Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: नेपालमा १००० र ५०० रुपैयाँका नोट बन्द गरिएको छ ।
तथ्य: नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी सुमन नेउपानेले नोट बन्द भएको हल्ला सत्य नभएको बताए ।
नेपालमा नोटबन्दी भएको भन्दै केही भिडियोहरु सामाजिक संजालमा फैलाइएको छ । ती भिडियोहरुमा १००० र ५०० रुपैयाँका नोट बन्द भएको दाबी गरिएको छ ।
Full maya नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब १ लाख ६० हजारले रियाक्ट गरेका छन् ।

सेप्टेम्बर १२ मा पोस्ट गरिएको भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘नेपालमा पाँच सय र एक हजारको नोट आजदेखि बन्द भयो, किनभने बैंक लुटेराहरुले थुप्रै पैसा लुटेको छ, त्यही भएर आजदेखि पाँच सय र एक हजारको नोट बन्द भइसकेछ ।’
त्यस्तै सोही अडियोसहितको दाबी ROHAN SHARMA HOST र abhishex.cdry लगायतका टिकटक आइडीमा पोस्ट गरिएको देखियो । प्रस्तुत दाबीसहितको अडियो र भिडियोको फैलावट सामाजिक संजालमा व्यापक देखिन्छ ।

के नेपालमा १००० र ५०० रुपैयाँका नोट बन्द गरिएको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालमा १००० र ५०० रुपैयाँका नोट बन्दी (नोट प्रतिबन्ध) लागू गरिएको दाबीको जाँचका क्रममा, हामीले सबैभन्दा पहिले मिडिया कभरेज नियाल्यौँ, विश्वसनीय नेपाली समाचार माध्यमहरूमा नोटबन्दी भइसकेको दाबीलाई पुष्टि गर्ने कुनै समाचार प्रकाशित भएको फेला परेन ।
यद्यपी जेनजी आन्दोलन, त्यसपछिको वितण्डा र आवासीय घरहरुमै पछि नगद नोटहरु फेला परेपछि सामाजिक संजालमा फेरि नोटबन्दीको चर्चा हुन थालेको देखियो । यही विषयमा clickmandu.com ले विस्तृत समाचार रिपोर्ट तयार पारेको छ ।

यसअघि पनि, नेपालमा बेलाबेला नोटबन्दीको चर्चा हुने गरेको छ । २०२४ मा समेत हजार र पाँच सयको नोट नचल्ने (नोटबन्दी हुन लागेको दाबी) गलत दाबी सामाजिक संजालमा फैलाइएको थियो । Newschecker ले गरेको तथ्यजाँचमा एउटा युट्युब भिडियो/अडियोको तथ्यलाई गलत अर्थ लगाएर भ्रामक दाबी गरिएको देखिएको थियो ।
जेनजी आन्दोलनपछि नेपालमा सरकार परिवर्तन भएको छ । तर, नोटबन्दीको तयार भएको वा नोटबन्दी नै भइसकेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्यहरु फेला परेनन् । त्यस्तै नेपाल राष्ट्र बैंकको वेबसाइटमा पनि यस्तो कुनै जानकारी वा सूचना जारी गरिएको छैन ।

अर्कोतर्फ अर्थ मन्त्रालय वा अन्य सरकारी निकायबाट नोट बन्दीको सम्बन्धमा कुनै निर्णय वा विज्ञप्ति जारी भएको प्रमाण फेला परेन ।
जाँचका क्रममा, अन्तिममा हामीले नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी सुमन नेउपानेलाई फोनमार्फत् सम्पर्क गर्यौँ । नेउपानेले यो दाबीलाई स्पष्ट रूपमा असत्य भएको बताएका छन् । उनको भनाइ छ- ‘नोट बन्द भन्ने हल्ला सत्य होइन। यो यतिकै हुने कुरा होइन। यसबारेमा कुनै तयारी पनि भएको छैन ।’
प्रस्तुत तथ्यले प्रमाणित गर्छ कि निश्चित मूल्यवर्गका नोटहरू चलनचल्तीबाट हटाइएको वा अवैध घोषित गरिएको दाबी गलत छ ।
नेपालमा नोट बन्दी लागू गरिएको, १००० र ५०० रुपैयाँका नोट बन्द गरिएको भन्ने दाबी गलत छ । नेपाल राष्ट्र बैंक वा नेपाल सरकारबाट यस्तो कुनै नीति वा निर्णय लागू भएको कुनै प्रमाण फेला परेन । अर्कोतर्फ नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी सुमन नेउपानेले नोट बन्द भएको हल्ला सत्य नभएको प्रष्ट पारेका छन् ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी, nrb.org.np
समाचार रिपोर्ट, clickmandu.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]