सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा प्रहरी र आन्दोलित भिडको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा मानिसहरूलाई नियमन्त्रणमा लिन प्रहरीले ३० राउण्ड गोली चलाएको दाबी गरिएको छ ।
Prabodhyadav नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा धुवाँ उडिरहेको दृश्य देखिएको छ । प्रस्तुत दृश्यमा मान्दोलित मानिसहरू र दलबलसहितको प्रहरी फोर्स देख्न सकिन्छ । साथै प्रहरीले चोली चलाइरहेको दृश्य पनि सोही सामग्रीमा जोडिएको छ ।
दाबीसहितको सामग्रीमा एउटा दाबीसहितको थमनेल राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘नियन्त्रणमा लिन प्रहरीले चलायो ३० राउण्ड गोली ।’
५ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पाँच दिनअघिकै घटना जसरी प्रस्तुत गरिएको दाबीसहितको सामग्री कहिलेको हो भन्ने जानकारी खुलाइएको छैन । यसबारेमा केही प्रतिक्रियासमेत आएका देखिएका छन्, केही प्रयोगकर्ताले घटनाबारे दुख व्यक्त पनि गरेको देखिन्छ ।

पछिल्लो केही दिनमा नेपालको राजधानीसँगै विभिन्न स्थानमा साना-ठूला प्रदर्शनहरू भइरहेका छन् । यही सन्दर्भमा आजभन्दा एक साताअघि राजधानीमा एउटा घटना घट्यो । यातायात मजदुरहरूले गरेको प्रदर्शनका क्रममा काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी र बालाजु क्षेत्रमा सोमबार दंगा भएको थियो । यही घटनाका कारण यातायात मजदुरहरूले देशव्यापी गर्ने भनेको आन्दोलन स्थगित गरेका थिए ।
आन्दोलन चलिरहेकै बेला ५ दिनअघि टिकटकमा दाबीसहितको सामग्री पोस्ट गरियो । उक्त सामग्रीमा एउटा भिडियो देख्न सकिन्छ र मानिसहरूलाई नियमन्त्रणमा लिन प्रहरीले ३० राउण्ड गोली चलाएको दाबी भिडियोको थमनेलमा छ । आन्दोलन चलिरहेकै समयमा प्रस्तुत दाबी सम्बेदनशी देखिन्छ, त्यसैले उक्त दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीसहितको सामग्रीमा घटनाको सन्दर्भ खुलाइएको छैन तर उक्त सामग्री यस्तो बेला पोस्ट गरियो जतिबेला नेपालको राजधानी काठमाडौँमा यातायात मजदुरहरूले आन्दोलन चर्काइरहेका थिए । यातायात मजदुरहरूको आन्दोलनले देशव्यापी चर्चासमेत कमायो ।
यही सन्दर्भमा पोस्ट गरिएको सामग्रीमा धुवाँ उडिरहेको र प्रहरीले ‘फायर’ खोलेको दृश्य देख्न सकिन्छ । यतिमात्र होइन, उक्त सामग्रीमा प्रहरीले ३० राउण्ड गोली चलाएकोसमेत दाबी गरिएको छ ।
काठमाडौँमा भइरहेको आन्दोलन र माथि उल्लेखित सामग्रीमा गरिएको दाबीलाई मध्यनजर गर्दै हामीले प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस थाल्यौँ । यसका लागि हामीले सबैभन्दा पहिले ‘प्रहरी र स्थानीय झडप’ भन्ने वाक्यांशलाई चयन गर्यौँ र यो वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
सर्चको परिणाम स्वरुप TV Annapurna नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पार्यौँ । २ वर्षअघि अर्थात् ४ जुलाई २०२० मा पोस्ट गरिएको उक्त युट्युब भिडियोको खोकनाको झडपसँग सम्बन्धित छ । भिडियोको शिर्षक छ- ‘खोकनाको रोपाइँमा प्रहरी र स्थानीयबासीबीच झडप’ । यो भिडियो माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियोसँग मिल्दो देखिन्छ ।
प्रस्तुत तथ्यका आधारमा हामीले ‘खोकनामा प्रहरी र स्थानीयबीच झडप’ भन्ने वाक्यांश तयार पार्यौँ । यो वाक्यांशलाई युट्युबमा सर्च गर्दा SAJHA NEPAL युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
२ वर्षअघि अर्थात् ४ जुलाई २०२० मा पोस्ट गरिएको प्रस्तुत भिडियोमा देखिएको दृश्य र माथि उल्लेखित दाबीसहितको सामग्रीमा देखिएको दृश्य एउटै देखिन्छ ।
उल्लेखित दाबीसहितको सामग्री र युट्युबमा फेला परेको सामग्रीलाई हामीले एक आपसमा राखेर जाँच गर्यौँ । भिडियोको २४ सेकेन्डमा राखिएको दृश्य र दाबीसहितको सामग्रीमा रहेको दृश्य एउटै देखिन्छ । भिडियोमा देखिएको बन्दुक, बन्दुकधारी प्रहरी र ती बन्दुकधारी प्रहरीले लगाएको हरियो रंगको मास्क एउटै छन् ।

प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने ५ दिनअघि टिकटकमा पोस्ट गरिएको दाबीसहितको भिडियो वर्तमान सन्दर्भको होइन । दुई वर्षअघि खोकनामा प्रहरी र स्थानीयबीच भएको झडपको दृश्यलाई वर्तमान सन्दर्भमा भ्रामक तरिकाले फैलाइएको पाइयो ।
बाँकि रह्यो, खोकनाको झडप । हामीले खोकनामा भएको झडपका विषयमा थप जाँच गर्यौँ । २० असार २०७७ मा ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत चलाएको थियो । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) खन्नका लागि सरकारले खोकनाको जमिन अधिग्रहणको सूचना निकालिसकेको थियो। तर, स्थानीयले आफ्नो जमिन नदिने भन्दै विरोध गरिरहेका थिए। त्यही क्रममा स्थानीयले संयुक्त रोपाइ कार्यक्रम राखेका थिए । सोही कार्यक्रमकै बिच प्रहरीले अवरोध गर्दा स्थानीय आक्रोशित भए र झडपमा उत्रिएका थिए ।
प्रस्तुत सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
वर्तमान सन्दर्भसँग जोड्दै ५ दिनअघि टिकटकमा पोस्ट गरिएको दाबीसहितको भिडियो वर्तमान सन्दर्भको होइन । दुई वर्षअघि खोकनामा प्रहरी र स्थानीयबीच भएको झडपको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक तरिकाले फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Onlinekhabar, २०७७ असार २०
TV Annapurna, ४ जुलाइ २०२०
SAJHA NEPAL, ४ जुलाइ २०२०
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]