दाबी: राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेको दाबी ।
तथ्य: वर्तमान सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेका छैनन् । दुई वर्ष पूरानो सन्दर्भको घटना र भिडियोलाई वर्तमान सन्दर्भमा फैलाइएको पाइयो ।
केही दिनअघि सामाजिक संजालमा पोस्ट गरिएको एउटा सामग्री फेला परेको छ, उक्त सामग्रीमा नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेको दाबी गरिएको छ ।
Rajendra Bohara नामक टिकटक आइडीमा पाँच दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा दृश्यांश देख्न सकिन्छ । उक्त दृश्यमा प्रहरीको एउटा टोलीलाई दलबलसहित देख्न सकिन्छ । उक्त प्रहरीहरूको भिडमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत देखिएका छन् ।
भिडियोसँगै देखिएको थमनेलमा पनि रामचन्द्र पौडेल पक्राउ परेको दाबी गरिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘रामचन्द्र पौडेल पक्राउ परेको भिडियो, जनता अब लाटा छैनन् एक-एक हिसाब हुनुपर्छ ।’

५ दिनअघि पोस्ट गरिएको र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेको दाबी गर्ने सामग्रीमा २० हजार भन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ७ सय प्रतिक्रिया आइसकेको उक्त सामग्रीलाई ४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताल सेयर गरिसकेका छन् । यस तथ्यबाट बाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा उल्लेखित दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।
राष्ट्रपति पदमा रहेको व्यक्ति नै पक्राउ परेको दाबी गर्ने प्रस्तुत सामग्री अत्यन्तै संवेदनशील छ । त्यसैले पनि पोस्ट गरिएको ५ दिनमै दाबीसहितको फैलावट व्यापक देखियो । यस संवेदनशील सामग्रीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
६ बैशाख २०८० मा राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो उपचारका लागि भारततर्फ लागेका थिए । भारत जानुअघि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा क्रमिक सुधार नआएपछि राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भरतको नयाँ दिल्ली पुर्याइएको थियो ।
नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल १७ बैशाखमा स्वदेश फिर्ता भए । दुई दिनअघि मात्रै स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेको दाबीसहितको सामग्री पाँच दिनअघि नै सामाजिक संजालमा पोस्ट भएको देखिन्छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने रामचन्द्र पौडेल पक्राउ परेको दाबी गर्ने सामग्री पोस्ट भइरहेको समयमा राष्ट्रपति पौडेलको उपचार भारतमा भइरहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका दाबीसहितको सामग्री पोस्ट गरिएका कारण स्वभाविक रुपमा उक्त सामग्रीमा देखिने भिडियोको सन्दर्भबारे प्रश्न उठ्छ ।
फेला परेका स्रोतहरूका आधारमा हामीले भिडियोको मूल स्रोत जाँच गर्ने कामतिर लाग्यौँ । यही क्रममा सबैभन्दा पहिले युट्युबमा ‘रामचन्द्र पौडेल पक्राउ’ भन्ने वाक्यांश सर्च गर्यौँ । सर्चका थुप्रै नतिजामध्ये Setopati संचार माध्यमको युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियोमा हाम्रो नजर पर्यो ।
दुई वर्षअघि अर्थात् २ डिसेम्बर २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेको जानकारी दिइएको छ ।
प्रस्तुत युट्युब सामग्रीमा देखिएको दृश्य र माथि दाबीसहितको सामग्रीमा देखिएको दृश्य एउटै छ । त्यसैले यही भिडियोमा दिइएको जानकारीका आधारमा हामीले थप जाँच अगाडि बढायौँ ।
‘रामचन्द्र पौडेल पक्राउ’ भन्ने वाक्यांशलाई गुगलमा सर्च गर्दा ekantipur प्रकाशित एउटा समाचार फेला पर्यो । १७ मंसिर २०७७ मा प्रकाशित उक्त समाचारको शीर्षक छ- ‘कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा’ । तनहुँस्थित दमौलीमा पुल उद्घाटन गर्न पुगेका कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको जानकारी समाचारले दिएको छ ।
व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको सुचना दिने समाचारको एउटा अंश यस्तो छ-
सत्तारूढ नेकपानिकट राष्ट्रिय युवा संघ पुल उद्घाटन कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएपछि त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो । पौडेलबाट उद्घाटन गराउने कार्यक्रम भने बुधबार दिउँसो १ बजेलाई तय गरिएको थियो । अकस्मात् जारी निषेधाज्ञा तोड्दै पौडेल पुल उद्घाटन गर्न हिँडेपछि तालघरेबाट उनलाई पक्राउ गरिएको थियो । नारा–जुलुससहित पुलनजिकै पुगेका कांग्रेस कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप पनि भएको थियो । त्यस क्रममा नेता पौडेल, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेसहित एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।
दुई वर्ष पूरानो भिडियोलाई भ्रामक भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको तथ्य माथि उल्लेखित स्रोतहरूबाट पुष्टि भइसकेको छ ।
निष्कर्ष
वर्तमान सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेका छैनन् । दुई वर्ष पूरानो सन्दर्भको घटना र भिडियोलाई वर्तमान सन्दर्भमा फैलाइएको पाइयो । पूरानो भिडियोलाई वर्तमान सन्दर्भ बनाएर सामाजिक संजालमा फैलाउँदा त्यसले भ्रामक सन्देश दिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Ekantipur
Setopati
Nayapatrikadaily
Ratopati
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co