Fact Check
विपिन जोशी जीवित छैनन् तर गलत दाबी ‘जीवित छन्’

दाबी: विपिन जोशी जीवित रहेको र उनी हमासको नियन्त्रणबाट रिहा भएको दाबी ।
तथ्य: विपिन जोशी जीवित छैनन् र २०२५ मा उनको अन्तिम संस्कार सम्पन्न भइरहेको छ ।
नेपाली विद्यार्थी विपिन जोशीसँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा विपिन जोशी जीवित रहेको र उनी हमासको नियन्त्रणबाट रिहा भएको दाबी गरिएको छ ।
Nepaldesh19 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा विपिन जोशीको तस्बिर समेत जोडिएको छ । साथै भिडियोको थमनेल र अडियोमा ‘विपिन जोशी जीवितै रहेको खबर आयो’ भन्ने वाक्यांश लेखिएको छ ।
त्यस्तै chandra.kc440 नामक टिकटक आइडीमा पनि विपिन जोशी देखिने भिडियो क्लीप जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘सुखीको खबर विपिन जोशी रिहा भइसक्नुभएको छ’ ।
Gaganthakuri11 नामक टिकटक आइडीमा पनि सोही दाबीलाई दोहोर्याइएको छ । भिडियोमा विपिनले अन्तर्वार्ता दिइरहेको सन्देश फैलाइएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘हमासले रिहा गरिसकेको, इजरायलबाट बाँचेर फर्किए पनि म रमाउन सकेको छैन: विपिन’ ।

के गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै फर्किएका हुन् त? हाम्रो तथ्यजाँचले एआई जनेरेटेड दृश्य र तस्बिरलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको प्रमाणित गर्दछ ।
तथ्यजाँच/प्रमाणीकरण
विपिन जोशी नेपालको कञ्चनपुर जिल्लाका युवा विद्यार्थी थिए, जो सेप्टेम्बर २०२३ मा कृषि अध्ययनका लागि इजरायल पुगे । किबुत्ज अलुमिममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अन्य नेपाली विद्यार्थीहरूसँगै काम र तालिम लिइरहेका थिए । त्यही समय, ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्यो । किबुत्ज अलुमिमको शेल्टरमा लुकेका विपिन हमासको अपहरणमा परेका थिए ।

२०२४ देखि २०२५ सम्म विपिनको अज्ञात अवस्था पत्ता लगाउन नेपाल सरकार र उनको परिवारले अन्तर्राष्ट्रिय समुदायमार्फत् निरन्तर प्रयास गर्यो । साथै उनको परिवारका सदस्यहरुले इजरायल र अमेरिकाको भ्रमण गरी विपिनको अवस्था थाहा पाउन सहयोगको अपिल गरिरहे । यही बेला, सेप्टेम्बर २०२५ मा हमासले जारी गरेको विवरणमा विपिनको नाम र तस्बिर देखिएको थिए ।
तर, १३ अक्टोबर २०२५ मा हमासले विपिनसहित चार बन्दीको मृत्यु भएको घोषणा गर्यो र शान्ति सम्झौताअन्तर्गत शव सुम्पिने प्रतिबद्धता जनायो । १९ अक्टोबर २०२५ मा इजरायलको किबुत्ज अलुमिममा विपिनको शव बुझाइयो ।
त्यस्तै २० अक्टोबर २०२५ मा विपिनको शव काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइयो । यही साँझ उनको शव धनगढी विमानस्थल पुर्याइयो । २१ अक्टोबर २०२५ मा कञ्चनपुरको भीमदत्तनगरमा उनको अन्तिम संस्कार सम्पन्न गरियो ।

फेला परेका तथ्यहरुबाट के प्रमाणित हुन्छ भने विपिन जोशी जीवितै फर्किएका छैनन् । उनी सन् २०२३ को अक्टोबर ७ को हमास आक्रमणमा अपहरणमा परेका थिए र सन् २०२५ को अक्टोबरमा उनको मृत्यु भएको पुष्टि भएको छ ।
विपिन जोशीसँग सम्बन्धित प्रमुख घटनाक्रम (टाइमलाइन)

अपहरणको घटना (७ अक्टोबर २०२३):
- विपिन जोशी (२३ वर्षीय कृषि विद्यार्थी) इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत किबुत्ज अलुमिममा थिए ।
- हमासको आक्रमणमा उनी ग्रेनेड फ्याँकिएपछि एउटा ग्रेनेडलाई टाढा फ्याँकेर धेरैको ज्यान बचाए। तर, घाइते साथीहरूलाई उद्धार गर्ने क्रममा अपहरणमा परे ।
- यो घटनाको प्रत्यक्षदर्शी धन बहादुर चौधरीले बीबीसीलाई भनेका छन्- ‘म बाँच्न सक्थिनँ यदि दुवै ग्रेनेड विस्फोट भएका भए। विपिनले साहस देखाएर ग्रेनेड फ्याँके ।’

बन्दी अवस्था र परिवारको प्रयास (२०२३–२०२५):
- इजरायलले डिसेम्बर २०२३ मा उनलाई जीवित बन्दी पुष्टि गरेको थियो ।
- सेप्टेम्बर २०२५ मा हमासले जारी गरेको तस्बिरमा उनी देखिएका थिए, जसले परिवारमा आशा जगाएको थियो ।
- नेपाल सरकारले इजरायल, कतार, अमेरिका र अन्य देशहरूसँग रिहाइको लागि कूटनीतिक प्रयास गरेको थियो। परिवारले इजरायल र अमेरिका भ्रमण गरी अपिल गरेका थिए ।

मृत्युको पुष्टि (१३–१४ अक्टोबर २०२५):
- अमेरिकी मध्यस्थतामा भएको गाजा युद्धविराम सम्झौताअन्तर्गत हमासले २० जना जीवित बन्दीहरू रिहा गर्यो, तर विपिनको नाम थिएन ।
- हमासको सैन्य विङ (कास्साम ब्रिगेड) ले विपिनसहित चार बन्दीहरूको मृत्यु घोषणा गर्यो । इजरायल डिफेन्स फोर्स (IDF) ले पुष्टि गर्यो कि विपिन युद्धका सुरुका महिनाहरूमा बन्दी अवस्थामा हत्या गरिएका थिए ।
- DNA परीक्षणपछि इजरायली अधिकारीहरूले परिवारलाई जानकारी दिए ।

शवको फिर्ता र अन्तिम संस्कार (१९–२१ अक्टोबर २०२५):
- १९ अक्टोबरमा किबुत्ज अलुमिममा विदाई समारोह । इजरायली अधिकारीहरूले उनलाई ‘नायक’ भने ।
- २० अक्टोबरमा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै भनिन्- ‘विपिन हाम्रो गर्व हुन्। उनको साहस प्रत्येक नेपालीको गर्व हो ।’
- साँझ धनगढी विमानस्थल पुग्यो। २१ अक्टोबरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा हिन्दू रीतिअनुसार अन्तिम संस्कार ।

निष्कर्ष
नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको वा हमासको नियन्त्रणबाट रिहा भएको भन्दै पोस्ट गरिएका दाबीहरु गलत छन् । विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका थिए र २०२५ अक्टोबर १३ मा हमासले उनको मृत्युको पुष्टि गरेको थियो । इजरायली अधिकारीहरूले डीएनए परीक्षणपछि शव नेपाल पठाएका थिए, र २१ अक्टोबर २०२५ मा कञ्चनपुरमा अन्तिम संस्कार सम्पन्न भएको छ । टिकटकमा फैलिएका भ्रामक भिडियोहरूमा पुराना तस्बिर, एआई-निर्मित दृश्य प्रयोग गरी विपिन जीवित रहेको गलत सन्देश फैलाइएको छ ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
समाचार, bbc.com
समाचार, nytimes.com
समाचार, aljazeera.com
समाचार, timesofisrael.com
समाचार, embassies.gov.il
समाचार, nbcnews.com
समाचार, onlinekhabar.com
समाचार, indiatoday.in
समाचार, kathmandupost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]