दाबी: नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरियो ।
तथ्य: ६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ, जसमा नेपाली कांग्रेसका नेता तथा नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरिएको दाबी गरिएको छ ।
VK Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्व अर्थमन्त्री रामशरण महतले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ । भाषणकै क्रममा एक व्यक्तिले रामशरण महतमाथि बोतल प्रहार गरेका छन् ।
दुई दिनअघि पोस्ट गरिएको उक्त भिडियोमा एउटा क्याप्सनसमेत देख्न सकिन्छ । उक्त क्याप्सनमा लेखिएको छ- ‘डाक्टर रामशरण महतको स्टेजमै टाउको फुट्यो’ । भिडियोमा थमनेलसमेत देख्न सकिन्छ, जसमा ‘भ्रष्टचारी भन्दै रामशरण महतलाई बोतल प्रहार’ गरिएको दाबी गरिएको छ ।
त्यस्तैगरी दाबीसहितको सामग्रीमा भिडियोसँगै एउटा अडियोसमेत सुन्न सकिन्छ । समाचार शैलीको उक्त अडियोमा भनिएको छ- ‘डा.रामशरण महतमाथि गृह जिल्लामै बोतल प्रहार, हेर्नुहोस् यो पूरा भिडियो ।’

नेपाल सरकारको अर्थमन्त्री रहिसकेका डा.रामशरण महतलाई ‘भ्रष्टचारी’ भनिएको र उनीमाथि बोतल प्रहार भएको भिडियो वर्तमान सन्दर्भमा पोस्ट गरिएको सामग्री अत्यन्तै सम्बेदनशील रहेको छ । सोही कारण हामीले उल्लेखित भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित सामग्रीमा नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरिएको दाबी गरिएको छ । प्रस्तुत दाबीको जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले ‘बोतल प्रहार’को भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
भिडियोको मुल स्रोत पत्ता लगाउने क्रममा हामीले युट्युब लगायत अन्य सामाजिक संजालमा ‘रामशरण महत आक्रमण’ ‘रामशरण महत बोतल आक्रमण’ जस्ता वाक्यांश नेपाली र अंग्रेजी भाषामा सर्च गर्यौँ । फसस्वरुप हामीले एउटा युट्युब भिडियो फेला पार्यौँ ।
eSampangTV नामक युट्युब च्यानलमा भेटिएको एउटा सानो भिडियो क्लिपमा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल आक्रमण गरिएको दृश्य देखिन्छ । भिडियोको रुपरेखा र त्यहाँ राखिएको वाटरमार्कले उक्त भिडियो नै टिकटक भिडियोको मूल स्रोत रहेको देखिन्छ । १७ मार्च २०१८ मा पोस्ट गरिएको उक्त भिडियोमा रामशरण महतमाथि बोतल प्रहार भएको दृश्य समावेश गरिएको छ ।
प्रस्तुत भिडियोकै आधारमा हामीले घटनाबारे थप जानकारी प्राप्त गर्यौँ । नेपालको अनलाइन संचार माध्यम अनलाइन खबरमा बोतल आक्रमणको घटनाबारे तयार पारिएको समाचार भेटियो । ‘कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ’ शीर्षकको उक्त समाचार ६ वर्ष पुरानो हो । राष्ट्रिय समाचार समितिले तयार पारेको उक्त समाचारलाई अनलाइन खबरले साभार गरेको देखिन्छ ।

फेला परेका तथ्यहरूबाट के प्रष्ट हुन्छ भने नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको ६ वर्ष पूरानो भिडियोलाई वर्तमान सन्दर्भसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो । फरक सन्दर्भको पूरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गर्दा त्यसले भ्रामक सन्देश प्रवाह गरेको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co