्लेख छ ।
११ जनवरी २०२५ मा पोस्ट गरिएको सामग्रीमा २८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीसहितको सामग्री ८ हजारभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ ।
प्रस्तुत दाबीसहितको अडियोबाट साढे तीन सयभन्दा बढी भिडियोहरु पुनर्उत्पादन गरिएको देखिन्छ । यस तथ्यांकले के प्रष्ट पार्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
के ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सिफारिस गरिएको गरिएको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
भाइरल भिडियोहरुमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी hMPV)बारे उल्लेख गरिएको छ । पछिल्लो समय एचएमपीभी संक्रमित बिरामी बढ्न थालेपछि यो समस्या विश्वव्यापी चिन्ताको विषय बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ who) का अनुसार संक्रमक एचएमपीभी भाइरसका लक्षणहरू सामान्य रुघाखोकी र फ्लूसँग मिल्दाजुल्दा हुन्छन् ।
एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि बढिरहेको सन्दर्भमा एउटा अडियो क्लिपसहितको सामग्री सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त सामग्रीमा ‘विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सिफारिस’ भएको दाबी गरिएको छ ।
भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘माघ १५ गतेसम्म विद्यालय बन्द’ ‘२५ जनाभन्दा धेरै भेला नदिने’ ‘सीसीएमसीको सिफारिस’ लगायतका वाक्यांश तयार पायौँ र किवर्डहरुलाई जाँच गर्यौँ ।

जाँचको नतिजास्वरुप स्वास्थ्य खबरपत्रिका (swasthyakhabar.com) मा प्रकाशित पुरानो समाचार फेला पर्यो । २५ पुस २०७८ मा प्रकाशित उक्त समाचारमा तत्कालीन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालयहरूमा हिउँदे बिदा दिन सिफारिस गरेको थियो । त्यो समय देशभर कोभिड-१९ (कोरोना) संक्रमण द्रुत गतिमा बढिहरेको थियो ।
तीन वर्ष पुरानो समाचार र वर्तमान समय सामाजिक संजालमा फैलाइएको अडियोको जानकारीबीच समानता देखियो । तर, उक्त अडियो पनि तीन वर्ष पुरानै रहेको प्रमाण थप जाँचका क्रममा फेला पर्यो ।
जाँचका क्रममा न्यूज २४ टेलिभिजन (News24 Nepal) फेसबुक पेजमा पोस्ट गरिएको पुरानो समाचार बुलेटिन फेला भेटियो । तीन वर्षअघि अर्थात् १० जनवरी २०२२ मा पोस्ट गरिएको उक्त समाचारमा नेपालमा २४ घण्टाभित्र १ हजार १ सय ६७ जनामा कोभिड-१९ (कोरोना) संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

प्रस्तुत बुलेटिनमा ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सीसीएमसीको सरकारलाई सिफारिस गरेकोसमेत जानकारी दिइएको छ । यही पुरानो समाचारको अडियोलाई वर्तमान समयमा एचएमपीभी समस्यासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
अर्कोतर्फ रूटीन अफ नेपाल बन्द (Routine of Nepal banda) को पुरानो पोस्टलाई पनि दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । ९ जनवरी २०२२ मा Routine of Nepal banda फेसबुक पेजमा एचएमपीभीले सरकारलाई विद्यालयका भौतिक कक्षाहरू बन्द गर्न सुझाव दिएको जानकारी पोस्ट गरिएको थियो । यही पुरानो पोस्टलाई एचएमपीभी समस्यासँग जोड्दै पोस्ट गरिएको देखियो ।

तत्कालीन कोरोना महामारीका बेला सरकारले ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) नामक संयन्त्र गठन गरेको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि यसलाई गठन गरिएको थियो । तर, वर्तमान समयमा सीसीएमसी सक्रिय छैन ।
त्यस्तै नेपालमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी)ले महामारीको रुप लिएको छैन । यसका लागि सरकारले सीसीएमसी कुनै संयन्त्रसमेत गठन गरेको छैन ।
अर्कोतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै एचएमपीभी समस्याका विषयमा आतंकित नहुन अपीलसमेत गरिसकेको छ ।
२४ पुस २०८१ मा स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ ।’
निष्कर्ष
‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सरकारलाई कुनैपनि निकायले सिफारिस गरेको छैन । कोभिड-१९ महामारीसँग सम्बन्धित पुरानो समाचार अडियोलाई ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै वर्तमान समयमा पोस्ट गरिएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
भिडियो, News24 Nepal
समाचार, swasthyakhabar.com
समाचार, kantipurtv.com
जानकारी, WHO
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।