Fact Check
के हालसालै कतारका राजा र चीनका राष्ट्रपति नेपाल आउन लागेका हुन्?

दाबी: कतारका राजा र चीनका राष्ट्रपति नेपाल आउने भएपछि सरकारले सार्वजनिक विदा दिएको दाबी, समाचार अंश ।
तथ्य: पुराना समाचार क्लीपहरूमा सन्दर्भ, मिति र समय उल्लेख नगरी पुराना सामग्रीलाई नयाँजस्तो बनाएर टिकटकमा पोस्ट गरिएको पाइयो ।
सार्वजनिक विदासँग सम्बन्धित केही समाचार क्लीपहरु सामाजिक संजालमा फैलिरहेको छन् । उक्त समाचार क्लीपहरुमा कतारका राजा र चीनका राष्ट्रपति नेपाल आउने भएपछि सरकारले सार्वजनिक विदा दिएको जानकारी दिइएको छ ।
Kushalchhetry823 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भेटिभिजन प्रस्तोताले समाचार वाचन गरिरहेको दृश्य जोडिएको छ । २८ नोभेम्बर २०२५ मा पोस्ट गरिएको समाचार क्लीपको थमनेलमा लेखिएको छ- ‘सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ, विद्यार्थीहरुलाई खुसीको खबर, चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सरकारले सार्वजनिक विदा दिन लागेको हो ।’

प्रस्तुत सामग्री पोस्ट भएको एक दिनमै १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा उक्त सामग्री एक हजार सात सयभन्दा बढीपटक सेयर भइसकेको देखिन्छ ।
त्यसैगरी सोही टिकटक आइडीमा सार्वजनिक विदासँग सम्बन्धित अर्को समाचार क्लीप पनि पोस्ट भएको देखिन्छ ।
२३ नोभेम्बर २०२५ मा पोस्ट गरिएको उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘कतारका राजा भोलि मंगरबार नेपाल आउने भएपछि सार्वजनिक विदा दिने सरकारको निर्णय ।’

प्रस्तुत दुबै सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेका छन् । विद्यार्थीहरुलाई खुसीको खबर भन्दै पोस्ट गरिएका यी समाचार क्लीपहरु वर्तमान सन्दर्भका हुन् त? समाचारको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सार्वजनिक विदा सम्बन्धि समाचारको जाँचका क्रममा हामीले सबैभन्दा पहिले चीनका राष्ट्रपति र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको भन्ने दाबीको प्रमाणिकरण गर्ने कोशिस गर्यौँ । तर, सरकारको कुनैपनि निकायबाट यस दाबीको पुष्टि भएन ।
थप जानकारी संकलनका क्रममा ‘चिनियाँ राष्ट्रपति’ ‘नेपाल भ्रमण’ ‘सार्वजनिक विदा’ वाक्यांशलाई जाँच गर्यौँ । जाँचको नतिजास्वरुप setopati.com र shilapatra.com लगायतका नेपाली संचार माध्यममा प्रकाशित पुराना समाचार फेला परे ।
२०७६ असोजमा प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । २५ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी नेपाल आएका थिए । सोही सन्दर्भमा मन्त्रिपरिषद्ले सार्वजनिक विदाको निर्णय गरेको थियो ।
पुराना सन्दर्भका समाचारहरु फेला परेपछि, दाबीसहित पोस्ट गरिएको समाचार क्लीपको मूल अंश खोज्नतिर लाग्यौँ । उक्त समाचार क्लीपमा न्युज ट्वान्टी-फोर टेलिभिजन लोगोसमेत देख्न सकिन्छ । यही आधारमा हामीले पुरानो समाचारहरु जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप News24 Nepal युट्युब च्यानलमा पोस्ट गरिएको पुरानो भिडियो रिपोर्ट फेला पर्यो । ११ अक्टोबर २०१९ मा पोस्ट गरिएको उक्त समाचारको शिर्षकमा लेखिएको छ- ‘आइतबार सार्वजनिक बिदा दिने निर्णय’
फेला परेको सोही पुरानो सन्दर्भको समाचारलाई वर्तमान समयमा पोस्ट गरिएको देखियो । सन्दर्भ र मिति लुकाएर सामाजिक संजालमा फैलाइएको भिडियो क्लीपले भ्रामक सन्देश प्रवाह गरेको पाइयो ।
अर्कोतर्फ कतारका राजा नेपाल आउन लागेको र सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको समाचार क्लीपसमेत पुरानो सन्दर्भको रहेको पाइयो । gorkhapatraonline.com र ekantipur.com लगायतका नेपाली समाचार माध्यममा प्रकाशित पुराना समाचारमा कतारका अमिर (राजा) नेपाल भ्रमणमा आउन लागेको उल्लेख छ ।
२०८१ वैशाखमा प्रकाशित समाचार अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी नेपाल आएका थिए । ११ वैशाख २०८१ मा कतारका अमिर अल थानी नेपाल भ्रमणमा आएपछि सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोहि सन्दर्भमा दिइएको सार्वजनिक विदासँग सम्बन्धित समाचारलाई न्युज ट्वान्टी-फोर टेलिभिजनले प्रशारण गरेको थियो । सोही समाचारको पुरा अंश News24 Nepal नामक युट्युब च्यानलमा देख्न सकिन्छ । २२ अप्रिल २०२४ मा पोस्ट गरिएको समाचारहरुको एउटा अंशलाई वर्तमान समयमा पोस्ट गरिएको पाइयो ।
फेला परेका तथ्यहरुबाट के प्रमाणित हुन्छ भने, पुराना समाचार क्लीपहरुलाई सन्दर्भ र मिति लुकाएर सामाजिक संजालमा पोस्ट गरिएको छ । विद्यार्थीहरुलाई खुसीको खबर भन्दै पोस्ट गरिएका यस्ता क्लीपहरुले अतिरंजित सूचना प्रवाह गरेका छन् ।
निष्कर्ष
चीनका राष्ट्रपति र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको र र सरकारले सार्वजनिक विदा दिने निर्णय गरिसकेको भन्ने दाबीहरु भ्रामक छन् । दुवै भिडियो/समाचार क्लीपहरूमा सन्दर्भ, मिति र समय उल्लेख नगरी पुराना सामग्रीलाई नयाँजस्तो बनाएर टिकटकमा पोस्ट गरिएको पाइयो । अर्कोतर्फ चीनका राष्ट्रपति र कतारका अमिर हालसालै नेपाल भ्रमणमा आउन लागेका छैनन् ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, News24 Nepal
समाचार, gorkhapatraonline.com
समाचार, ekantipur.com
समाचार, setopati.com
समाचार, shilapatra.com
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

