Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘रेखा थापा पक्राउ भन्ने समाचारले अहिले सामाजिक संजाल तातेको छ’ (भिडियो क्लिप) तथ्य: अभिनेत्री रेखा थापालाई वास्तविक प्रहरीले पक्राउ गरेको होइन । भाइरल भइरहेका दृश्यहरू चलचित्र ‘ककाकिकी’को सुटिङका दृश्यहरू हुन् ।
नेपाली अभिनेत्री रेखा थापासँग सम्बन्धित केही भिडियो क्लिपहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । उक्त क्लिपहरुसँगै रेखा थापा पक्राउ परेको दाबी गरिएको छ ।
Samaya202 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल प्रहरीको भ्यान र त्यसभित्र अभिनेत्री रेखा थापा देख्न सकिन्छ । साथै भिडियोको क्याप्सन र थमनेलमा लेखिएको छ- ‘रेखा थापा पक्राउ भन्ने समाचारले अहिले सामाजिक संजाल तातेको छ ।’

१० नोभेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा २१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ५ सय पटक सेयर भएको सामग्रीलाई लाखौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
थापा पक्राउ परेको दाबी गर्ने अर्को क्लिप Rangakhabar1 नामक टिकटक आइडीमा समेत पोस्ट गरिएको छ । रेखा थापा प्रहरीको भ्यानभित्र देखिने यस भिडियोको थमनेलमा लेखिएको छ- ‘रेखा थापालाई बोका चोरेको आरोप, प्रहरी समक्ष पुगिन् ।’

एक दिनअघि मात्रै पोस्ट गरिएको यस क्लिपमा ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै latesnews1 र kushalchhetry823 लगायतका टिकटक आइडीमा समेत सोही दाबी गर्ने भिडियो क्लिप पोस्ट गरिएको देखिन्छ ।
के अभिनेत्री रेखा थापा पक्राउ परेको दाबी सत्य हो त? सामाजिक संजालमा भाइरल भइरहेका भिडियो क्लिपहरुको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले रेखा थापा देखिने भिडियो क्लिपको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि ‘रेखा थापा पक्राउ’ लगायतका वाक्यांशहरुको जाँच गर्यौँ । नतिजास्वरुप हालसालै युट्युब च्यानलहरुमा पोस्ट गरिएका केही भिडियोहरु फेला परे ।

K6 Nepal नामक युट्युब च्यालनमा पोस्ट गरिएको भिडियोमा नेपाली चलचित्र सुटिङका दृश्यहरु पोस्ट गरिएको देखिन्छ । ९ नोभेम्बर २०२५ मा पोस्ट गरिएको सुटिङ र मिडिया अन्तर्वार्तासहितको भिडियोमा रेखा थापासँगै मनोज गजुरेल, तृप्ती नाडकर, महेश त्रिपाठी लगायतका कलाकारहरु देख्न सकिन्छ । मनोज गजुरेल प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । साथै अन्तर्वार्ता भिडियोमा कलाकारहरु सुटिङको चर्चा गरिरहेका छन् ।
थप जाँचका क्रममा Cine Patrika नामक युट्युब च्यानलमा पनि उस्तै दृश्यसहितको भिडियो भेटियो । १० नोभेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा कलाकारहरु ‘ककाकिकी’ ‘सुटिङ’ वाक्यांश प्रयोग गरिरहेको सुनिन्छ । तर, फेला परेका भिडियोहरुको शिर्षक भने अस्पष्ट छन् ।
यही आधारमा जाँच गर्दा nagariknews.nagariknetwork.com र onlinekhabar.com लगायतका संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे । २३ असोज २०८२ मा प्रकाशित समाचारमा टिभी शो ‘कमेडी दरबार’ले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको जानकारी दिइएको छ । यस चलचित्रमा अभिनेत्री तृप्ती नाडकर र रेखा थापा, महेश त्रिपाठी लगायतको अभिनय रहने जानकारी दिइएको छ ।

छायांकन शुभारम्भको समाचारमा उल्लेखित तस्बिरमा देखिएका कलाकारहरु नै माथि उल्लेखित दाबीसहितको भिडियोमा देख्न सकिन्छ ।
अर्कतर्फ Parikala News फेसबुक पेजमा पोस्ट गरिएका तस्बिरहरुसमेत हामीले फेला पार्यौँ । १० नोभेम्बर २०२५ मा पोस्ट गरिएका तस्बिरमा अभिनेत्री रेखा थापा प्रहरीको भ्यानमा बसिरहेको देख्न सकिन्छ । साथै तस्बिरको क्याप्सलमा सुटिङरत चलचित्र ‘ककाकिकी’ को सेटबाट अभिनेत्री रेखा थापाको लुक्स बाहिरिएको जानकारी दिइएको छ । यी तस्बिरहरु र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो क्लिपबीच समानता देख्न सकिन्छ ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने पछिल्लो समय रेखा थापा अभिनित ‘ककाकिकी’ छायांकन भइरहेको छ । यही छायांकनकै सन्दर्भमा खिचिएका दृश्यहरु युट्युब च्यानलमा पोस्ट गरिएको छ । तर, यी भिडियोको शिर्षक सुटिङको सन्दर्भ पूर्णरुपमा खुलाइएको छैन । यिनै भिडियोका अंशहरु टिकटक लगायतका सामाजिक संजालमा फैलाइएको देखियो ।
अभिनेत्री रेखा थापालाई वास्तविक प्रहरीले पक्राउ गरेको होइन । भाइरल भइरहेका दृश्यहरू चलचित्र ‘ककाकिकी’को सुटिङका दृश्यहरू हुन् । उक्त चलचित्रमा रेखा थापासँगै मनोज गजुरेल, तृप्ती नाडकर र महेश त्रिपाठी लगायतका कलाकारहरू अभिनय गरिरहेका छन् । चलचित्रको सुटिङका क्रममा खिचिएका दृश्यहरूलाई सन्दर्भ लुकाएर प्रयोग गरी ‘रेखा थापा पक्राउ’ भन्ने भ्रामक दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
समाचार, nagariknews.nagariknetwork.com
समाचार, onlinekhabar.com
भिडियो, K6 Nepal
तस्बिरहरु, Parikala News
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]