Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दुईवटा तस्बिर जोडेर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पोखराको कायापलट गरेको सन्देश ।
तथ्य: पहिलो तस्बिर २०२१ मा फेवातालको बाँध मर्मतका क्रममा पानी घटाइएको दृश्य हो भने दोस्रो तस्बिर चीनको शानडोङ प्रान्तस्थित छिङदाओ शहरको हो ।
नेपालको पर्यटकीय शहर पोखरासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा दुईवटा तस्बिर जोडेर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पोखराको कायापलट गरेको सन्देश दिन खोजिएको छ ।
Biswashx नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा दुईवटा तस्बिर जोडिएको छ । यी तस्बिरमार्फत् नेपालको सत्ता परिवर्तनसँगै पोखराको विकास द्रुत गतिमा भएको सन्देश दिन खोजिएको छ ।
‘राम्रो मान्छेको हातमा देश पर्यो भने विकास हुन समय लाग्दैन’ तस्बिरहरुको थमनेलमा लेखिएको छ,‘केपी ओली प्रधानमन्त्री हुँदा पोखरा । सुशीला कार्की प्रधानमन्त्री हुँदा पोखरा ।’
दाबीसहितको सामग्रीलाई करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाकट गरिसकेका छन् । २ सयभन्दा बढी प्रतिक्रिया आएको उक्त सामग्रीलाई हजारौँ पटक हेरिएको छ ।
के नेपालको सत्ता परिवर्तसँगै फैलाइएका तस्बिर पोखरा शहरसँग सम्बन्धित छन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जेनजी आन्दोलनपछि नेपालमा सत्ता परिवर्तन भयो । आन्दोलन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र सुशील कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन (१२ सेप्टेम्बर २०२५) भयो । यही सन्दर्भमा दुईवटा अज्ञात तस्बिर जोडेर पोखराको विकास द्रुत गतिमा भएको सन्देश दिन खोजिएको छ ।
तस्बिरको वास्तविकता जाँच गर्न हामीले सबैभन्दा पहिले दुईवटा तस्बिरलाई एक-एक गर्दै गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप nepalitimes.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो ।
९ फेब्रुअरी २०२१ मा पोस्ट गरिएको समाचारमा पोखरास्थित फेवातालको बाँधको ढोका मर्मतसम्भारको काम सुरु गरिएको जानकारी दिइएको छ । यस कामका लागि फेवातालको पानी घटाइएको र किनारमा ठूलो माटोको ढिस्को देखिएकोसमेत जानकारी दिइएको छ ।
त्यस्तै हामीले ‘सुशीला कार्की प्रधानमन्त्री हुँदा पोखरा’ लेखिएको तस्बिरको पनि जाँच गर्यौँ । रिभर्स इमेज सर्च गर्दा China Global Television Network को एक्स ह्यान्डल CGTNOfficial मा पोस्ट गरिएको तस्बिर फेला परे । २१ अगस्ट २०२५ मा पोस्ट गरिएको तस्बिर पूर्वी चीनको शानडोङ प्रान्तमा रहेको छिङदाओ शहर (समुद्र तट)को दृश्य हो ।
छिङदाओले लामो समयदेखि चीनलाई विश्वको बाँकी भागसँग जोड्ने प्रमुख व्यापारिक केन्द्रको रूपमा काम गर्दै आएको छ । चीनको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक छिङदाओ बन्दरगाह पनि यही छ । यही बन्दरगाह र पानी जहाज र समुन्द्र देखिने तस्बिरलाई नेपालको पोखरा शहरसँग जोड्दै पोस्ट गरिएको छ ।
फेला परेका तथ्यहरुले के प्रमाणित गर्छन् भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पोखराको कायापलट सन्देश दिन खोजिएको सामग्रीले भ्रामक सन्देश दिएको छ ।
पोखराको विकाससँग सम्बन्धित भनेर प्रस्तुत गरिएको दुई तस्बिरमध्ये पहिलो तस्बिर २०२१ मा फेवातालको बाँध मर्मतका क्रममा पानी घटाइएको दृश्य हो भने दोस्रो तस्बिर चीनको शानडोङ प्रान्तस्थित छिङदाओ शहरको हो । यी तस्बिरलाई नेपालको पोखरासँग जोड्दै सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले तीव्र विकास गरेको भनी दिन खोजिएको सन्देश भ्रामक छ ।
समाचार, nepalitimes.com
छिङदाओ शहर, CGTNOfficial
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो,[email protected]