नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । भिडियोमा एउटा गाडी देखिएको छ र केही मानिसहरूले नेपालविरुद्ध नारा लगाइरहेका छन् ।
बुधबार बिहान माओवादी युद्धकालमा बालसेना रहेका लेनिन बिष्टको फेसबुक पेजमा सो दाबीसहितको भिडियो पोस्ट गरियो । भिडियोसँगै स्ट्याटस लेखिएको छ – ‘रौतहटबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लखटिए । अब सबै जिल्लाका युवा जागरुक बनौँ ।’
प्रस्तुत पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलियो । पोस्ट भएको १ दिनमै उक्त भिडियो सामग्रीमा साढे २ सयभन्दा बढीले कमेन्ट गरिसकेका छन् । उक्त पोस्टमाथि कमेन्ट गर्ने अधिकांश प्रयोगकर्ताले भिडियोलाई ताजै घटनाको रुपमा लिएको देखिन्छ । साेही अवधिमा उक्त पोस्टमा २५ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

यसैगरी माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्री टिकटकमा समेत हालसालै पोस्ट भएका छन् । rameshbashyal00 नामक टिकटक आइडीमा एक दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा पनि सोही भिडियो जोडिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- रौतहटबाट माधव नेपाललाई माधव नेपाल चोर भन्दै लखेटेछन् जनताले, अब केही दिनपछि पार्टीका शीर्ष नेताको घरघरमा आक्रमण हुनेछ ।’
त्यस्तै प्रस्तुत दाबीसहितको भिडियोलाई अन्य टिकटक प्रयोगकर्तालेसमेत सेयर गरेका छन् । ‘माधव नेपाल रौटहट’ वाक्यांशलाई टिकटकको सर्च टुलमा राख्दा यी भिडियोहरू भेटिन्छन् ।

दाबीसहितका प्रस्तुत भिडियोमा देखिएको घटना रौतहटको त भनिएको छ तर घटना कहिलेको हो भनेर कुनै जानकारी दिइएको छैन । घटना कहिलेको र कुन सन्दर्भको हो भन्ने जानकारी नदिइकनै सो भिडियो पोस्ट गरिएका कारण आम सामाजिक संजाल प्रयोगकर्तालाई उक्त घटना हालसालैको हो भन्ने परेको देखिन्छ । यही कारण उक्त भिडियोको सन्दर्भ पत्ता लगाउने जामर्को हामीले गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
भिडियोको वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले उक्त घटनाका विषयमा छापिएका समाचारको खोजी गर्यौँ । किवर्ड सर्च गर्ने क्रममा ‘माधव नेपाल विरुद्ध नाराबाजी’ वाक्यांशलाई सर्च गर्दा दाबीसँग मिल्दोजुल्दो एउटा समाचार भेटियो । नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा भेटिएको उक्त समाचारको शीर्षक छ- ‘गौरमा माधव नेपालविरुद्ध नाराबाजी ।’

करिब तीन महिनाअघि छापिएको प्रस्तुत समाचारमा स्थानीय तह निर्वाचनका दिनको हो । उक्त समाचार अनुसार माधवकुमार नेपालविरुद्ध गौरमा नाराबाजी भएको थियो । गौर-२ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका थिए।
प्रस्तुत समाचारकै आधारमा हामीले भिडियो स्रोतको खोजी थाल्यौँ । युट्युबमा ‘माधव नेपाल’ ‘गौर गौरीशंकर’ ‘नाराबाजी’ लगायतका किवर्ड सर्च गर्दा हामीले मूल भिडियो फेला पार्यौँ । Nepalkhabar को युट्युब च्यानलमा १३ मे २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ- ‘माधवकुमार नेपालविरुद्ध गौरको गौरीशंकर मतदान केन्द्रमा नाराबाजी ।’
नयाँ पत्रिकामा छापिएको समाचार अनुसार माधव नेपाल मतदान केन्द्रभित्र छिर्न खोज्दा अन्य पार्टीका नेता–कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट गौरको मेयर उम्मेदवार हरेका अजय गुप्ताले नेपालमाथि आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न मतदानकै दिन बुथ–बुथ चहार्दै हिँडेको आरोप लागाएको प्रशंगसमेत उक्त समाचारमा उल्लेख छ ।
फेला परेका प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने पछिल्लो समय सामाजिक संजालमा फैलाइएको भिडियो वैशाखमा भएको स्थानीय तह निर्वाचनको सन्दर्भको हो । तर, उक्त भिडियोलाई फरक सन्दर्भमा बिना विस्तृत जानकारी बिनै करिब ३ महिनापछि पोस्ट गरिएको छ । यसबाट प्रस्तुत भिडियोको घटना र विवरण सही हुँदाहुँदै पनि भ्रामक बनेको छ ।
निष्कर्ष :
पछिल्लो समय सामाजिक संजालमा पोस्ट भइरहेको भिडियो करिब ३ महिनाअघि स्थानीय तह निर्वाचनका दिनको हो । बिना सन्दर्भ अहिले पोस्ट गरिएको भिडियोमा घटना र प्रशंग कहिलेको हो भनेर कुनै जानकारी नदिइएकाले सामाजिक संजाल प्रयोगकर्ता भ्राममा परेको देखिन्छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co