Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
तथ्य: ‘अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन (भिडियो सहित) भइरहेको छ ।
दाबी: ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमेरिकाको नभई क्रोएशियाको हो ।
सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भएको र अमेरिका सनातनमय बनिरहेको दाबी गरिएको छ ।
Aakash the true nepali नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा मन्त्र पाठ भइरहेको भिडियो देख्न सकिन्छ । उक्त भिडियोसँगै जोडिएको थमनेलमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन गर्दै, अब अमेरिका सनातनमय बन्दैछ ।’
दाबीसहितकको सामग्रीमा दुई हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब एक सयले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई एक सयभन्दा बढी टिकटक प्रयोगकर्तालाई सेयर गरिसकेका छन् । यस फैलावटबाट के प्रष्ट हुन्छ भने उल्लेखित दाबीसहितको सामग्री आगामी दिनमा झनै फैलिनसक्छ । त्यसैले हामीले उक्त भिडियोको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित दाबीसहितको सामग्रीमा अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भएको र अमेरिका सनातनमय बनिरहेको दाबी गरिएको छ । भिडियोसहित सामाजिक संजालमा फैलाइएको उक्त सामग्रीको जाँच गर्ने क्रममा सबैभन्दा पहिले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
यसका लागि सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको स्क्रिनसट लियौँ र उक्त स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्यौँ । सर्चका थुप्रै नतिजाहरु फेला परे, जसमध्ये एउटा भिडियो Hindu Purohit Sangh नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको देखिन्छ ।
२६ मे २०१८ मा पोस्ट गरिएको उक्त भिडियोसँगै एउटा क्याप्सन पनि लेखिएको छ । भिडियोको क्याप्सन अनुसार क्रोएशियामा ४०० भन्दा बढी युरोपेलीहरूले श्री रुद्रम र चमकम मन्त्र बाचन गरेका थिए । युरोपेली वेद एसोसिएसनको आयोजनामा विश्व शान्तिका लागि उक्त यज्ञ आयोजना गरिएको थियो ।
प्रारम्भिक जाँचका क्रममा फेला परेको जानकारीका आधारमा हामीले ‘Shri Rudram and Chamakam in Croatia’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Whatsapp Status Videos नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
पाँच वर्षअघि अर्थात् ७ अगस्ट २०१८ मा पोस्ट गरिएको यो भिडियोमा पनि क्रोएशियामा श्री रुद्रम र चमकम मन्त्र प्रस्तुत भएको र ४०० भन्दा बढी युरोपेली सहभागि भएको जानकारी दिइएको छ ।
जाँचका क्रममा फेला परेका दुईवटै भिडियो र त्यसमा रहेको जानकारी एउटै भएपछि हामी अन्य स्रोतको खोजीमा लाग्यौँ । यसका लागि हामीले गुगलमा ‘Shri Rudram and Chamakam in Croatia’ वाक्यांशलाई सर्च गर्यौँ । सर्चको नतिजास्वरुप थुप्रै सामग्रीहरु फेला परे ।
प्रस्तुत भिडियो विभिन्न समय फरक-फरक दाबीहरुका साथ सामाजिक संजालमा फैलिनेगरेको पाइयो । भारतसहित विभिन्न देशमा फैलिएको उक्त भिडियोको वास्तविकतामाथि थुप्रै तथ्यजाँच भइसकेको देखिन्छ । ती तथ्यजाँचहरुमा पनि उक्त भिडियो क्रोएशियाकै रहेको जानकारी दिइएको छ ।
हामीले स्रोतका रुपमा reuters.com, Indiatoday.in, boomlive.in लगायतका थुप्रै संचार माध्यममा प्रकाशित तथ्यजाँच नियाल्यौँ । यी सबै तथ्यजाँचका निष्कर्ष र हामीले फेला पारेका स्रोतहरुको जानकारी एकआपसमा मेल खाएका छन् ।
प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको भिडियो २०१८ मा युरोपियन वेद एसोसिएसनले आयोजना गरेको मन्त्र जप कार्यक्रम हो । पाँच वर्ष पूरानो फरक सन्दर्भको भिडियोमा ‘अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबी’सहित सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमेरिकाको नभई क्रोएशियाको हो । पाँच वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
Vedaunion.org
Hindu Purohit Sangh
Whatsapp Status Videos
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]