Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ, भन्छन् मैले सहकारी ठगेको छैन’ ।
तथ्य: कुनैपनि निकायले जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ परेको जानकारी सार्वजनिक गरेका छैनन् ।
नेपालमा सहकारी बचत अपचलनका आरोपी जीबी राई सम्बन्धी केही पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा ‘जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ’ परेको दाबी गरिएको छ ।
Nt.pakhrin42 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा जीबी राई पक्राउ परेको सन्देश दिने तस्बिर जोडिएको छ । १५ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा लेखिएको छ- ‘जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ, भन्छन् मैले सहकारी ठगेको छैन’ ।

पोस्ट भएको २४ घण्टामै प्रस्तुत सामग्रीमा दुई हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा एक सय चालिसभन्दा बढी पटक सेयर भइसकेको पोस्ट द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
त्यसैगरी सोही पोस्टर Krishna Prasad Sapkota नामक फेसबुक आइडीमा पनि पोस्ट गरिएको छ । १५ जुन २०२६ मा पोस्ट गरिएको सामग्री फेसबुकमा फैलिरहेको देखिन्छ ।

के जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ परेका हुन् त? दाबीसहित फैलिरहेको तस्बिरको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्ये एक हुन्, गितेन्द्रबाबु (जीबी) राई । उनी पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलस्थित सुप्रिम सहकारी लगायत विभिन्न सहकारी तथा गोर्खा मिडिया नेटवर्कसँग आबद्ध रहेका व्यक्ति हुन् ।
जीबी राईमाथि विभिन्न सहकारीका बचतकर्ताको रकम हिनामिना, सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा नेपालका विभिन्न अदालतमा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले राईलाई पक्राउ गर्न इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

१ असार २०८३ मा रुपन्देही जिल्ला अदालतले जीबी राई, रास्वपा सभापति रवि लामिछाने लगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको हो । यद्यपि, उनीमाथिको मुख्य सहकारी ठगीको मुद्दा भने कायमै छ।
जिल्ला अदालत रुपन्देहीको आदेश आएकै दिन ‘जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ’ परेको दाबी सामाजिक संजालमा पुन: पोस्ट गरिएको देखिन्छ । तर, जीबी राई मलेसियाबाट पक्राउ परेको दाबीलाई पुष्टि गर्ने विवरण फेला परेनन् ।
अर्कोतर्फ २०८० फागुनमा नेपाल सरकारले जीबी राई मलेसियामा लुकेर बसेको विश्वासका आधारमा उनलाई नेपाल फिर्ता गराउन मलेसिया सरकारलाई कूटनीतिक पत्र पठाएको समाचार सार्वजनिक भएको थियो ।

हालसालै संसद्मा जीबी राई पक्राउ नपरेको विषयमा प्रश्न उठेको थियो । १२ जेठ २०८३ मा प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राईका विषयमा सरकारसँग प्रश्न गरेका थिए ।
यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म नेपाल सरकारको कुनैपनि वा इन्टरपोलले जीबी राई पक्राउ परेको जानकारी सार्वजनिक गरेको छैन ।
थप जाँचका क्रममा जीबी राई पक्राउ परेको सन्देश दिने तस्बिरलाई एआई डिटेक्सन गर्यौँ । hivemoderation.com को एआई डिटेक्सन टुलको नतिजा अनुसार दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिर वास्तविक होइन । प्रस्तुत तस्बिर एआईबाट जेनेरेटेड गरेको सम्भाव्यता ९९.८ प्रतिशत देखिन्छ ।

फेला परेका तथ्यहरुले के प्रष्ट हुन्छ भने आजका मितिसम्म जीबी राई पक्राउ परेको जानकारी नेपाल सरकार, इन्टरपोल वा नेपाल प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला अदालत रुपन्देहीले जीबी राई लगायतमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएकै दिन सामाजिक संजालमा एआई जेनेरेटेड सामग्रीहरु पोस्ट गरेर भ्रामक दाबी फैलाइएको देखियो ।
नेपाल सरकार, नेपाल प्रहरी, इन्टरपोल वा अन्य निकायले जीबी राई मलेसियाको जोहोर बाहरुबाट पक्राउ परेको जानकारी सार्वजनिक गरेका छैनन् । साथै, दाबीसहित प्रसारित तस्बिर एआईबाट तयार गरिएको सम्भावना अत्यन्त उच्च रहेको एआई डिटेक्सन नतिजाले देखाएको छ । त्यसैले जीबी राई पक्राउ परेको भन्ने दाबी हालसम्म अपुष्ट तथा भ्रामक पाइयो ।
एआई डिटेक्सन, hivemoderation.com
समाचार, ekantipur.com
समाचार, bizmandu.com
समाचार, nagariknews.nagariknetwork.com
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]