Fact Check
बाजुरा र हुम्ला सिमाना झडपपछि फैलाइयो अतिरंजित पोस्ट, धारिलो हतियार देखिने तस्बिर एआई जेनेरेटेड

दाबी: ‘बाजुरा र हुम्लाको सिमाना विवादपछि आक्रमण गर्न आएका ३०० जनाको हुम्ली समुह’ तस्बिरसहित
तथ्य: एआई डिटेक्सन टुलहरू नतिजाअनुसार दाबीसहित पोस्ट गरिएको तस्बिर एआई टुल प्रयोग गरी तोडमोड गरिएको प्रमाणित हुन्छ ।
बाजुरा र हुम्ला जिल्लाबीचको सिमाना विवादसँग जोडिएको एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । उक्त तस्बिरसँगै विवादपछि आक्रमणका लागि ३०० जना हुम्ली समूह जिल्लाको सीमामा आएको दाबी गरिएको छ ।
Greater Nepal TV फेसबुक पेजमा पोस्ट गरिएको तस्बिरमा धारिलो हतियार समाएका मानिसहरु सैनिक जस्तै लाइन मिलाएर बसिरहेको दृश्य देख्न सकिन्छ । प्रस्तुत तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘बाजुरा र हुम्लाको सिमाना विवादपछि आक्रमण गर्न आएका ३०० जनाको हुम्ली समुह !’

२१ मे २०२६ मा पोस्ट गरिएको तस्बिरमा करिब चार सय फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । पोस्ट भएको एक दिनमै प्रस्तुत तस्बिर सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
त्यस्तै सोही तस्बिर र क्याप्सन प्रधानमन्त्री बालेन शाहको समर्थन गर्ने फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । Balen Shah support नामबाट फेसबुक पेजमा पोस्ट गरिएको तस्बिर द्रुत गतिमा फैलिरहेको छ । केही घण्टाअघि मात्रै पोस्ट गरिएको तस्बिरलाई तीन सयभन्दा बढी पेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।

प्रस्तुत तस्बिर Lók Star Nepal फेसबुक पेज र Dear_prem4 नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको पाइयो । पोस्ट गरिएको एक दिनमै उक्त तस्बिर र क्याप्सन सामाजिक संजालमा फैलिरहेको छ ।

के बाजुरा र हुम्ला जिल्लाबीचको विवादपछि धारिलो हतियार समाएका, सैनिक जस्तै देखिने हुम्लीहरु आक्रमणका सिमानामा आएका हुन् त? उक्त संवेदनशील जानकारी र तस्बिरको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
बाजुरा-हुम्लाबीचको सिमाना विवाद पछिल्लो समय फेरि चर्चामा आएको छ । ५ जेठ २०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सिमाना सम्बन्धी विषयलाई लिएर झडप भएको हो । बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले संचार माध्यमलाई दिएको जानकारी अनुसार झडपमा पाँच जना घाइते भएका थिए ।
प्रस्तुत झडपमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको भ्रमण टोली परेपछि विवादले देशव्यापी चर्चा पाएको छ । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान अन्तर्गत मेयर हमाल सहितको भ्रमण टोली झडप भएकै दिन घटनास्थल पुगेको थियो । मेयर हमालको टोलीलाई हुम्लाका स्थानीयले लाठी र ढुंगासहित त्यहाँबाट भगाएका थिए ।
घटनाको भोलिपल्ट अर्थात् ६ जेठ २०८३ मा प्रकाशित समाचार अनुसार लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण रोकिएपछि तत्काललाई विवाद साम्य भएको हो । यही सन्दर्भमा आक्रमणका लागि ३०० जना हुम्ली समूह जिल्लाको सीमामा आएको दाबी र एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ ।

जाँचका क्रममा दाबीसहितको तस्बिर एआई जेनेरेटेड हुनसक्ने सम्भावना देखियो । त्यसैले उक्त तस्बिरलाई केही एआई डिटेक्सन टुलको सहयोगमा जाँच गर्यौँ । उक्त तस्बिरलाई Hive Moderation बाट एआई डिटेक्सन गर्दा ९७.९ प्रतिशतको सम्भावना देखियो ।
त्यस्तै दाबीसहितको तस्बिरलाई Sightengine बाट समेत एआई डिटेक्सन गर्यौँ । जाँचको नतिजास्वरुप प्रस्तुत तस्बिर ९९ प्रतिशत एआई जेनेरेटेड हुनसक्ने सम्भावना देखियो । एआई डिटेक्सनको निष्कर्षले के पुष्टि गर्छ भने दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर वास्तविक होइन, एआई टुलको सहायताबाट तोडमोड गरिएको हो ।

वास्तविक तस्बिर पत्ता लगाउन हामीले थप जाँच गर्यौँ । यही क्रममा बाजुरा र हुम्लाको सीमा विवादबारे सरकारी संचार माध्यम gorkhapatraonline.com मा प्रकाशित समाचार र तस्बिर फेला पर्यो । ६ जेठ २०८३ अर्थात् झडपको भोलिपल्ट प्रकाशित समाचार ‘बाजुरा र हुम्लाको सीमा विवाद सहमतिमा टुङ्ग्याइने’ शिर्षकसहित प्रकाशित गरिएको छ ।
प्रस्तुत समाचारमा प्रकाशित तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरका केही अंशहरुमा समानता देख्न सकिन्छ ।

त्यसैगरी सोही तस्बिरसहितको समाचार radiokarnaliaawaj.com मा पनि प्रकाशित भएको पाइयो । ५ जेठको झडप हुनुभन्दा अघिल्लो दिन अर्थात् ४ जेठ २०८३ मा प्रकाशित उक्त समाचारमा ‘हुम्ला र बाजुराको सीमा विवाद थप पेचिलो बनिरहेको र आक्रोशित दुवैतर्फका स्थानीय वासिन्दा सीमा क्षेत्रमा’ देखिएको जानकारी दिइएको छ ।
प्रस्तुत समाचारमा जोडिएको तस्बिरकै आधारमा तयार पारिएको एआई जेनेरेटेड दृश्य सामाजिक संजालमा फैलाइएको पाइयो ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने झडप भएको केही दिनपछि सामाजिक संजालमा फैलाइएको तस्बिर पूर्णत: भ्रामक छ । झडपका सन्दर्भमा संचार माध्यमले प्रयोग गरेको तस्बिरलाई एआई टुलबाट तोडमोड गरेर अतिरंजित दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
‘३०० जना हुम्ली समूह आक्रमणका लागि आएको’ दाबीसँगै पोस्ट गरिएको तस्बिर वास्तविक घटनाको प्रमाण होइन । एआई डिटेक्सन टुलहरू नतिजाअनुसार उक्त तस्बिर एआई टुल प्रयोग गरी सम्पादन गरिएको प्रमाणित हुन्छ । वास्तविक घटनाका भिडियो तथा तस्बिर संचार माध्यमहरूमा प्रकाशित भएपनि दाबीसहित पोस्ट गरिएको तस्बिर एआई प्रयोग गरी तोडमोड गरिएको हो ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर र समाचार, gorkhapatraonline.com
तस्बिर र समाचार, radiokarnaliaawaj.com
एआई डिटेक्सन, Hive Moderation
एआई डिटेक्सन, Sightengine
समाचार, setopati.com
समाचार, ekantipur.com
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
