Wednesday, May 14, 2025

Fact Check

२०७४ सालको भाषण यसपटकको चुनावमा फैलाइयो, ओलीका लागि दाहालले भोट मागेको दाबी 

Written By Aakash Chhetri
Oct 28, 2022
banner_image

Claim

image

Fact

image

मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । नेपालका राजनीतिक दल र यसका नेताहरु चुनावी अभियानमा जुटिसकेका छन् । यही क्रममा राजनीतिक दलका शीर्ष नेताहरुले मतदाता समक्ष आफ्ना एजेन्डा राखेर धेरैभन्दा धेरै मत प्राप्त गर्नतिर लागेका छन् ।

यही क्रममा सामाजिक संजालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका भाषणका केही अंश जोडेर एउटा सामाग्री तयार पारिएको छ । adhikaribishnu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीको थमनेलमा पनि केही लेखिएको छ । 

थमनेलमा लेखिएको छ – ‘नेकपा एमाले, सूर्य चिन्ह माधव नेपाल र प्रचण्डको हो रे ! कमरेड केपी ओलीलाई जिताउनुपर्‍यो : प्रचण्ड’ ।

प्रस्तुत थमनेलसहितको सामाग्रीमा दाहाल र नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीबारे केही बोलेको सुनिन्छ । 

भिडियोको सुरुवातमा माधवकुमार नेपालले भनेका छन्- ‘नेकपा एमाले हाम्रो हो ।’

नेपालपछि दाहालले भनेका छन्- ‘सूर्य चिन्ह हाम्रै हुन्छ तपाईहरु लेखेर राख्नुहोस्, हामीबाट कसैले खोस्न सक्दैन ।’

त्यसपछि दाहालको अर्को भाषणको अंश जोडिएको छ । त्यसमा उनले भनेका छन् – ‘हुन त कांग्रेस धेरै अतालिएको छ, कांग्रेस अतालिएर कता-कता भौँतारिन पुगेको छ, कमरेड केपी ओलीलाई यति धेरै मतले जिताउनपर्‍यो ।’   

दुई दिनअघि मात्रै पोस्ट गरिएको प्रस्तुत सामग्रीमा २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २ सयभन्दा बढी प्रयोगकर्ताले प्रस्तुत सामग्रीलाई सेयर गरिसकेका छन् । 

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनकै मुखमा पोस्ट गरेको प्रस्तुत सामग्रीले विशेष राजनीतिक सन्देश दिएको छ । यदि प्रस्तुत सामग्री भ्रामक भए मतदाताको मनस्थितिमा गलत प्रभाव पर्नसक्ने भएकाले हाम्रोले प्रस्तुत सामग्रीको तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीमा जोडिएका भाषण अंशको वास्तविकता पत्ता लगाउने काम गर्‍यौँ । जसको लागि भिडियोमा पहिले देखिएको माधवकुमार नेपालको भाषणको पूरा अंश पत्ता लगाउने काममा जुट्यौँ । उक्त सामग्रीमा नेपालले ‘नेकपा एमाले हाम्रो हो’ भनेका छन् । 

मंसिर ४ गते हुने निर्वाचनमा माधवकुमार नेपाल नेकपा एमालेबाट होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्षका रुपमा प्रस्तुत भएका छन् । यही कारण दाबीसहितको सामग्रीमा देखिएको भाषण अंश पूरानो हो भन्ने आँकलनसहित उनले ‘नेकपा एमाले हाम्रो हो’ भन्ने अंशलाई हामीले युट्युबमा सर्च गर्‍यौँ ।  

फलस्वरुप Khabarhub युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । २३ मार्च २०२१ मा पोस्ट गरिएको उक्त उक्त भिडियो तत्कालीन नेकपा एमालेमा अन्तरद्वन्द हुँदा खिचिएको थियो । उक्त भिडियोमा थप जानकारीसमेत दिइएको छ ।

त्यो समय माधवकुमार नेपाल नेकपा एमालेका वरिष्ठ नेताका रुपमा थिए । आफू निकट विद्यार्थी संगठनले काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले उक्त कुरा बोलेका थिए । अहिले नेपालले एमालेबाट अलग्गिएर छुट्टै पार्टी गठन गरिसकेका छन् । 

पूरानो भाषणको अंशलाई छाँटकाँट गरेर आसन्न निर्वाचनमा उक्त भाषणलाई भ्रामक तरिकाले फैलाउन खोजिएको देखिन्छ ।

त्यस्तै दोस्रो भाषण अंशमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका छन्- ‘सूर्य चिन्ह हाम्रै हुन्छ तपाईहरु लेखेर राख्नुहोस्, हामीबाट कसैले खोस्न सक्दैन ।’ 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र भएको अन्तरद्वन्दका बेला दाहालले उक्त भाषण गरेका थिए तर अहिले दाहाल माओवादी केन्द्रका अध्यक्षको रुपमा निर्वाचनमा होमिएका छन् र उनको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा रहेको छ । 

प्रस्तुत भाषण अंशको मूल भिडियो पत्ता लगाउन हामीले युट्युबमा केही किवर्डसँगै भिडियोमा देखिएको सुनौलो नेपालको लोगोसमेत सर्च गर्‍यौँ । फलस्वरुप २१ जनवरी २०२१ मा पोस्ट गरिएको मूल भाषण फेला पर्‍यो । Sunaulo Nepal TV मा पोस्ट गरिएको उक्त भाषण पूरानो भएकाले अहिलेको सन्दर्भमा पोस्ट गर्दा भ्रामक बनेको छ । 

त्यस्तै अन्तिममा जोडिएको भाषण अंश पनि दाहालकै रहेको छ । उक्त भाषणको अंशमा उनले भनेका छन् – ‘हुन त कांग्रेस धेरै अतालिएको छ, कांग्रेस अतालिएर कता-कता भौँतारिन पुगेको छ, कमरेड केपी ओलीलाई यति धेरै मतले जिताउनपर्‍यो ।’   

मंसिर ४ गते हुने निर्वाचनको राजनीतिक समिकरण दाहालको उक्त भाषणसँग मेल खाइरहेको छैन । किनकि दाहालले नेपाली कांग्रेससँग मिलेर गठबन्धन बनाएका छन् र दाहालले नेतृत्व गरेको माओवादी केन्द्र उक्त गठबन्धनकै एउटा हिस्सेदार पार्टी हो । यसर्थ यस निर्वाचनमा दाहालको प्रधानशत्रुका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखा परेका छन् । 

तर, माथि सामाजिक संजालमा भर्खरै फैलाइएको भिडियोमा दाहालले ओलीलाई जिताउन आग्रह गरेको देखिन्छ । यही कारण हामीले उक्त भाषणको वास्तविकता पत्ता लगाउन खोज्यौ । जसका लागि उक्त भिडियोमा राखिएको 

Face Nepali नामक लोगोलाई युट्युबमा सर्च गर्‍यौँ ।

प्रस्तुत युट्युब च्यानलमै हामीले दाहालको भाषणको मुल अंश फेला पार्‍यौँ । तर, उक्त भिडियो ४ वर्ष अगाडि अर्थात् १९ नोभेम्बर २०१७ मा पोस्ट गरिएको पाइयो ।  

प्रस्तुत भिडियो पोस्ट गरिएको मिति हेर्दा यो अघिल्लो निर्वाचनका बेलाको रहेको प्रष्ट हुन्छ । २०७४ को निर्वाचनको राजनीतिक समिकरण यसपटकको भन्दा ठिक उल्टो थियो । तत्कालीन माओवादी केन्द्र र एमाले एउटै गठबन्धनमा थिए भने कांग्रेस अलग थियो । त्यस्तै प्रचण्डले तत्कालीन केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर उनको पक्षमा भोट मागिरहेका थिए । तर, अहिले माओवादी केन्द्र र कांग्रेस एउटै गठबन्धनमन छन् भने नेकपा एमाले फरक तरिकाले निर्वाचनमा होमिएको छ ।   

यसबाट के प्रष्ट हुन्छ भने फरक सन्दर्भका भाषण अंशहरुलाई वर्तमान सन्दर्भसँग जोडेर भ्रम फैलाउन खोजिएको छ ।

निष्कर्ष

पूराना र फरक सन्दर्भका भाषणका अंशलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा सुनिने कुनैपनि भाषण अहिलेका होइनन् र वर्तमान सन्दर्भसँग मेल पनि खाँदैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Khabarhub

Sunaulo Nepal 

Face Nepali


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage