दाबी: मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी ।
तथ्य: भारतबाट नेपालतर्फ आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको दुई वर्ष पूरानो घटनासँग सम्बन्धित भिडियोसँगै भ्रामक दाबी पोस्ट गरिएको पाइयो ।
मुद्रा ओसारपसारसँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी गरिएको छ ।
Nepal_55 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेको दृश्य देख्न सकिन्छ । साथै आलुको बोरासँगै प्रहरीले ठूलो रकम पनि बरामद गरेको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपालबाट मारवाडीले आलुको बोराबाट पैसा इन्डिया लैजादै गर्दा पक्राउ परेको छ, अब नेपालबाट पैसा खाली पैसा जति इन्डिया जाँदै ।’

एकदिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोको फैलावट व्यापक भइसकेको छैन । तर, प्रस्तुत भिडियोसँगै गरिएको दाबी महत्वपूर्ण छ । मारवाडी समुदायलाई जोडिएको प्रस्तुत दाबीसहितको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
मारवाडी नेपालमा बसोबास गर्ने एक जाति हो । भारतको राजस्थानस्थित मारवाड भन्ने स्थानमा उद्गम भएको मारवाडी सामुदायका मानिसहरुले राणाकालदेखि नै काठमाडौँ लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापार गर्ने गर्दथे । पछिल्लो समय नेपालका प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको देखिन्छ ।
माथि उल्लेखित भिडियोमा मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी गरिएको छ । सबैभन्दा पहिले हामीले भिडियोको सन्दर्भ जाँच गर्यौँ । यसका लागि ‘आलुको बोरा’ ‘पैसा’ ‘बरामद’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप नतिजास्वरुप Nawapath Media मा प्रकाशित समाचार फेला पर्यो । करिब दुई वर्षअघि अर्थात् ५ जुलाई २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘आलुको बोरा खोल्दा भेटियो ८३ लाख रुपैयाँ’ ।
फेला परेको करिब दुई वर्ष पूरानो भिडियो र हालसालै सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको भिडियो एउटै सन्दर्भका हुन् । फेला परेका तथ्यका आधारमा हामीले ‘आलुको बोरा’ ‘पैसा’ ‘बरामद’ ‘पक्राउ’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप setopati.com मा प्रकाशित समाचार फेला पर्यो । करिब दुई वर्षअघि अर्थात् २१ असार २०७९ मा प्रकाशित उक्त समाचारमा धनुषामा प्रहरीले आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
समाचारमा लेखिएको छ- ‘प्रहरीका अनुसार उनीहरू ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै थिए । भारतबाट ल्याउँदै गरेको आलुको बोरा शंका लागि जाँच गर्ने क्रममा ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँ फेला परेको हो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।’
सोही घटनाको समाचार Nepallive.com मा प्रकाशित भएको देखिन्छ । समाचार अनुसार ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ पर्नेमा धनुषास्थित जनकनन्दनी गाउँपालिका-१ इनरूवाबाट ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका थिए ।
फेला परेका तथ्यहरुले के प्रष्ट पारेका छन् भने मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको दाबी भ्रामक छ । साथै नेपाली पैसा सबै भारत गइरहेको दाबी पनि अपुष्ट छ । फरक सन्दर्भको पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी भ्रामक छ । भारतबाट नेपालतर्फ आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको दुई वर्ष पूरानो घटनासँग सम्बन्धित भिडियोलाई सामाजिक संजालमा पोस्ट गर्दै भ्रामक दाबी प्रस्तुत गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
रिपोर्ट, timesofindia.indiatimes.com
समाचार, Setopati.com
समाचार, Nepallive.com
भिडियो, Nawapath Media
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]