१ घण्टाअघि मात्र सामाजिक संजालमा पोस्ट गरिएको एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा एउटा अडियो पनि जोडिएको छ, जसमा गोली चलेक आवाज सुनिन्छ । काठमाडौँस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा ‘गोली हानाहान’ भएको दाबी यस सामग्रीमा गरिएको छ ।
bhandari999 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोसहितको सामग्रीमा मानिसहरू भागदौड गरिरहेको अवस्थामा देखिएका छन् । यही क्रममा कतैबाट धेरै गोलीहरू चलेको आजाव पनि आइरहेको छ र भिडियोको थमनेलमा ‘गोली हानाहान’ भएको जानकारी दिइएको छ ।
भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँ सुकुम्बासी बस्ती हटाउन खोज्दा गोली हानाहान ।’

दाबीसहितको प्रस्तुत सामग्री एक घण्टाअघि मात्रै पोस्ट गरिएको कारण यसको फैलावट व्यापक छैन । तर, समयसँगै उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिने सम्भावना प्रवल देखिन्छ । त्यसैले हामीले प्रस्तुत दाबीसहितको सामग्रीमाथि जाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
मंसिर १२ गते काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा झडप भयो ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए ।
सुकुम्बासी बस्ती हटाउन पुगेको महानगर प्रहरीको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेका थिए र उक्त झडपमा परी काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहित अन्य व्यक्तिहरू घाइते भएका थिए । त्यसपछि घटनास्थलबाट फर्किएको डोजरसहितको टोली यो सामग्री तयार पार्दासम्म उक्त बस्तीमा पसेको छैन ।
यही घटनाक्रमकैबीच सुकुम्बासी बस्ती हटाउन खोज्दा ‘गोली हानाहान’ भएको दाबीसहितको सामाग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । यसमाथि जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको मूल अंश पत्ता लगाउने कोशिस गर्यौँ ।
दाबीसहितको सामग्रीमा एउटा लोगो देखिएको छ । उक्त लोगोमा ‘Intertenment’ शब्दमात्रै हामीले बुझ्यौँ । यही आधारमा हामीले युट्युबमा ‘सुकुम्बासी intertenment’ वाक्यांश सर्च गर्यौँ । किवर्ड सर्चको परिणामस्वरुपमा हामीले FunFunny Entertainment नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पार्यौँ ।

‘सुकुम्बासी बस्तीमा Balen को टोलीमाथि ढुङ्गामुडा ! घाइते भएका राजु पाण्डे बोले मर्न पनि तयार छौ !’ शीर्षकसहित पोस्ट गरिएको भिडियोमा सुकुम्बासी बस्तीमा भएको झडपको दृश्य देखाइएको छ । तर, उक्त भिडियोमा गोली चलेको संकेतसमेत देखिँदैन ।
युट्युबमा च्यानलमा पोस्ट गरिएको मूल भिडियोलाई सरसर्ती हेर्दा त्यहाँ गोली चलेको आवाज सुनिएको छैन । तर, सोही दृश्यलाई काटेर टिकटकमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा भने गोली चलेको आजाव जोडिएको छ ।
यस तथ्यबाट के प्रष्ट हुन्छ भने गोली चलेको आवाज पछि टिकटकबाटै जोडिएको हो । सुकुम्बासी बस्तीमा भएको झडपमा गोली नचलेको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । युट्युब च्यानलमा पोस्ट गरिएको झडपको भिडियोलाई छाँटकाँट गरेर गोली चलेको आवाज जोड्दै भ्रामक सामग्री तयार पारेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
निष्कर्ष
काठमाडौँको सुकुम्बासी बस्ती हटाउन खोज्दा गोली हानाहान भएको दाबी गलत छ । झडपको भिडियोलाई छाँटकाँट गरेर गोली चलेको आवाज जोड्दै भ्रामक सामग्री तयार पारिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co