दाबी: जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी ।
तथ्य: एसपी होबिन्द्र बोगटीले जीबी राई सिआइबीको गिरफ्तमा नरहेको जानकारी दिएका छन् । पुरानो र अस्पष्ट सन्देशसहितका भिडियोलाई जोडेर सामाजिक संजालमा भ्रामक दाबी फैलाइएको पाइयो ।
सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी गरिएको छ ।
breaking news nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा संचारकर्मी ऋषि धमला र जीबी राई लगायत देखिएको भिडियो जोडिएको छ । साथै भिडियोमा संचारकर्मी धमलाले ‘जीबी राई काठमाडौँमा’ भन्ने वाक्यांश बोलेका छन् ।
प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘जीबी राईलाई नेपाली सिआइबी प्रहरीले काठमाडौँबाट पक्राउ गर्यो आज’ ।

१४ सेप्टेम्बर २०१४ मा पोस्ट गरिएको भिडियोमा ३ हजार ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ ।
के जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो त? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष तथा गोर्खा मिडिया नेकवर्कका अध्यक्ष जीबी राई नेपाल प्रहरीको खोजी सूचीमा छन् । विभिन्न सहकारीको बचत अपचलन गरेको आरोप उनिमाथि लागेको छ ।
यही सन्दर्भमा जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी सामाजिक संजालमा फैलिरहेको छ । सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा जीबी राईले कुनै कार्यक्रममा सम्बोधन गर्न लागेको दृश्य जोडिएको छ ।
भिडियोमा ‘बोनस वितरण’ लेखिएको देख्न सकिन्छ । हामीले यही आधारमा ‘बोनस वितरण कार्यक्रम’ ‘GB Rai’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Nature Herbs International युट्युब च्यानलमा तीन वर्षअघि पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२५ मार्च २०२१ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- NH KES Bonus Distribution Ceremony at Yala Durbar Hotel GB Rai Chairman Nature Herbs International
प्रस्तुत पुरानो र फरक सन्दर्भको भिडियोलाई जीबी राई काठमाडौँबाट पक्राउ परेको दाबीसँग जोडिएको पाइयो ।
अर्कोतर्फ दाबीसहितको भिडियोमा संचारकर्मी ऋषि धमलाले ‘जीबी राई काठमाडौँमा’ भनेका छन् । प्रस्तुत भिडियो जाँचका लागि हामीले उनका पछिल्ला कार्यक्रमहरु नियाल्यौँ ।
जाँचको नतिजास्वरुप Prime Times HD युट्युब च्यानलमा संचारकर्मी धमलाको एउटा कार्यक्रम फेला पर्यो । ९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको उक्त भिडियोमा धमलाले पछिल्ला विभिन्न सन्दर्भबारे टिप्पणी गरेका छन् । साथै उक्त भिडियोमा उनले ‘जीबी राई काठमाडौँमा’ भन्ने वाक्यांशसमेत बोलेका छन् ।
संचारकर्मी ऋषि धमलाले ‘जीबी राई काठमाडौँमा’ भन्ने वाक्यांशको ब्याख्या गर्दै भनेका छन्-
हाम्रो देशमा, सहकारी ठगी प्रकरणमा मुछिएका, जनताका अर्बौं रकम अपचलन गरेर भागेका, बेपत्ता भएका जीबी राईं काठमाडौंमा । कसरी ? आजको कार्यक्रममा हामीले विषेश रुपमा चर्चा गर्न चाहन्छौं र तत्कालीन गृहमन्त्री रबि लामिछानेले भन्नुभएको थियो दुई महिना अगाडि मलेसियामा हुनुहुन्छ मैले पत्ता लगाइसकेँ अब नेपाल ल्याउन मात्र बाँकी छ भनेर उहाँले भन्नुभएको थियो तर अहिलेको गृहमन्त्री रमेश लेखकले एक शब्द पनि नबोलिकन कुटनीतिक रुपमा चातुर्यता प्रदर्शन गरेर जिबी राईलाई उहाँले कसरी काठमाडौँ ल्याउनु भो ? अब जीबी राई सार्वजनिक हुने । मलेसियामा भएका जीबी राई एकाएक काठमाडौंको कुनै एक गोप्य ठाँउमा । आज हामी यसबारे विशेष चर्चा गर्न चाहन्छौं । साचिँकै जीबी राई कहिले सार्वजनिक हुन्छन त अब ? सरकारले कहिले सार्वजनिक गर्छ त ? सिआइबीले साचिँकै अब चम्तकार गर्न लागेको हो ? सिआइबीका प्रमुख एआइजी दिपक थापाको चमत्कारीता हामी यसबारे पनि चर्चा गर्न चाहन्छौं । गृह मन्त्री रमेश लेखकको सक्रियता उहाँको क्षमता उपलब्धि । हामी यसबारे पनि विशेष खुलासा गर्न चाहन्छौं र साचिँकै जीबी राई अब काठमाडौँ आउँदै छन्, काठमाडौं आइसके, मलेसियाबाट कसरी आए ? धेरैको टिकाटिप्णी छ । कतिपय भन्छन् मलेसियामै छन्, कतिपय भन्छन् काठमाडौं आइसके अब सरकारले आज भोलिनै सार्वजनिक गर्दैछ, हामी यसबारेमा विशेष रुपमा चर्चा गर्न चाहन्छौं र गृह सचिवमा गोकर्णमणि दवाडीको इन्ट्री हुने बितिकै त्यहाँ पनि उपलब्धि भयो जीबी राईलाई सार्वजनिक गर्ने तयारी आजको कार्यक्रममा हामी जीबी राई प्रकरणको बारेमा चर्चा गर्न चाहन्छौँ ।
तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को भनाई भने फरक छ । थप जाँचका क्रममा हामीले जीबी राई पक्राउ परेको दाबीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीसँग जानकारी माग्यौँ । फोन सम्पर्कमा प्रवक्ता बोगटीले जीबी राई पक्राउ परेको भन्ने दाबी भ्रामक रहेको बताए । अहिलेसम्म सिआइबीको गिरफ्तमा जीबी राई आइनसकेको प्रष्ट पारे ।
निष्कर्ष
जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी भ्रामक छ । प्रवक्ता एसपी होबिन्द्र बोगटीले जीबी राई सिआइबीको गिरफ्तमा नरहेको जानकारी दिएका छन् । पुरानो र अस्पष्ट सन्देशसहितका भिडियोलाई जोडेर सामाजिक संजालमा भ्रामक दाबी फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Prime Times HD
भिडियो, Nature Herbs International
होबिन्द्र बोगटी, सिआइबी प्रवक्ता
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co