Fact Check
केपी शर्मा ओलीतर्फ संकेत गर्दै पोस्ट गरिएका भिडियोले दिए गलत सन्देश

दाबी: केपी शर्मा ओली पक्राउ परेको संकेत गर्दै केही पोस्टहरु फैलाइएको छ ।
तथ्य: केपी शर्मा ओली पक्राउ परेका भन्ने दाबी गलत छ । ओलीलाई कुनैपनि निकायले पक्राउ गर्न आदेश दिएको प्रमाणित हुँदैन ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित केही सामग्रीहरु सामाजिक संजाल टिकटकमा फैलिरहेका छन् । यस्ता सामग्रीमा केपी शर्मा ओली पक्राउ परेको दाबी गरिएको छ ।
Karansaud350 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा गाडी देखिने तस्बिर जोडिएको छ । साथै थमनेलमा ‘ओली पक्राउ, Breaking News’ लेखिएको छ ।

त्यसैगरी ashishrunforulife र sujan123 नामक टिकटक आइडीमा पनि उस्तै संकेत गरिएको छ । २३ अक्टोबर २०२५ मा पोस्ट गरिएको सामग्रीमा केपी शर्मा ओली देखिने दृश्य जोडिएको छ । यो दृश्यले केपी शर्मा ओली पक्राउ परेको संकेत गरेको छ ।
के पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका हुन् त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।

तथ्यजाँच/प्रमाणीकरण
नेपालमा जेनजी प्रदर्शन चर्किएपछि ९ सेप्टेम्बर २०२५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । आन्दोलनले सत्ता परिवर्त गरेपछिको सन्दर्भमा केपी शर्मा ओली पक्राउ परेको दाबी गर्ने सामग्रीहरु सामाजिक संजालमा फैलिरहेको देखिन्छ ।
दाबीसहितका पोस्टहरुको जाँचका क्रममा, हामीले सबैभन्दा पहिले रिभर्स इमेज सर्च जस्ता सामान्य टुलको प्रयोग गर्यौँ । जाँचको नतिजास्वरुप जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्की शीतल निवासबाट बाहिरिँदै गर्दाका दृश्यहरु भेटिए । उक्त भिडियो Mountain Television HD र nepalartha.com लगायतका फेसबुक पेजमा पनि पोस्ट गरिएको देखिन्छ ।

१२ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्रीको सवारीको दृश्य देख्न सकिन्छ । २७ भदौ २०८२ मा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आफ्नो शपथ सकेर राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएकी छिन् । यही सन्दर्भमा खिचिएको भिडियोको एउटा दृश्यमा ‘ओली पक्राउ’ लेखेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
फेला परेका तथ्यहरुले के पुष्टि गर्दछन् भने प्रधानमन्त्री सुशीला कार्कीको सवारीसँग सम्बन्धित दृश्यलाई केपी शर्मा ओलीतर्फ संकेत गर्दै सामाजिक संजालमा फैलाउन खोजिएको छ ।
अर्कोतर्फ, केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको सत्य हो । नेपालका संचार माध्यममा प्रकाशित समाचार अनुसार जेनजी आन्दोलनका क्रममा गोली लागेर युवाहरूको मृत्यु भएको घटनामा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले केपी शर्मा ओलीविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका छन् ।
यही सन्दर्भमा, केपी शर्मा ओलीले सार्वजनिक रुपमै कामचलाउ सरकारले ‘पर्याप्त आधार बिना आफूलाई पक्राउ गर्ने प्रयास गरेको अभिव्यक्ति दिइरहेका छन् । तर, जेनजी प्रदर्शनपछि ओलीविरुद्ध कुनैपनि निकायले पक्राउपुर्जी जारी गरेको पाइएन (यो तथ्यजाँच तयार पार्दासम्म) । साथै, ओली पक्राउ परेको दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य उपलब्ध छैनन् ।

अर्कोतर्फ केपी शर्मा ओलीले बहिनीहरूको हातबाट तिहार २०८२ सालको भाइटीका ग्रहण गरेको पुष्टि हुन्छ । तर, यसअघि नै ओली पक्राउ परेको संकेत गर्ने सामग्रीहरु सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
केपी शर्मा ओली जेनजी आन्दोलनपछि भक्तपुरको गुण्डुमा बसिरहेका छन् । उनी पक्राउ परेको दाबी यो सामग्री तयार पार्दासम्म पूर्णत् गलत छ । अर्कोतर्फ PixVerse एपबाट तयार पारिएको एआई जनरेटेड दृश्यलाई वास्तविक जसरी भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।

निष्कर्ष
केपी शर्मा ओली पक्राउ परेका भन्ने दाबी गलत छ । ओलीलाई कुनैपनि निकायले पक्राउ गर्न आदेश दिएको प्रमाणित हुँदैन । सामाजिक संजाल फैलिएका पोस्टहरू भ्रामक र गलत तरिकाले एट्रीब्युट गरिएका छन् । फरक सन्दर्भका केही वास्तविक दृश्यलाई गलत सन्दर्भमा प्रयोग गरी पोस्ट गरिएको छ र गलत दाबीमा केही एआई जनरेटेड दृश्यहरुसमेत प्रयोग गरिएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
भिडियो, Mountain Television HD
भिडियो, nepalartha.com
समाचार, indiatoday.in
समाचार, prasashan.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

