Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नयाँ गीतसँगै विष्णु माझी पनि सार्वजनिक भएको दाबी ।
तथ्य: भिडियोमा देखिएकी युवती विष्णु माझी नभई दीक्षा रिजाल हुन् भन्ने प्रमाणित भएको छ ।
चर्चित लोक गायिका विष्णु माझीसँग जोडिएको एउटा भिडियो क्लिप सामाजिक संजालमा फैलाइएको छ । उक्त क्लिपमा नयाँ गीतसँगै विष्णु माझी पनि सार्वजनिक भएको दाबी गरिएको छ ।
Chandra Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा विष्णु माझीको पुरानो तस्बिर र अर्को दृश्य जोडिएको छ । उक्त दृश्यमा एक युवतीलाई मानिसहरुले खादा लगाइदिएको दृश्य जोडिएको छ ।
१३ अगस्ट २०२५ मा पोस्ट गरिएको यही भिडियोको थमनेलमा लेखिएको छ- नयाँ गीतसँगसँगै विष्णु माझी पनि सार्वजनिक हुनुभएकोमा धेरै खुसी लाग्यो । अहिले र पहिले (माझीको पुरानो तस्बिर र भिडियो क्लिपमा लेखिएको) । १ लाख ५६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेको दाबीसहितको भिडियोलाई १० लाखभन्दा पहिले हेरिसकेका छन् ।
त्यस्तै प्रस्तुत दाबीसहितको सामाजिक अन्य सामाजिक संजालमा पनि फैलिरहेको देखिन्छ । Dhanuk Raja नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘लौ विष्णु माझी सार्वजनिक भइन्’ ।
के सामाजिक संजालमा भाइरल भिडियो विष्णु माझीकै हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
विष्णु माझी चर्चित नेपाली लोक गायिका हुन् । माझीको व्यक्तिगत जीवन जानकारी र सार्वजनिक उपस्थिति धेरै कम छ । उनी सार्वजनिक कार्यक्रम वा मिडियामा देखा पर्दिनन् । उनको हालसम्म केही पुराना तस्बिर र केही दृश्य मात्र सार्वजनिक छन् । यही कारण नेपालका संचार माध्यमहरुले माझीको रहस्यमयी गुपचुप जीवनबारे बेलाबेला चर्चा गर्ने गर्छन् ।
हालै विष्णु माझी नयाँ तीज गीतको रिलीजसँगै पुनः चर्चामा आएकी छन् । उनको नयाँ गीत ‘म त नराउरी’ ले युट्युब र सामाजिक संजालमा व्यापक लोकप्रियता पाएका छन् । यही गीत सार्वजनिक भएसँगै सामाजिक संजालमा विष्णु माझी पनि सार्वजनिक भएको दाबी फैलाइएको छ ।
तर, माझी सार्वजनिक भएको दाबीलाई कुनैपनि तथ्यले प्रमाणित गर्दैन । अर्कोतर्फ उनको गोपनीयताले गर्दा उनको वास्तविक जीवनबारे स्पष्ट जानकारी कमै छ । उनीबारे बेलाबेला सामाजिक संजालमा विभिन्न अड्कलबाजी र अफवाहहरू फैलिरहेका हुन् ।
दाबीसहितको सामग्रीमा जोडिएको भिडियो क्लिममा देखिने युवती विष्णु माझी होइन । तर, सोही सामग्रीमा देखिएको तस्बिर भने माझीकै हो तर पुरानो ।
भिडियोमा देखिएकी युवती दीक्षा रिजालसँग सम्बन्धित छ । यो भिडियो भाइरल भएपछि, दीक्षाले आफैँ आफ्नो टिकटक आइडीबाटै वास्तविकता खुलाएकी थिइन् । वाक्तवमा ओर्जिनल भिडियो miss.dikshyarijal नामक टिकटक आइडीमा ६ जुन २०२५ मा पोस्ट गरिएको थियो । सोही भिडियोलाई विष्णु माझीसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको देखियो ।
भिडियो भाइरल भएपछि पुन: सोही भिडियो पोस्ट गर्दै दीक्षा रिजालले लेखेकी छन्- ‘एउटा अकाउंटले मेरो भिडियोलाई विष्णु माझीको भानेर हालेको हालाई गर्नु’भको छ, भ्रम नफैलाई दिनुहुन अनुरोध छ यो म जेसीआई सौराहा लेडीको अध्यक्षको पद ग्रहण गर्दाको हो, मेरो साथीहरूले माया र सम्मान स्वरूप लगाइदिनु भएको हो ।’
विष्णु माझी सार्वजनिक भएको भन्दै सामाजिक संजालमा फैलिएको दाबी भ्रामक छ । भिडियोमा देखिएकी युवती विष्णु माझी नभई दीक्षा रिजाल हुन् भन्ने प्रमाणित भएको छ । रिजालले आफ्नै टिकटक अकाउन्टमार्फत् उक्त भिडियो आफ्नो भएको स्पष्ट पारेकी छन् । त्यसैले विष्णु माझी सार्वजनिक उपस्थितिमा आएको भन्ने दाबी तथ्यहीन हो र सामाजिक संजाल केवल अफवाहका रूपमा फैलाइएको हो ।
भिडियो, miss.dikshyarijal
समाचार, onlinekhabar.com
विष्णु माझीको नयाँ गीत, Sapana Music Industries