Fact Check
Fact check: के मन्त्री सुमना श्रेष्ठले ‘माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र’ भनेकी हुन्?

दाबी: शिक्षामन्त्री तथा रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सुमना श्रेष्ठले भनिन्- माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र दिवसको प्रचण्ड शुभकामना !
तथ्य: मन्त्री श्रेष्ठले सामाजिक संजालमा ‘गणतन्त्र दिवसको शुभकामना’ मात्र लेखिएकी छन्, ‘माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र दिवसको प्रचण्ड शुभकामना’ लेखेकी छैनन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा मन्त्री श्रेष्ठले ‘माओवादी जनयुद्धको बलमा’ गणतन्त्र स्थापित भएको अभिव्यक्ति दिँदै गणतन्त्र दिवसको ‘प्रचण्ड शुभकामना’ भनेको दाबी गरिएको छ ।
Society_Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मन्त्री सुमना श्रेष्ठको सामाजिक संजाल पोस्ट जोडिएको छ । साथै उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘शिक्षामन्त्री तथा रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सुमना श्रेष्ठले भनिन्- माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र दिवसको प्रचण्ड शुभकामना !’

के शिक्षामन्त्री सुमना श्रेष्ठले ‘माओवादी जनयुद्धको बलमा’ गणतन्त्र स्थापित भएको अभिव्यक्ति दिँदै गणतन्त्र दिवसको ‘प्रचण्ड शुभकामना’ भनेकी हुन् त? वास्तविक सन्दर्भ जाँच गर्न हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । सोही मितिदेखि नेपालमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यही अवसरमा २०८१ को गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना सन्देश जारी गरेका थिए ।

उक्त सन्देशको सुरुवाती वाक्य यस्तो छ- ‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु ।’
यही सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठले ‘माओवादी जनयुद्धको बलमा’ गणतन्त्र स्थापित भएको अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा फैलाइएको छ । दाबीसहितको सामग्रीमा शिक्षामन्त्री श्रेष्ठको सामाजिक संजाल पोस्ट जोडिएको छ ।
त्यसैले सबैभन्दा पहिले हामीले मन्त्री श्रेष्ठको सामाजिक संजाल जाँच गर्यौँ । उनले प्रयोग गर्दै आएको @SumanaShrestha एक्स ह्यान्डलमा एउटा तस्बिरसँगै ‘गणतन्त्र दिवसको शुभकामना’ वाक्यांश मात्रै लेखिएको छ । त्यसैगरी Sumana Shrestha Secretariat – सुमना श्रेष्ठ सचिवालय नामक फेसबुक पेजमा पनि सोही तस्बिरसँगै ‘गणतन्त्र दिवसको शुभकामना’ वाक्यांशको क्याप्सन लेखिएको छ ।

शिक्षामन्त्री श्रेष्ठसँग सम्बन्धित दुबै सामाजिक संजालमा प्रयोग गरिएको तस्बिर गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहको हो । गणतन्त्र दिवसका दिन हरेक वर्ष टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । जहाँ नेपालका उच्च पदस्थ व्यक्तिहरु एवं नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहेको हुन्छ । सोही समारोहको एउटा तस्बिर मन्त्री श्रेष्ठले सामाजिक संजालमा पोस्ट गर्दै ‘गणतन्त्र दिवसको शुभकामना’ लेखेकी थिइन् ।
निष्कर्ष
गणतन्त्र दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सामाजिक संजालमा पोस्ट गरेको तस्बिर र क्याप्सनमा भ्रामक दाबी जोडिएको पाइयो । उनले सामाजिक संजालमा ‘गणतन्त्र दिवसको शुभकामना’ मात्र लेखिएकी छन्, ‘माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र दिवसको प्रचण्ड शुभकामना’ लेखेकी छैनन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
मन्त्री सुमना श्रेष्ठको एक्स ह्यान्डल, @SumanaShrestha
मन्त्री सुमना श्रेष्ठको फेसबुक पेज, Sumana Shrestha Secretariat – सुमना श्रेष्ठ सचिवालय
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]