Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Uncategorized
दाबी: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भिडियो ।
तथ्य: युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फेला गरेको छन् । ती पोस्टमा मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भन्दै एउटा छोटो भिडियो जोडिएको छ ।
Deepaksunar364 नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको भिडियोमा केही व्यक्तिहरु बसेको ठाउँबाट अचानक उठेको दृश्य देख्न सकिन्छ । साथै ती व्यक्तिहरु उठेपछि मेयर बालेन शाह हिँडिरहेको दृश्य जोडिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘ब्राजिलमा भब्य स्वागत बालेन शाहलाई ।’
प्रस्तुत दाबीसहितको रिल फेसबुकमा समेत व्यापक फैलिसकेको छ । जसलाई करिब ४२ हजार इन्टाग्राम र फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै उक्त रिल १२ सय पटक सेयर भइरहेको देखिन्छ । सोही भिडियोलाई विभिन्न टिकटक प्रयोगकर्ताले समेत पोस्ट गरेका छन् ।
के विशिष्ट व्यक्तिहरु अचानक उभिएको दृश्य काठमाडौँका मेयर बालेन शाहसँग सम्बन्धित छ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
१९-२० जुन २०२४ मा आयोजित मेट्रोपोलिस डाइरेक्टर बोर्डको बैठकमा सहभागि काठमाडौँका मेयर बालेन शाह ब्राजिलको साओ पाउलो गएका थिए । २०८१ असार ३ गते ब्राजिततर्फ प्रस्थान गरेका उनी बैठकमा सहभागि भएर स्वदेश फर्किसकेका छन् ।
मेयर शाह मेट्रोपोलिस डाइरेक्टर बोर्ड बैठकको समूह छलफलमा पनि सहभागि भएका थिए । पोलिसी डिबेट (POLICY DEBATE) शिर्षकको समूह छलफलमा शाहले आफ्नो भनाई ४ मिनेटमा राखेका थिए ।
जाँचका क्रममा हामीले मेट्रोपोलिस डाइरेक्टर बोर्ड बैठक सबै भिडियोहरु सरसर्ती नियाल्यौँ । तर बालेन शाहलाई स्वागत गर्न विशिष्ट व्यक्तिहरु अचानक उभिएको दृश्य भेटिएन । दाबीसहितको भिडियोबाट केही स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप बालेन शाहसँग जोडिएको भिडियो यसअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । तर, उक्त भिडियो पाकिस्तानसँग पनि सम्बन्धित भएको छैन ।
गुगल लेन्समार्फत् जाँचको क्रममा aplusme.me संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्यो । उक्त समाचारमा मोन्टेनेग्रो देशको क्याविनेट बैठकले गरेको एउटा निर्णयबारे जानकारी दिइएको छ । साथै समाचारमा क्याविनेट बैठकको तस्बिरसमेत राखिएको छ । समाचारसँगै प्रकाशित तस्बिर दाबीसहितको भिडियोसँग मिल्दो छ ।
जाँचका क्रममा फेला परेको समाचार २० अप्रिल २०२३ मा पोस्ट गरिएको प्रकाशित भएको देखिन्छ । यही आधारमा हामीले युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकका भिडियोहरु खोज्न खोज्यौँ । Vlada Crne Gore नामक युट्युब च्यानलमा मोन्टेनेग्रो सरकारको क्याविनेट बैठक लाइभ हुने गरेको पाइयो ।
२० अप्रिल २०२३ पछि बसेका क्याविनेट बैठकका लाइभ भिडियो जाँच गर्दा ९ फेब्रुअरी २०२३ मा लाइभ गरिएको बैठकको भिडियो फेला पर्यो ।
यो भिडियोमा देखिएको दृश्य र काठमाडौँका मेयर बालेन शाहसँग जोडिएको दृश्य उस्तै देखिएको छ । क्याविनेट बैठकको सुरुवातमा हलका सबै उच्च पदस्थ व्यक्तिहरु उठेर एकछिन मौन धारण गर्छन् । तर, उनीहरु कसैलाई स्वागत गर्न उभिएका भने होइनन् ।
ब्राजिलमा भब्य स्वागत गरिएको भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सम्बन्धित छैन । युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।
तस्बिर, aplusme.me
भिडियो, Vlada Crne Gore
भिडियो, POLICY DEBATE
समाचार, myrepublica.nagariknetwork.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]