Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपाल टेलिकमको क्रिसमस उपहार लेखेर एउटा लिंक सामाजिक संजाल प्रयोगकर्ताबीच फैलाइएको छ ।
तथ्य: नेपाल टेलिकमको नाम र लोगोलाई दुरुपयोग गरी सामाजिक संजाल प्रयोगकर्तामाझ खतरनाक स्पाम लिङ्क फैलाइएको देखियो । यस्ता लिंक क्लिक नगर्न नेपाल प्रहरीले सबैलाई अपिल गरेको छ ।
नेपाल टेलिकमको लोगो र नामसहितको लिंक सामाजिक संजालमा फैलिएको छ । उक्त लिंकमा ‘नेपाल टेलिकमको क्रिसमस उपहार’ लेखेर पोस्ट गरिएको छ ।
फेसबुक म्यासेन्जरमा आइरहेको सन्देशमा ‘Nepal Telecom- Christmas Gift’ लेखिएको छ । साथै उक्त सन्देश Nepaltelecom.772s.xyz लेखिएको लिंकमा जोडिएको छ ।
प्रस्तुत लिंक केही दिनदेखि नेपाली फेसबुक प्रयोगकर्तामाझ व्यापक फैलिएको देखिन्छ । व्यक्तिगत रूपमा नचिनेका मानिसहरूको खाताहरुबाटसमेत उक्त सन्देश फेसबुक प्रयोगकर्ताहरुले प्राप्त गरिरहेका छन् ।
इसाई धर्माबलम्बीहरूको ठूलो पर्व क्रिसमस नजिक आइरहेको छ । यही सन्दर्भमा ‘नेपाल टेलिकम-क्रिसमस गिफ्ट’ लेखिएको लिंक फेसबुक म्यासेजमा आइरहेको छ । जाँचका क्रममा हामीले उक्त लिङ्क खोल्यौँ । तर, यसमा नेपाल टेलिकमको आधिकारिक वेबसाइट खुलेन ।
अर्कोतर्फ थप नेपाल टेलिकमले नै एउटा सूचना जारी गरेको भेटियो । उक्त सूचनामा लेखिएको छ-
‘हाल नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु ५००० सम्मको नगद तथा उपहारको व्यवस्था गरेको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक संजालमार्फत् गलत सूचना प्रवाह भएको पाइएकाले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।’
त्यस्तै दाबीसहितको लिंकसहितको तस्बिर पोस्ट गर्दै नेपाल प्रहरीले पनि शंकास्पद पोष्टहरुमा क्लिक नगर्न अपिल गरेको छ । Nepal Police को फेसबुक पेजमा पोस्ट गरिएको पोस्ट गरिएको सूचनामा लेखिएको छ-
‘विभिन्न सामाजिक संजालहरुमा नेपाल टेलिकल लगायत अन्य संघ संस्थाहरुको लोगो तथा अन्य विवरणहरुको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने संकास्पद पोस्टहरु विभिन्न व्यक्तिहरुलाई आउने गरेको गुनासो बढेकाले यस्ता प्रकारका संकास्पद लिंक क्लिक नगर्नुहुन तथा त्यस सम्बन्धमा सम्बन्धित निकायसँग आधिकारिकता नबुझी झुठ्टा प्रलोभनमा नपर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’
यस्ता स्पाम लिङ्कहरू खतरनाक सफ्टवेयरको प्रयोग गरेर बनाइन्छ । यी लिंक जति क्लिक गर्यो, त्यति नै फैलिने गर्दछन् । पछिल्लो समय यही तरिकाबाट नेपाल टेलिकमबारे खतरनाक र भ्रामक लिंक सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिएको छ ।
सामाजिक संजालमा फैलिएको लिंक नेपाल टेलिकमको आधिकारिक जानकारी होइन । नेपाल टेलिकमको नाम र लोगोलाई दुरुपयोग गरी सामाजिक संजाल प्रयोगकर्तामाझ खतरनाक स्पाम लिङ्क फैलाइएको देखियो । यस्ता लिंक क्लिक नगर्न नेपाल प्रहरीले सबैलाई अपिल गरेको छ ।
सूचना, Nepal Police
सूचना, Nepal Telecom
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।