एउटा दृश्यसहितको सामाग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा मानिसहरू भागदौड गरिरहेका छन् । हालसालै गएको भूकम्पका रुपमा उक्त भिडियोलाई सामाजिक संजालमा प्रस्तुत गरिएको छ ।
Kingarjun· नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा एउटा सडक देखिएको छ र उक्त सडकमा सवारीसाधन तथा मानिसहरू आवतजावत गरिरहेका छन् । त्यतिकैमा मानिसहरूबीच भागदौड मच्चिएको र सवारीसाधनहरू सडकमै पल्टिएको दृश्य उक्त भिडियोमा देखिएको छ ।
प्रस्तुत सामग्रीको थमनेलमा दोलखा केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ-‘दोलखा केन्द्र बनाएर ६.० स्केलको भूकम्प ।’

मंगलबार पोस्ट (१३ डिसेम्बर) गरिएको दाबीसहितको प्रस्तुत सामग्रीमा करिब १९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब साढे एक सयले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या १२० भन्दा बढी रहेको छ ।
माथि उल्लेखित संख्यालाई मात्रै हेर्ने हो भने दाबीसहितको सामग्री फैलावटलाई गति ब्यापक रहेको छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने आगामी दिनमा दाबीसहितको उक्त सामग्री झनै द्रुत गतिमा फैलिनसक्छ । यही कारण हामीले प्रस्तुत दाबी र भिडियोमा देखिएको भयानक दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको सामग्रीमा सडकमै मानिसहरू भागदौड गरिरहेको दृश्य देख्न सकिन्छ । दोलखामा भूकम्प गएको भन्ने दाबीलाई सोही भिडियोलाई बलियोगरी टेको लगाएको देखिन्छ । यही कारण हामीले सबैभन्दा पहिले उक्त भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
भिडियोको वास्तविकता जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले भूकम्पसँग सम्बन्धित केही किवर्ड तयार पार्यौँ । तयार भएका किवर्डहरूलाई पालैपालो युट्युबमा सर्च गर्दै दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको खोजी गर्यौँ । यही क्रममा हामीले ‘earthquake nepal live footage’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।

सर्चको परिणामस्वरुप हामीले अनेक नतिजा फेला पार्यौँ । ती नतिजाहरूमध्यबाट एउटा नतिजा हामीलाई काम लाग्ने किसिमको देखियो । उक्त भिडियोको शीर्षक रहेको छ- ‘Nepal Earthquake CCTV footage of Dharahara, Sundhara’ । News24 Nepal नामक युट्युब च्यानलमा फेला परेको उक्त भिडियो सात वर्षअघि अर्थात् ३० जुलाई २०१५ मा पोस्ट गरिएको पाइयो । भिडियोसँग उक्त युट्युब च्यानलले भिडियोबारे जानकारीसमेत दिएको छ । उक्त भिडियो नेपालमा महाभूकम्प जाँदा सुन्धारास्थित धरहरा छेवैको सीसीटीभी फूटेजमा कैद भएको दृश्य हो ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दोलखामा ठूलो भूकम्प गएको भन्दै पछिल्लो समय सामाजिक संजालमा फैलाइएको दृश्य दोलखाको नभई काठमाडौँस्थित सुन्धाराको हो । उक्त भिडियो अहिलेको पनि होइन, सात वर्षअघि नेपालमा महाभूकम्प जाँदा उक्त दृश्य सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
अर्कोतर्फ राष्ट्रिय भूकम्प मापन केन्द्रको विवरण अनुसार पछिल्लो दुई साता यता दोलखा जिल्लामा केन्द्रबिन्दु बनाएर कुनै भूकम्पको झट्का महसुस भएको छैन । केन्द्रका अनुसार पछिल्लो पटक करिब ६ महिनाअघि अर्थात् २०७९ असार १८ गते दोलखामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्प ४.१ रेक्टरस्केलको रहेको भूकम्प मापन केन्द्रको विवरणमा उल्लेख छ ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दोलखामा भूकम्प गएको दाबीसहित हालसालै पोस्ट गरिएको सामग्री भ्रामक छ । पछिल्लो समय दोलखामा केन्द्रबिन्दू भएर गएको भूकम्पको झड्का महसुस गरिएको छैन भने अर्कोतर्फ दोलखामा भूकम्प गएको दाबीसहित फैलाइएको भिडियो सात वर्ष पहिले महाभूकम्प जाँदा काठमाडौँमा खिचिएको थियो ।
निष्कर्ष
दोलखामा भूकम्प गएको दाबीसहित हालसालै पोस्ट गरिएको सामग्री भ्रामक छ । दोलखामा भूकम्प गएको दाबीसहित फैलाइएको भिडियो सात वर्ष पहिले महाभूकम्प जाँदा काठमाडौँमा खिचिएको हो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
EARTHQUAKE MONITORING AND RESEARCH CENTER
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co