Fact Check
Fact Check: नेपाली सेनाका जवानले कतारका अमिरलाई ‘डान्स’ देखाएका हुन्? पढ्नुहोस् वास्तविकता

दाबी: नेपाली सेनाले कतारका राजालाई आफ्नो डान्स देखाउँदै, भिडियोसहित ।
तथ्य: संयुक्त राष्ट्रसंघ शान्ति मिशन अन्तर्गत लेबनान पुगेका नेपाली सेनाका जवानले नृत्य प्रदर्शन गरेको पूरानो भिडियोमा भ्रामक दाबी जोडिएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपाली सेनाका जवानसँग सम्बन्धित भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा नेपाली सेनाका जवानहरुले नेपाल भ्रमणमा आएका अमिर थानीलाई नृत्य देखाएको दाबी गरिएको छ ।
Kamala22 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा कतारका अमिरको तस्बिर जोडिएको छ । साथै भिडियोमा नेपाली सेनाका जवानहरु नाँचिरहेको दृश्य जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘हिँजो राति नेपाली सेनाले कतारका राजालाई आफ्नो डान्स देखाउँदै ।’

के नेपाली सेनाका जवानहरुले कतारका अमिरलाई ‘जाग, लम्क, चम्क’ बोलको गीतमा नृत्य देखाएका हुन् ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
११ बैशाख (२०८१) मा कतारका अमिर थानी दुई दिने भ्रमणका लागि नेपाल आएका थिए । भ्रमणका क्रममा कतार-नेपालबीच आपसी सहकार्य सम्बन्धी विभिन्न विषयमा समझदारी भएको थियो । यही सन्दर्भमा नेपाली सेनाले थानीलाई नृत्य देखाएको दाबीसहितको दृश्य सामाजिक संजालमा फैलाउन खोजिएको छ ।
दाबीसहितको भिडियोमा ‘जाग, लम्क, चम्क’ बोलको गीतमा नेपाली सेनाका जवानहरु नाँचिरहेको दृश्य देख्न सकिन्छ । सोही गीतलाई आधार बनाएर हामीले युट्युमा ‘जाग, लम्क, चम्क’ ‘नेपाली सेना’ लगायतका वाक्यांश सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Rimthim Media नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । चार वर्षअघि अर्थात् २० अक्टोबर २०१९ मा पोस्ट गरिएको उक्त भिडियोमा संयुक्त राष्ट्रसंघ शान्ति मिशन अन्तर्गत रुवान्डामा खटिएका नेपाली सेनाले नृत्य प्रदर्शन गरेको जानकारी दिइएको छ ।
जाँचका क्रममा फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियो हुबहु मेल खाएको छ । तर, भिडियोमा देखिएको एउटा झण्डा नेपालको भएपनि अर्को झण्डा रुवान्डा देशसँग सम्बन्धित छैन ।
जाँचकै क्रममा भिडियोमा देखिने झण्डा लेबनान देशसँग सम्बन्धित रहेको पायौँ । यही तथ्यका आधारमा जाँच गर्दा roshan chhetri नामक युट्युब च्यानलमा पोस्ट गरिएको सोही भिडियो फेला पर्यो । ७ वर्षअघि अर्थात् १४ मे २०१६ मा पोस्ट गरिएको उक्त भिडियोमा ‘लेबनानबाट’ भन्ने संकेत दिइएको छ ।
जाँचका क्रममा फेला परेका तथ्यहरुले के प्रष्ट पारेका छन् भने नेपाल भ्रमणमा आएका कतार अमिर थानीलाई नेपाली सेनाले नृत्य देखाएको दाबी भ्रामक छ ।
अर्कोतर्फ नेपाल आएरका अमिर थानीलाई नेपाली सेनाको टुकडीले २१ तोपको सलामीसहितको सम्मान अर्पण गर्दै बिदाइ गरेको थियो । दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमिर थानीसँग सम्बन्धित छैन ।
निष्कर्ष
नेपाली सेनाले कतारका राजालाई ‘डान्स’ देखाएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोको मूल सन्दर्भ तोडमोड गरिएको छ । संयुक्त राष्ट्रसंघ शान्ति मिशन अन्तर्गत लेबनान पुगेका नेपाली सेनाका जवानले नृत्य प्रदर्शन गरेको पूरानो भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Nepal Television
भिडियो, roshan chhetri
भिडियो, Rimthim Media
समाचार, himalkhabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]