Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: भारतीय लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ ।
तथ्य: फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । त्यस्तै भिडियोको थमनेलमा सिक्किम नेपालकै भएको दाबी गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले शपथग्रहण गरिरहेको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘सिक्किम नेपालकै हो, जय बीर गोर्खाली । भारतीय लोकसभामा उभिएर एक सांसदले भने हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो ।’
दुई दिनअघि पोस्ट गरिएको भिडियोमा करिब २० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ७ सय प्रतिक्रिया आएको भिडियोलाई टिकटक प्रयोगकर्ताले करिब एक हजार पटक सेयर गरिसकेका छन् । दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको संकेत यस तथ्यांकले गरेको छ ।
भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले के अभिव्यक्ति दिएका हुन् त ? दाबीसहितको सामग्रीमा जोडिएको भिडियो वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
इन्द्रहाङ सुब्बा भारतीय लोकसभा सांसद हुन् । उनी भारतीय लोकसभा निर्वाचन २०२४ मा सिक्किम राज्यबाट निर्वाचित भएका छन् । यसअघि उनी २०१९ को लोभसभा निर्वाचनमा पहिलोपटक निर्वाचित भएका थिए ।
सिक्किम क्रान्तिकारी मोर्चाका नेतासमेत रहेका सुब्बा नेपाली भाषी भारतीय नागरिक हुन् । उनी पछिल्लो पटक सिक्किम राज्यबाट लोकसभामा निर्वाचित भएकै बेला सामाजिक संजालमा दाबीसहितको सामग्री पोस्ट गरिएको छ ।
दाबीसहितको भिडियोको जाँचका क्रममा हामीले गुगलमा ‘Indra Hang Subba’ ‘Lok Sabha’ लगायतका वाक्यांशलाई सर्च गर्यौँ । जाँचका नतिजास्वरुप भारतको संसदीय गतिविधि पोस्ट गर्ने युट्युब च्यानल Sansad TV मा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२५ जुन २०२४ मा पोस्ट गरिएको भिडियोमा सिक्किम राज्यबाट निर्वाचित लोकसभा सांसद इन्द्रहाङ सुब्बले शपथग्रहण गरिसकेका छन् । तर, उक्त शपथग्रहणको भिडियोमा ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।
जाँचकै क्रममा हामीले Sansad TV युट्युब च्यानलमै अर्को भिडियो फेला पार्यौँ । यो भिडियोलाई पनि दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, यो भिडियो वर्तामान सन्दर्भसँग सम्बन्धित छैन, अघिल्लो लोकसभासँग सम्बन्धित छ ।
१८ सेप्टेम्बर २०२३ मा पोस्ट गरिएको भिडियोमा इन्द्रहाङ सुब्बाले आफलाई लोकसभामा नेपाली भाषामा बोल्दा गर्व लाग्ने बताएका थिए । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- Indra Hang Subba’s Remarks | Discussion on ‘Parliamentary Journey of 75 Years’
फेला परेका दुबै भिडियोका अंशहरु माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको छन् । तर, कुनैपनि भिडियोमा भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।
भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित भिडियोसँग ‘सिक्किम नेपालकै हो’, ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ जस्ता भ्रामक वाक्यांश जोडिएको छ । तर, यस्ता कुनैपनि अभिव्यक्ति इन्द्रहाङ सुब्बासँग सम्बन्धित छैनन् । फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, Sansad TV
समाचार, Business-standard
समाचार, Indianexpress
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]