दाबी: सरकारले २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
तथ्य: २७ गतेदखि सामाजिक संजाल टिकटकमाथि गरेको प्रतिबन्ध हटाउने निर्णय भएको दाबी भ्रामक छ ।
टिकटक प्रतिबन्धसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । यी सामग्रीमा सरकारले २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको दाबी गरिएको छ ।
MD Aarif नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गृह मन्त्रालयको पूरानो तस्बिर र अडियो जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘New Update, कार्तिक २७ गतेदखि सामाजिक संजाल टिकटकमाथि गरेको प्रतिबन्ध हटाउने भएको छ, २७ गतेदेखि टिकटक खुल्नेछ ।’

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई तीन सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
यतिमात्रै होइन, सामाजिक संजालमा फेला परेको दाबीसहितको अडियोबाट करिब डेढ सय नयाँ भिडियो पुनर्उत्पादन गरिएको देखिन्छ ।

यसबाट के प्रष्ट हुन्छ भने २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय दाबी सामाजिक संजाल प्रयोगकर्तामाझ द्रुत गतिमा फैलिरहेको छ । त्यही कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२०८० कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले टिकटक खोल्न नमिल्ने बनाएका छन् ।
सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध दुई दर्जनभन्दा बढी रिट दायर भएका छन् । यसअघि न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको छ । वर्तमान समयमा टिकटक प्रतिबन्द विरुद्धका मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन छन् ।
यही सन्दर्भमा २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको दाबीसहितका सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेका छन् । जाँचका क्रममा हामीले Aajako Tv – aajako press नामक फेसबुक पेजमा पोस्ट गरिएको एउटा भिडियो फेला पार्यौँ । उक्त भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक खुल्न सक्ने संकेत गरेको जानकारी दिइएको छ ।
दुई दिनअघि पोस्ट गरिएको यही भिडियोको अडियोलाई प्रयोग गरेर सामाजिक संजालमा २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरिएको दाबी गरिएको छ । तर, यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म सरकारले २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने खालको कुनैपनि निर्णय गरेको छैन ।

अर्कोतर्फ जाँचका क्रममा बिबिसी नेपालीले तयार पारेको अर्को रिपोर्ट पनि फेला परेको छ । दुई दिनअघि अर्थात् ५ डिसेम्बर २०२३ मा प्रकाशित गरिएको उक्त रिपोर्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पादकहरूसँगको छलफलमा टिकटकमाथि लगाइएको प्रतिबन्धबारे ‘पुनर्विचार गर्न सकिने’ बताएको जानकारी दिइएको छ ।
तर, बिबिसी नेपालीमा प्रकाशित रिपोर्टमा २७ गतेदखि टिकटकमाथिको प्रतिबन्ध हटाउने आधिकारिक निर्णय भएको कुरा उल्लेख गरिएको छैन । अर्कोतर्फ प्रस्तुत दाबी कुनैपनि तथ्यबाट पुष्टि भएन । यसबाट के पुष्टि हुन्छ भने सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको दाबी भ्रामक छ ।
माथि उल्लेखित दाबीको विषयमा हामीले संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीसँग जवाफ माग्यौँ । सुवेदीले २७ गतेदखि टिकटकमाथिको प्रतिबन्ध हटाउने जस्तो कुनै निर्णय नभएको जानकारी दिए । सामाजिक संजालमा फैलाइएका सूचना नियोजित रुपमा फैलाउन खोजिएको उनले प्रष्ट पारे ।
यो तथ्यजाँच रिपोर्ट तयार पार्दै गर्दा (२१ मंसिर २०८०, दिउँसो) मन्त्रिपरिषद् बैठक बसेको छ । तर, यो मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउने सम्बन्धमा कुनै निर्णय नगरेको संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
प्रस्तुत तथ्य प्रमाणबाट के पुष्टि हुन्छ भने टिकटक प्रतिबन्धविरुद्धका मुद्दा सर्बोच्च अदालतमा बिचाराधीन छन् । तर, २७ गतेदखि टिकटकमाथि भएको प्रतिबन्ध हटाउने आधिकारिक निर्णय भएको छैन । केही संचार माध्यमले प्रकाशित गरेका समाचारलाई तोडमोडगरी भ्रामक दाबी गरिएको पाइयो ।
निष्कर्ष
२७ गतेदखि सामाजिक संजाल टिकटकमाथि गरेको प्रतिबन्ध हटाउने निर्णय भएको दाबी भ्रामक छ । सरकारले टिकटकमाथि गरेको प्रतिबन्ध आधिकारिक रुपमा हटाउने निर्णय गरेको दाबी कुनैपनि तथ्य प्रमाणहरुबाट पुष्टि हुन सकेन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
संचार तथा सूचना प्रविधि मन्त्रालय
समाचर, bbc.com
भिडियो, Aajako Tv – aajako press
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]