Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘ब्रड पिक’ हिमपहिरो र निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोड्दै केही भिडियोहरु पोस्ट गरिएका छन् ।
तथ्य: नेपालको सगरमाथासँग सम्बन्धित उद्धारका पुराना दृश्यहरुलाई २०२६ मा पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरो र निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोडेर भ्रामक बनाइएको पाइयो ।
३० जुलाई २०२६ दिउँसो पाकिस्तानको ‘ब्रड पिक’ हिमालमा हिमपहिरो गयो । यही समय नेपालका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ ब्रड पिकमा चढिरहेका थिए । १० जना पर्वतारोहीको समूह निम्सदाईको नेतृत्वमा थियो ।
३१ जुलाईसम्म निम्सदाईसहितको आरोहण समूह ‘ब्रड पिक’मा बेपत्ता भएको जानकारी विश्वभर फैलियो । हिमपहिरोका कारण उनीहरुको आरोहण असफल मात्र भएन, निम्सदाईसहितका पर्वतारोहीको निधन भयो ।
यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म निम्सदाईको शव फेला परेको समाचार bbc.com ले पोस्ट गरेको छ ।
‘ब्रड पिक’ दुर्घटनाबारे चर्चा भइरहेको सन्दर्भमा केही भिडियो अंशहरु सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

Worldtimesinsta इन्स्टाग्राम पेजमा पोस्ट गरिएको भिडियोमा एक पर्वतारोहीको शरीरलाई हेलिकोप्टरमा झुन्ड्याएर ल्याइएको देखिन्छ । १ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा विश्वले एक महान पर्वतारोही गुमाएको जानकारी दिइएको छ । उक्त क्याप्सनको अंश यस्तो छ-
Today, it is with profound sadness and immense heartbreak that we confirm that Nirmal ‘Nimsdai’ Purja, tragically lost his life following the avalanche on Broad Peak. We have also received confirmation that other members of the expedition sadly did not survive. Today, we mourn not only Nims, but every life Lost in this tragedy including his trusted climbing partners and guides, Pur Bahadur Gurung (Yukta) and Nima Sherpa.

त्यसैगरी Media Lens नामक युट्युब च्यानलमा पनि एक पर्वतारोहीको शरीरलाई हेलिकोप्टरमा झुन्ड्याएर ल्याइएको अर्को दृश्य जोडिएको छ । १ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘Four dead, six still missing as Army helicopters continue Broad Peak rescue’
World Times Institute नामक फेसबुक पेजमा पनि एक पर्वतारोहीको शरीरलाई हेलिकोप्टरमा झुन्ड्याएर ल्याइएको दृश्य जोडिएको छ । साथै भिडियोको क्याप्सन निम्सदाई सहित पाकिस्तानको ‘ब्रड पिक’ हिमालमा ज्यान गुमाएका पर्वतारोहीबारे लेखिएको छ ।

Newsdiaries.x इन्स्टाग्राम पेजमा पनि उस्तै देखिने अर्को दृश्य जोडिएको छ । यो दृश्यलाई पनि ‘ब्रड पिक’ हिमपहिरोसँग जोडेर पोस्ट गरिएको छ । यो भिडियो माथिल्लो दृश्य जस्तै र फरक सन्दर्भको देखिन्छ ।
१ अगस्ट २०२६ मा पोस्ट गरिएको भिडियोको प्याप्सनमा ‘A dark day on Broad Peak’ शिर्षकको लामै लेख लेखिएको देखिन्छ ।

के प्रस्तुत भिडियोहरु ‘ब्रड पिक’ हिमपहिरोसँग सम्बन्धित छन् त? निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोड्दै पोस्ट गरिएका दृश्यहरुको वास्तविक पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
सबैभन्दा पहिले, भिडियोका फ्रेम र एंगलहरुलाई एकएक गरी जाँच गर्यौँ । रिभर्स इमेज सर्च गर्दा निस्किएका जानकारीका आधारमा ‘longline Rescue ‘Everest’ ‘Helicopter’ वाक्यांश जाँच गरियो । नतिजास्वरुप Summiters Club नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।

१६ मे २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा सगरमाथाको ७२०० मिटर उचाइबाट एक पर्वतारोही उद्धार गरिएको उल्लेख छ । उक्त जानकारी अनुसार एक रूसी पर्वतारोहीलाई क्याम्प ३ देखि हेली कैलाशबाट लङलाइन उद्धार गरिएको थियो ।
थप जाँचका क्रममा explorersweb.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । १७ मे २०२५ मा पोस्ट गरिएको समाचारको शिर्षक छ- ‘Everest Summit Wave Begins Tomorrow; One Climber Longline Rescued From 7,200m’
प्रस्तुत समाचारमा प्रयोग गरिएको तस्बिर र ‘ब्रड पिक’ दुर्घटनासँग जोडेर पोस्ट गरिएको दृश्यमा समानता देखिन्छ । तस्बिरको क्याप्सनमा रूसी पर्वतारोहीको उद्धार गरिएको र माउन्टेन फोटोग्राफर विवेक पाण्डेले खिचेको भिडियोको फ्रेम प्रयोग गरिएको जानकारी दिइएको छ ।

थप जाँच गर्दा Everestofficials इन्स्टाग्राम पेजमा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो । १६ मे २०२५ मा पोस्ट गरिएको भिडियो र निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोड्दै पोस्ट गरिएको दृश्य एउटै हो ।
माउन्टेन फोटोग्राफर bibekpandey8848 लाई उदृत् गरिएको भिडियोको क्याप्सनमा ‘Long line rescue from Mt.Everest camp three’ लेखिएको छ ।
जाँचका क्रममा फेला परेका नतिजाले के पुष्टि गर्छन् भने निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोड्दै पोस्ट गरिएको भिडियो नेपालको सगरमाथासँग सम्बन्धित छ । एक वर्षअघि अर्थात् २०२५ मै भाइरल भिडियोलाई ‘ब्रड पिक’ दुर्घटनासँग जोडेर भ्रामक बनाइएको देखियो ।

दोस्रो भिडियोको जाँच पनि हामीले सोही तरिकाबाट अगाडी बढायौँ । प्रारम्भिक जाँचका क्रममै केही पुरानो तथ्यजाँच रिपोर्टहरु फेला परे । २७ मे २०२४ मा पोस्ट गरिएका रिपोर्टमा बिना अक्सिजन सगरमाथा आरोहण गर्ने प्रयास गरेका केन्याका पर्वतारोही चेरुइयोट किरुइको निधनसँग जोड्दै भ्रामक जानकारी फैलाइएको उल्लेख छ ।
eastleighvoice.co.ke मा प्रकाशित तथ्यजाँच अनुसार किरुइको २३ मे २०२४ मा सगरमाथा आरोहण गर्ने प्रयास गर्दागर्दै पुरक अक्सिजन बिना निधन भयो । यही सन्दर्भमा पर्वतारोही चेरुयोत किरुईको शव सगरमाथाबाट निकालिएको दाबी गर्ने नक्कली भिडियो फैलाइएको थियो ।

सगरमाथामा केन्याका पर्वतारोही किरुइको निधनसँग जोड्दै २०२४ मा भ्रामक बनाइएको भिडियोलाई नै २०२६ मा पनि भ्रामक तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
pigafirimbi.africauncensored.online नामक वेबसाइटमा प्रकाशित तथ्यजाँच अनुसार भिडियोमा केन्याका पर्वतारोही किरुइको शवको प्राप्त गरिएको दाबी गरिएको छ । तर माउन्ट एभरेस्टबाट लङलाइन उद्धार गरिएको उक्त दृश्य पर्वतारोही किरुइसँग सम्बन्धित होइन । सोही दृश्य अगस्ट २०२६ मा ‘ब्रड पिक’ दुर्घटनासँग जोडेर फैलाइएको पाइयो ।
केही वर्षदेखि भ्रामक तरिकाले फैलिरहेको भिडियो TukuTukuTrek नामक युट्युब च्यानलमा फेला पर्यो । २ जुन २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा ‘Everest Heli Rescue’ लेखिएको छ ।

तीन वर्षभन्दा अघि नै सामाजिक संजालमा भाइरल भिडियोलाई २०२६ ‘ब्रड पिक’ दुर्घटनासँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो । प्रस्तुत भिडियो निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग सम्बन्धित छैन ।
निर्मल पुर्जा ‘निम्सदाई’को निधन तथा ‘ब्रड पिक’ हिमपहिरोसँग जोडेर फैलाइएका दुवै भिडियोहरु पुराना र फरक सन्दर्भका हुन् । पहिलो भिडियो २०२५ बाट सामाजिक संजालमा फैलिन सुरु गरेको भियो, जसलाई २०२६ मा ‘ब्रड पिक’ दुर्घटना र निम्सदाईको निधनसँग जोडेर गलत गरिकाले प्रस्तुत गरिएको छ । त्यस्तै, दोस्रो भिडियो पनि ‘ब्रड पिक’ हिमपहिरोसँग सम्बन्धित छैन । यो भिडियो सन् २०२३ देखि नै इन्टरनेटमा उपलब्ध रहेको र २०२४ मा केन्याका पर्वतारोही चेरुइयोट किरुइको निधनसँग जोडेर समेत भ्रामक रूपमा प्रयोग गरिएको तथ्य भेटियो । नेपालको सगरमाथासँग सम्बन्धित उद्धारका पुराना दृश्यहरुलाई २०२६ मा पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरो र निर्मल पुर्जा ‘निम्सदाई’को निधनसँग जोडेर भ्रामक बनाइएको पाइयो ।
तस्बिर र समाचार, explorersweb.com
भिडियो, Everestofficials
माउन्टेन फोटोग्राफर, bibekpandey8848
तथ्यजाँच रिपोर्ट, eastleighvoice.co.ke
तथ्यजाँच रिपोर्ट, pigafirimbi.africauncensored.online
भिडियो, TukuTukuTrek
भिडियो, Summiters Club
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]