Newschecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘हालैको अशान्तिपछि केही मुस्लिमहरू नेपाल छोडेर भुटानतिर लागेका छन् ‘ भाइरल भिडियो ।
तथ्य: दाबीसँगै पोस्ट गरिएकोभिडियो नेपालसँग सम्बन्धित छैन, यसका केही अंशहरु २०२६ मा भारतको पश्चिम बंगालस्थित आयोजित ‘विश्व इज्तिमा २०२६’ का दृश्यहरुसँग मेल खाएका छन् ।
नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको दाबी गर्ने पोस्टहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । प्रस्तुत दाबीसँगै एउटा भिडियोसमेत जोडिएको छ, जसमा मानिसहरु झोला र बन्दोबस्तका सामान बोकेका हिँडिरहेको दृश्य देख्न सकिन्छ ।
प्रस्तुत भिडियोलाई हिन्दी, अंग्रेजी र नेपाली लगायतका भाषामा लेखिएको दाबीसहित पोस्ट गरिएको पाइयो । भिडियो र दाबीले सामाजिक संजालमा व्यापक विवाद सृजना गरेको जानकारीसमेत पोस्ट भइरहेको छ । यहाँ उल्लेखित पोस्टहरु प्रतिनिधि केश मात्र हुन् ।

Indiapulse.live नामक इन्स्टाग्राम पेजमा पोस्ट गरिएको भिडियोमा मुस्लिम मानिसहरुको भीड हिँडिरहेको दृश्य देख्न सकिन्छ । साथै नेपालको ‘अशान्तिपछि केही मुस्लिमहरू नेपाल छोडेर भुटानतिर लागेका छन् भन्ने दाबी’ जोडिएको छ ।
४ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा ‘दाबीसहितको सामग्रीले सामाजिक संजाल भरिएको र जानकारीको फैलावट अत्यधिक बहसको विषय बनेको लेखिएको छ । भिडियोको क्याप्सनमा लेखिएको अंग्रेजी भाषाको जानकारी नेपालीमा यस्तो छ-
‘नेपाल छोडेर भुटान जाँदैछन् मुस्लिमहरू? हालैको अशान्तिपछि केही मुस्लिमहरू नेपाल छोडेर भुटानतिर लागेका छन् भन्ने दाबीले सामाजिक सञ्जाल भरिएको छ । अनलाइनमा विभिन्न कथाहरू प्रसारित हुँदै गर्दा यो अवस्था अझै पनि अत्यधिक बहसको विषय बनेको छ ।’

सोही भिडियो Aaruhi Reddy नामक एक्स ह्यान्डलमा पनि पोस्ट गरिएको छ । ५ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा ‘नेपाली मुस्लिमहरू नेपाल छोडेर जाँदैछन्’ भन्ने वाक्यांश लेखिएको छ । क्याप्सनमा रहेको अंग्रेजी वाक्यांश यस्तो छ-
‘Nepali Muslims are leaving Nepal, but instead of going to a Muslim country, they will go to a secular country and turn that into hell as well. No country should give them shelter.’
यसअघि नै Gyan Veer नामक फेसबुक पेज बन्दोबस्तका सामान बोकेका मुस्लिम मानिसहरुको भीड अगाडि बढिरहेको दृश्य पोस्ट गरिएको देखियो । ४ अगस्ट २०२६ मा पोस्ट भएको भिडियोमा भने हिन्दी भाषाको क्याप्सन जोडिएको छ ।

भिडियोको थमनेल र क्याप्सनमा यस्तो लेखिएको छ-
‘नेपाल से मुस्लिम भूटान की तरफ भाग रहे हैं । कुछ दिन पहले एक कावड़िये की हत्या कर दी थी उसके बाद नेपाल के हिंदू भड़क गए पूरे देश मुस्लिम मुक्त करने में लग गए,अब शायद कामयाब भी हो जाएंगे’
Mahakal.sanki.92 नामक टिकटक आइडीमा भने केही फरक दाबीका साथ पोस्ट गरिएको पाइयो । प्रस्तुत ‘भिडियोमा देखिने भीड नेपालतर्फ आइरहेको संकेत’ यस पोस्टले गरेको छ ।
४ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको थमनेलमा ‘अब यिनिहरुलाई नेपाल सरकार र नेपालका सेनाले कसरी रोक्छ’ भन्ने वाक्यांश लेखिएको छ । मुस्लिम मानिसहरु देखिने प्रस्तुत भिडियो टिकटकमा द्रुत गतिमा फैलिरहेको छ ।

के सामाजिक संजालमा भाइरल भिडियो नेपाल र नेपाली मुस्लिमसँग सम्बन्धित छ त? नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको दाबीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरियो ।
नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको दाबी र भिडियोको फैलावट, अगस्ट २०२६ को पहिलो हप्ता व्यापक भएको देखिन्छ । ठिक यसअघि नै नेपालमा हिंसात्मक साम्प्रदायिक तनावको घटना घटेको थियो ।
१० साउन २०८३ को राति सुनसरीको कप्तानगंजमा सामान्य विवादले हिंसाको रुप लिँदा तीन जनाको मृत्यु भयो । धार्मिक झण्डा र लाउडस्पीकरको निहुँमा देवानगंजबाट सुरु भएको तनाव पछि सुननसरी, धनुषा, सिराहासँग देशका विभिन्न स्थानमा फैलिन खोजेको थियो ।

पछि कडा सुरक्षा व्यवस्था र विभिन्न सद्भाव अभियानहरुका कारण तनाव केही नियन्त्रणमा आयो । साम्प्रदायिक तनाव शान्ति उन्मुख रहेको समाचार सरकारी संचार माध्यम gorkhapatraonline.com मा प्रकाशित भएको देखिन्छ ।
सुनसरी हिन्दू मुस्लिम तनाव सुरु भएको केही दिनपछि, सामाजिक संजालमा ‘नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको’ भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । सबैभन्दा पहिले भाइरल भिडियोका हरेक फ्रेमहरुलाई राम्ररी जाँच गरियो ।
सुनसरी घटनापछि भाइरल भिडियोमा के छ?
झट्ट हेर्दा, दाबीसहितको भिडियो मुस्लिम जमघट वा पर्वको जस्तो देखिन्छ, कुनै त्रासपूर्ण स्थानान्तरण वा बलपूर्ण बसाइसराइको जस्तो देखिँदैन । मानिसहरु एकअर्कासँग सुखद् भेटघाट गरिरहेका छन्, खुसीको भावमा बोलिरहेका छन् । मानिसहरु एक देशबाट अर्को देश भाग्नु परेको अवस्था वा भावमा देखिएका छैनन् ।
किनकी भिडियोमा हे. दुई बालकलाई भिक्ट्री ह्यान्ड Victory Hand को संकेत गर्न अह्राइएको छ । भिक्ट्री ह्यान्ड भन्नाले तर्जनी र मध्यमा औँलालाई माथितिर उठाईर ‘V’ आकार बनाइने हाते संकेत बुझाउँछ । यसले विजय, शान्त र खुसी वा सफलताको उत्सवलाई जनाउँछ ।
यी दृश्यहरु नोट गरियो,

एक) भिडियोमा पुरुषहरु मात्र देखिन्छन्, अधिकांशले मुस्लिमको नमाजी टोपी कुफी लगाएका छन् ।
दुई) मुस्लिम मानिसहरुको ठूलो भीड जम्मा भएको छ, उनीहरुले झोला र बन्दोबस्तका सामान बोकेका छन् ।
तीन) साउण्ड सिस्टम र प्रवाधिक व्यवस्थापनको लागि बाँसका अस्थायी टावर खडा गरिएका छन् ।
चार) विजुलीका हाइटेन्सन टावर (Transmission Towers) र साना पोलहरु पनि देखिन्छ ।
पाँच) भिडियोमा देखिने मानिसहरु कुनै शोक वा कष्टदायी भावमा छैनन् ।
जाँचका क्रममा दाबीसहित भाइरल भिडियोका एक-एक फ्रेमहरुलाई रिभर्स इमेज सर्च गरियो । तर, उक्त भिडियो ‘नेपाल र नेपाली मुस्लिमहरू’सँग मात्र फेला पर्यो । भिडियोमा देखिने बाँसका टावरहरु र यसको उपयोग भने केही परिचित देखियो ।
यस्ता टावरहरु साउण्ड सिस्टम र प्राविधिक व्यवस्थापनका लागि इज्तिमा IJTEMA मा प्रयोग हुने गरेको पाइयो । IJTEMA मुख्यत: खुल्ला मैदान वा नदीकिनारमा अस्थायी रूपमा ठूला पाल (पन्डाल) टाँगेर र प्रवचनका लागि अस्थायी मञ्च वा टावरहरुमा साउण्ड सिस्टम बनाएर संचालन गरिन्छ । यस्ता टावरहरु नेपाल, बंगलादेश, पश्चिम बंगालसँगै भारतको उत्तरी क्षेत्रहरुमा आयोजना हुने इज्तिमाका क्रममा निर्माण हुने गरेको देखियो ।
इस्लाम धर्मावलम्बीको धार्मिक सभाका रुपमा चिनिने इज्तिमा भारत, बंगलादेश र नेपालमा आयोजना भइरहेका छन् । दाबीसहितको धमिलो भिडियोमा एकजना व्यक्तिले बोकेको झोलामा लेखिएको शब्द अस्पष्ट देखिन्छ । राम्ररी नियाल्दा झोलामा बंगाली शब्द তিথি (Tithi) लेखिएको छ । सामान्यत: नेपालमा बंगाली शब्दमा लेखिएका झोलाहरू अपवाद मात्र प्रयोग गरिन्छ । यदि तीन झोलावाला इस्लाम धर्मावलम्बी बंगलादेशी हुन भने दाबीसहितको भिडियो बंगलादेश नजिकैको इज्तिमा हुनुपर्छ ।

भाइरल भिडियो नेपालको होइन, के ‘विश्व इज्तेमा २०२६ पुइनान’सँग सम्बन्धित छ?
फेला परेका नतिजाका आधारमा ‘Biswa Ijtema 2026’ बारेमा जानकारी संकलन गरियो । २-५ जनवरी २०२६ मा विश्व इज्तेमाको पश्चिम बंगाल संस्करण सम्पन्न भएको थियो । पश्चिम बंगालस्थित हुगली जिल्लाको दादपुरको पुइनान गाउँमा आयोजित चार दिने आध्यात्मिक जमघटमा विभिन्न देशबाट लाखौँ धर्मावलम्बीहरु सहभागि भएका थिए ।
यसपछि भिडियोको वास्तिकता जाँचलाई हामीले ‘विश्व इज्तिमा २०२६ पुइनान’ मा केन्द्रीत गरियो । ‘Biswa Ijtema 2026’ ‘Puinan ijtema’ ‘বিশ্ব ইজতেমা ২০২৬’ लगायतका थुप्रै वाक्यांशहरुको जाँच गरियो ।
जाँचको नतिजास्वरुप Usama&sk studio नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ५ जनवरी २०२६ मा पोस्ट गरिएको भिडियो शिर्षकमा लेखिएको छ- ‘Biswa Ijtema 2026 Puinan, Hooghly West Bengal, India’

विश्व इज्तेमा २०२६ लेखेर पोस्ट गरिएको युट्युब भिडियोका केही अंश र माथि उल्लेखित दाबीसहितको दृश्य एउटै स्थानमा खिचिएको देखिन्छ । बोटविरुवा, विजुली टावर र बाँसका टावरका दृश्यहरु दाबीसहितको भिडियोसँग मिल्दाजुल्दा छन् ।
फेला परेको नतिजाका आधारमा थप जाँच गरियो । २०० भन्दा भन्ढी भिडियोको परीक्षणको गर्दा केही दृश्यहरु दाबीसहित भाइरल भिडियोसँग मिल्दाजुल्दा देखिए ।
M IRFAN collection’s नामक युट्युब च्यानलमा ‘Biswa Ijtema 2026 Puinan, Dadpur, Hooghly’ शिर्षकको भिडियो पोस्ट गरिएको छ । ३ जनवरी २०२६ मा पोस्ट गरिएको भिडियोका केही दृश्य र दाबीसहित पोस्ट भिडियोको दृश्यबीच समानता देख्न सकिन्छ । बोटविरुवा, विजुली टावर र बाँसका टावरहरु उस्तै देखिएका छन् ।

यससँगै Rakibul Vlog र RK Vlogs लगायतका युट्युब च्यानलमा पोस्ट गरिएका ‘विश्व इज्तेमा २०२६, पुइनान’सँग सम्बन्धित दृश्यहरु, जो नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको दाबीसहित पोस्ट गरिएका भिडियोसँग मिल्दाजुल्दा छन् ।
६ जनवरी २०२६ मा RK Vlogs युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोको शिर्षकमा ‘WB Hooghly puinan Biswa ijtema 20 milian logon ka majma 2026’ लेखिएको छ । यसमा पनि विजुली टावर र बाँसका टावरहरुमा समानता देखिन्छ ।

Md Ilyas Ansari नामक फेसबुक पेजमा पोस्ट गरिएको सामान्य दृश्य पनि दाबीसहितको भिडियोसँग मिल्दो देखिन्छ । ९ जनवरी २०२६ मा पोस्ट गरिएको यस भिडियोको शिर्षकमा ‘World ijtema 2026 West Bengal Hooghly puinan’ लेखिएको छ । यस दृश्य र दाबीसहिको भिडियोमा देखिने बोटविरुवा र विजुली टावर र बाँसबाट बनेका टावरहरु मेल खाएका छन् ।
नेपाली मुस्लिमहरु भुटानतिर लखेटिएका छैनन्
प्रस्तुत भिडियोहरुबाट के पुष्टि हुन्छ भने सामाजिक संजालमा भाइरल भएको भिडियो नेपालसँग सम्बन्धित छैन । भारतको पश्चिम बंगाल राज्यस्थित पुइनान गाउँमा आयोजित ‘विश्व इज्तिमा २०२६’सँग सम्बन्धित दृश्यलाई गलत तरिकाले नेपालसँग जोडिएको देखियो ।
नेपालमा हालसालै साम्प्रदायिक तनाव देखिएको थियो । यही सन्दर्भमा केही मुस्लिमहरू नेपाल छोडेर भुटानतिर लागेको गलत दाबीसहितको भिडियो सामाजिक संजालमा भाइरल भएको पाइयो ।
अर्कोतर्फ मुस्लिमहरु नेपालबाट भुटानतिर हिँडेको वा लखेटिएको दाबी पनि गलत छ ।
दाबीका विषयमा न्युजचेकर टीमले नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई फोनमार्फत् सम्पर्क गर्यो । उनले दाबीमा भनिएजस्तो नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको घटनाबारे आफू कहाँ रिपोर्टिङ नभएको प्रष्ट पारे ।

‘यस्तो घटना (नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको) जानकारी म कहाँ आएको छैन’ प्रवक्ता आनन्द काफ्ले भन्छन् ।
नेपाली मुस्लिमहरू नेपाल छाडेर भुटानतिर भागेको दाबी गर्ने पोस्टहरु गलत छन् । दाबीसँगै पोस्ट गरिएको भाइरल भिडियो नेपालसँग सम्बन्धित छैन, यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म भिडियोको वास्तविक मूल स्रोत पत्ता लागिसकेको छैन । यद्यपी, भिडियोमा देखिने बोटविरुवा र टावरहरु भारतको पश्चिम बंगालस्थित हुग्ली जिल्लाको पुइनानमा जनवरी २०२६ मा आयोजित ‘विश्व इज्तिमा २०२६’ का दृश्यहरुसँग मेल खाएका छन् । पुरानो तथा फरक सन्दर्भको भिडियोमा नेपालको पछिल्लो साम्प्रदायिक तनावको सन्दर्भ जोडेर नेपाली मुस्लिमहरू देश छाडेर भुटानतिर गएको गलत दाबी गरिएको हो । नेपाल सरकारको गृह मन्त्रालयले दाबीमा भनिएजस्तो घटना नेपालमा नभएको प्रष्ट पारेको छ ।
बीबीसी न्यूज नेपाली । bbc.com/nepali । ३१ जुलाई २०२६
कान्तिपुरको स्थलगत रिपोर्टिङ । ekantipur.com/news । १८ साउन २०८३
सुनसरीमा फैलियो अशान्ति । bbc.com/nepali २७ जुलाई २०२६
NSC meeting Sunsari incident । risingnepaldaily.com/news । 30 July 2026
सुनसरी शान्ति उन्मुख । gorkhapatraonline.com । १४ साउन २०८३
Hindu-Muslim unrest । aljazeera.com/news । 31 Jul 2026
The anatomy of violence in the Madhes । nepalitimes.com । 6 Aug 2026
Victory Hand V sign, Dec 10, 2024 history.com/articles
मोरङ इजतेमा । Makalu Television HD । 13 Feb 2025
News Biswa Ijtema 2026 । News24 Online । 5 Jan 2026
Video Biswa Ijtema 2026 । Usama&sk studio । 5 Jan 2026
Ground World Ijtema 2026 । Anam Home Applaince । 1 Dec 2025
Video Bishwa Ijtema 2026 । Rakibul Vlog । 8 Jan 2026
Ground World Ijtema 2026 । Sk Farhad । 24 Dec 2025
Video Biswa ijtema 2026 । RK Vlogs । 6 Jan 2026
বিশ্ব ইজতেমা ২০২৬ পুইনান দাদপুর হুগলি । Bappa Shaikh । 6 Jan 2026
नेपालको गृह मन्त्रालयका प्रवक्ता, ananda-kafle । २४ साउन २०८३
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]