दाबी: चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो गएको र नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
तथ्य: पूरानो समाचारसँगै पोस्ट गरिएको भिडियो नेपालको नभई भारतको हिमाल प्रदेशस्थित चम्बा जिल्लामा एक वर्षअघिको पहिरोसँग सम्बन्धित छ ।
सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । सडक छेउमै भयानक पहिरो गएको दृश्यसँगै पोस्ट गरिएको भिडियोमा नारायणगढ-मुग्लिन सडक खुल्न नसकेको दाबी गरिएको छ ।
Suyogbhattarai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सडकमा ठूलै पहिलो गएको दृश्य देख्न सकिन्छ र उक्त भिडियो चितवनको इच्छाकामना गाउँपालिकामा गएको पहिरोसँग सम्बन्धित रहेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘नारायणगढ-मुग्लिन सडकमा आज, विहानको पानीका कारण अवरुद्ध ।’
भिडियोसँगै जोडिएको अडियोमा भनिएको छ- ‘एक बजेदेखि लगातार पहिरो खसिरहेकाले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलाउन कठिनाइ, चितवनको इच्छाकामना गाउँपालिका-५, तीन नम्बर पुलमा लगातार ठुला-ठुला ढुंगासहितको पहिरो खसिरहेकाले पहिरो पन्छ्याउन समस्या भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह ।’

दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो गएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो वाक्तवित हो कि भ्रामक भन्ने विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
मनसुनी वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुने गरेको छ । मनसुन चलिरहेकै समय चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल क्षेत्र पहिरोका लागि संवेदनशील देखियो ।
एक महिनाअघि अर्थात् २०८० असार १७ प्रकाशित समाचार अनुसार चितवनस्थित इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुल जनिकै पहिरो गएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।प्रस्तुत सन्दर्भमा News24 टेलिभिजनले पनि समाचार तयार पारेको थियो । उल्लेखित समाचार पोस्ट भएकै दिन अर्थात् २ जुलाई २०२३ मा युट्युबमा पोस्ट गरिएको रिपोर्ट यस्तो छ:
जाँचकै क्रममा हामीले माथि उल्लेखित दाबीसहितको सामग्रीमा देखिएको दृश्य नारायणगढ–मुग्लिन सडकखण्डको नहुनसक्ने अनुमान लगायौँ । त्यसैले हामीले युट्युबमा ‘Landslide in Himachal Road’ लगायतका वाक्यांश सर्च गर्यौँ । सर्चको नतिजा The Tribune नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
एक वर्षअघि अर्थात् २ अगस्ट २०२२ मा गरिएको पोस्टमा भारतको हिमाचल प्रदेशस्थित उत्तरपश्चिमीको चम्बा जिल्लामा पहिरो गएको जानकारी भिडियोमा दिइएको छ । भिडियोमा भनिएको छ- ‘चम्बा जिल्लाको सलुनी उपखण्डको भलेई–कोटी सडकखण्डस्थित कोटी पुल नजिकै पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।’
फेला परेको प्रस्तुत भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा केही समानता देखिएपछि हामीले अन्य स्रोतको खोजी गर्न थाल्यौँ । यही क्रममा हामीले युट्युबमा ‘Landslide’ ‘Koti bridge in Himachal’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप republicworld.com नामक वेबसाइटमा पोस्ट गरिएको समाचार र भिडियो फेला पर्यौँ । एक वर्षअघि अर्थात् ३ अगस्ट २०२२ मा पोस्ट गरिएको समाचारमा हिमाचल प्रदेशको चम्बा जिल्लास्थित डलहौजीमा ठूलो पहिरो गएको दृश्य देखिएको जानकारी दिइएको छ ।

समाचारको सन्दर्भ पत्ता लागेपछि हामीले जाँचको कामलाई थप अगाडि बढायौँ । यही क्रममा ‘Koti pul’ ‘Landslide’ लगायतका किवर्डलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप ASKINI-The Chanderbhaga Pangi Valley नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो ।
२ अगस्ट २०२२ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्री एउटै देखिन्छ । प्रस्तुत भिडियोमा देखिएको दृश्य पनि हिमाल प्रदेशस्थित चम्बा जिल्लामा एक वर्षअघि गएको पहिरोसँग सम्बन्धित छ । उक्त भिडियो यस्तो देखिन्छ :
फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध भएको भन्दै भारतको हिमाचल प्रदेशस्थित चम्बा जिल्लामा एक वर्षअघि गएको पहिरोको दृश्य देखाइएको छ । प्रस्तुत दाबीसहितको सामग्रीले सामाजिक संजाल प्रयोगकर्तामाझ भ्रामक सूचना प्रवाह गरेको देखिन्छ ।
निष्कर्ष
चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो गएको र नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको समाचार वर्तमान सन्दर्भको होइन । साथै उक्त समाचारसँगै पोस्ट गरिएको भिडियो नेपालको नभई भारतको हिमाचल प्रदेशस्थित चम्बा जिल्लामा एक वर्षअघि गएको पहिरोसँग सम्बन्धित रहेको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
The Tribune
Republicworld.com
Nayapatrikadaily.com
News24 Nepal
ASKINI-The Chanderbhaga Pangi Valley
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]