काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते झडप भयो ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । उक्त घटनाको केही दिनसम्म राजधानीका सुकुम्बासीहरू आन्दोलित भएका थिए र उनीहरूले नारावाजी गर्दै सडकमा जुलुससमेत निकालेका थिए ।
प्रस्तुत सुकुम्बासी आन्दोलनको सन्दर्भमा एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरियो । अहिले उक्त पोस्ट अधिकांश सामाजिक संजालहरूमा व्यापकरुपमा फैलिएको छ । सुकुम्बासी आन्दोलनसँग जोडिएको उक्त पोस्टमा एउटा महंगो विलासी गाडी (ल्याण्ड क्रूजर, मूल्य- साढे २ करोडभन्दा बढी) देखिएको छ । उक्त गाडीसँगै पोस्ट गरिएको स्ट्याटसमा उक्त गाडी सुकुम्बासीको रहेको दाबी गरिएको छ ।
Nepali News नामक फेसबुक पेजमा भेटिएको उक्त सामग्रीमा सुकुम्बासी आन्दाेलनका क्रममा उक्त गाडी तोडफोड गरिएको दाबी गरिएको छ र सँगै उक्त गाडी पनि सुकुम्बासीकै रहेको जानकारी दिइएको छ । तस्बिरसँगै राखिएको स्ट्याटसमा लेखिएको छ- ‘सुकुम्बासी आन्दाेलनका क्रममा एक जना सुकुम्बासीकाे कार ताेडफाेड भएकाे छ, न्याय खाेइ ?’

पाँच दिनअघि पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा करिब ७ हजार फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । साढे २ सयभन्दा बढीले सेयर गरिसकेको उक्त पोस्टमा करिब ८ सय फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् ।
एउटा पोस्टबाट मात्रै प्रस्तुत दाबीसहितको सामग्रीको फैलावटको अनुमान लगाउन कठिक हुन्छ । त्यसैले हामीले फेसबुकमा ‘सुकुम्बासी आन्दाेलनका क्रममा एक जना सुकुम्बासीकाे कार ताेडफाेड भएकाे छ’ भन्ने वाक्यांश सर्च गर्दा ८३ भन्दा बढी फेसबुक पेज तथा आइडीमा उक्त सामग्री पोस्ट भएको पाइयो ।

यतिमात्र होइन, प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट फेसबुकमा मात्रै सीमित छैन । उक्त सामग्रीलाई भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा पनि पोस्ट गरिएको देखिन्छ । Raj Pratap xetri नामक टिकटक आइडीमा ४ दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा २४ सय भन्दा बढी प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।
त्यस्तै सोही दाबीसहितको सामग्री माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा पनि भेटिएको छ । mohitheropanti1 लगायतका ट्विटर ह्यान्डिलबाट पोस्ट गरिएको उक्त सामग्री त्यहाँ पनि फैलँदो अवस्थामा छ ।

अधिकांश चर्चित सामाजिक संजालमा भेटिएको प्रस्तुत दाबीसहितको सामग्री सुकुम्बासीको सम्बेदनासँग जोडिएको छ । अर्कोतर्फ उक्त दाबीले एउटा सुकुम्बासीले साढे २ करोडभन्दा बढीको गाडी कसरी चढ्न सक्छ भन्ने प्रश्नसमेत उब्जाउँछ । सोही कारण हामीले प्रस्तुत दाबीसहितको सामग्रीमा देखिएको गाडीको वास्तविकता पत्ता लगाउँन यो तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
तथ्यजाँच सुरु गर्नुअघि हामीले दाबीसहितको सामग्रीसँगै पोस्ट गरिएको तस्बिरलाई पुन: एकपटक राम्ररी नियाल्यौँ । उक्त तस्बिरलाई जुम गरेर हेर्दा गाडीसँगै गाडीको नम्बर पनि देखियो । गाडीको नम्बर रहेको छ- बा १४ च ७५६४ ।
सबैभन्दा पहिले हामीले गाडीको नम्बरलाई किवर्डका रुपमा प्रयोग गर्यौँ । ‘बा १४ च ७५६४’ नम्बरलाई गुगलमा सर्च गर्दा केही नतिजा भेटिए । फेला परेका नतिजा माध्ये केही समाचार लिंकहरू रहेका छन् ।

जसमध्ये एउटा लिंक खोल्दा २०७३ फागुन २० गते प्रकाशित एउटा समाचार भेटियो ।उक्त समाचारमा चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा.हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण भएको जानकारी दिइएको छ । उक्त समाचारमा भनिएको छ – ‘कलेज परिसरमा डा.न्यौपाने चढेको बा १४ च ७५६४ नं को गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा.न्यौपाने सकुशल हुनुहुन्थ्यो ।’
Onlinemajdoor नामक अनलाइन माध्यममा प्रकाशित उक्त समाचारको स्रोत राष्ट्रिय समाचार समिति (रासस) रहेको छ ।

प्रस्तुत समाचारकै आधारमा हामी दोस्रो स्रोतको खोजिमा लाग्यौँ । यसका लागि हामीले ‘चितवन मेडिकल कलेज अध्यक्ष’, ‘गाडी तोडफोड’ लगायतका किवर्ड तयार पारेर गुगलमा सर्च गर्यौँ । किवर्ड सर्चको फलस्वरुप २०७३ माघ ११ गते प्रकाशित अर्को समाचार भेटियो । onlinekhabar मा प्रकाशित उक्त समाचार तस्बिरसहित प्रकाशित गरिएको छ ।
‘चितवन मेडिकल कलेजका निर्देशकको गाडी तोडफोड’ शीर्षकको उक्त समाचारमा चितवन मेडिकल कलेजका निर्देशक डा. हरिश न्यौपाने सवार १४ च ७५६४ नम्बरको ल्याण्ड क्रुजर गाडी अज्ञात समूहले तोडफोड गरेको जानकारी दिइएको छ ।
समाचारमा भनिएको छ- ‘दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूह गाडी तोडफोड गरी फरार भएको प्रत्यक्षदर्शीले बताए । गाडी तोडफोड गर्नेहरुको खोजी कार्य भैरहेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।’

हामीले फेला पारेका यी तथ्यबाट के प्रष्ट हुन्छ भने तस्बिरमा देखिएको गाडी कुनै सुकुम्बासीकाे होइन, चितवन मेडिकल कलेजका अध्यक्ष तथा निर्देशक डा. हरिश न्यौपानेको हो । त्यस्तै यो गाडी सुकुम्बासी आन्दाेलनका क्रममा तोडफोड गरिएको होइन, यो त आकस्मिक रुपमा गरिएको एउटा आक्रमण थियो ।
‘सुकुम्बासी आन्दाेलन’का क्रममा ‘सुकुम्बासीकाे कार ताेडफाेड’ गरिएको भन्ने दाबी गलत छ ।
निष्कर्ष
‘सुकुम्बासी आन्दाेलनका क्रममा एक जना सुकुम्बासीकाे कार ताेडफाेड भएकाे छ, न्याय खाेइ ?’ भन्दै तस्बिरसहित सामाजिक संजालमा फैलाइएको दाबी गलत छ । २०७३ सालमा घटेको घटनाको तस्बिरलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co