सामाजिक संजालमा हालसालै पोस्ट गरिएको एउटा सामग्री फेला परेको छ । सामग्रीमा एउटा भिडियोको अंशसमेत जोडिएको छ र उक्त भिडियोमा मानिसहरू भागदौड गरिरहेको दृश्य देख्न सकिन्छ । यो भिडियोलाई निर्वाचनसँग जोड्दै पोस्ट गरिएको छ ।
BHANDARI काले नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मन्दिरहरू भएको एक ठाउँको दृश्य देखिएको छ र उक्त ठाउँमा धुलोसमेत उडिरहेको छ । उक्त दृश्यमा दृश्यमा मानिसहरू चिच्याउँदै कराउँदै भागिरहेकोसमेत देखिन्छ । सोही दृश्यसहितको सामग्रीमा ठूलो संख्यामा गोली चलेको आवाज पनि सुनिएको छ ।
प्रस्तुत दृश्यसहितको सामग्रीमा एउटा थमनेल पनि देखिन्छ । उक्त थमनेलमा लेखिएको छ – ‘चुनावको बेला यस्तो के भयो ।’

निर्वाचनलाई सन्दर्भ बनाएर पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्री २ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब ३० रहेको छ ।
निर्वाचन केन्द्रीत दाबीसहितको सामग्रीको फैलावट अहिले अति व्यापक छैन । तर, आगामी दिनमा यसको फैलावट व्यापक हुनसक्ने समभावना देखिन्छ । मानिसहरुबीच गोली चलेको र भागदौड मच्चिएको दाबीसहित फैलाइएको प्रस्तुत सामग्रीले यस निर्वाचनमा मतदान गर्ने मतदाताको मनस्थिति विथोल्न सक्छ । यही कारण हामीले दाबीसहितको सामग्रीमा देखिएको घटनाबारे तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
मंसिर ४ गते नेपालमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकै आइसकेको छ । निर्वाचनमा भाग लिएका नेपाली राजनीतिक दल र दल तथा स्वतन्त्र उम्मेदवारहरू निर्वाचनको अन्तिम प्रचारप्रसारमा जुटेका छन् ।
निर्वाचनको यही सन्दर्भमा भयानक घटना घटेको सन्देश दिनेगरी सामाजिक संजालमा भिडियोसहितको फैलाइएको छ । उक्त भिडियोमा गोली चलेको सुनिएको छ भने भिडियोमा मानिसहरु अताल्लिएर भागदौड गरिरहेको दृश्य देखिएको छ ।
प्रस्तुत दाबी, दृश्य र सन्दर्भको वास्तविकता पत्ता लगाउँन हामीले जाँच सुरु गर्दा सबैभन्दा पहिले भिडियोलाई प्रथामिकतामा राख्यौँ । हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको वास्तविकता जाँच गर्यौँ । जसको लागि पुन: एकपटक भिडियोलाई मसिनोगरी नियाल्यौँ ।
भिडियोलाई फेरि यसरी नियाल्दा त्यहाँ मानिहरू दौडिएर खुल्ला ठाउँमा आइपुगेको र भवनहरूबाट धुलो उडेको देखियो । त्यसपछि हामीले उक्त दृश्य भूकम्पको हुनसक्ने प्रारम्भिक अनुमान लगाउँदै केही किवर्ड तयार पार्यौँ ।
‘live earthquake nepal’ युट्युबमा सर्च गर्दा हामीले भूकम्पका विभिन्न भिडियोहरू प्राप्त गर्यौँ । जसमध्येको एउटा भिडियोलाई हामीले राम्ररी जाँच गर्यौँ । उक्त भिडियो BBC News को युट्युब च्यानलमा ७ वर्षअघि अर्थात् ३० अप्रिल २०१५ मा पोस्ट गरिएको देखिन्छ ।

भिडियोबारे जानकारी दिँदै बिबिसीले लेखेको छ- ‘नेपालको एउटा सहर भक्तपुरका पुरातात्विक मन्दिर भूकम्पले ध्वस्त भएको क्षणको एक एमेच्योर भिडियो सार्वजनिक भएको छ।’
जाँचका क्रममा फेला परेको प्रस्तुत दृश्य दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य अंशसँग मिलेको देखियो । हामीले थप जाँच गर्दा के प्रष्ट हुन्छ भने यही युट्युब भिडियोको एउटा अंशलाई छाँटकाँट गरेर दाबी र गोली चलेको अडियोसहित सामाजिक संजालमा पोस्ट गरिएको हो ।
जाँचबाट यत्ति तथ्य प्राप्त भएपछि सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक हो भन्ने पुष्टि हुन्छ । सात वर्षअघिको फरक सन्दर्भको भिडियोलाई निर्वाचनको सन्दर्भमा गोली चलेको अडियोसहित भ्रामक तरिकाले फैलाइएको पाइयो ।
निष्कर्ष
दाबीसहितको सामग्रीमा देखिएको भिडियो सात वर्ष पहिले नेपालमा भूकम्प जाँदा भक्तपुरमा खिचिएको हो । यस निर्वाचनको सन्दर्भमा भक्तपुरमा गोली चलेको छैन । गोली भलेको अडियो र भूकम्पको वर्षौँ पूरानो भिडियोलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co