Fact Check
सार्वजनिक विदाको पुरानो समाचार भाइरल, तर छैन विदा

दाबी: सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरुको सम्झनामा शोक दिवस मनाएर सार्वजनिक विदा दिने निर्णय गरेको समाचार ।
तथ्य: भिडियोमा देखिएको समाचार वास्तवमा ३० कार्तिक २०८२ मा पोस्ट भएको थियो । त्यो बेला सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय (१ असाेज २०८२) गरेको थियो ।
सार्वजनिक विदा सम्बन्धी समाचार क्लिपहरु सामाजिक संजालमा फैलिनेक्रम जारी छन् । यही बेला पोस्ट गरिएको भाइरल भिडियोमा सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरुको सम्झनामा शोक दिवस मनाएर सार्वजनिक विदा दिने निर्णय गरेको दाबी गरिएको छ ।
Kushalchhetry823 नामक टिकटक आइडीमा समाचार क्लिप जोडिएको छ । ९ डिसेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा बुधबार सार्वजिक विदा हुने जानकारी दिइएको छ ।

भिडियोमा समाचार प्रस्तोताले भनेका छन् ‘बुधबार देशभर सार्वजनिक विदा हुने भएको छ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा सरकारले शोक दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।’
पोस्ट भएको एक दिनमै भिडियो क्लिपलाई २३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब ४ हजार सेयर भएको भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ ।
त्यस्तै केही घण्टामै सार्वजनिक विदाको समाचार अडियोबाट १० भन्दा बढी सामग्री पुनर्उत्पादन गरिएको देखिन्छ । प्रस्तुत तथ्यांकले के प्रष्ट पार्छ भने प्रस्तुत दाबीसहितको भिडियो सामाजिक संजालमा व्यापक फैलिसकेको छ ।

के सरकारले हालसालै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरुको सम्झनामा शोक दिवस मनाएर सार्वजनिक विदा दिने निर्णय गरेको थियो त? भइरल समाचार क्लिपको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सार्वजनिक विदा सम्बन्धी समाचार क्लिपको जाँचका क्रममा सबैभन्दा पहिले हामीले ‘जेनजी आन्दोलन’ मृत्यु हुने’ ‘शोक दिवस’ ‘सार्वजनिक विदा’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचको नतिजास्वरुप नेपालका केही अनलाइन संचार माध्यममा प्रकाशित पुराना समाचारहरु फेला परे ।
३० भदौ २०८२ मा प्रकाशित समाचारमा असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिइएको छ । नयाँ पत्रिका डटकममा प्रकाशित समाचारको शिर्षक छ- ‘असोज १ गते राष्ट्रिय शोक मनाइने, सार्वजनिक बिदा हुने’ ।

त्यस्तै अनलाइन खबर डटकममा प्रकाशित समाचारको लिड लाइनमा यस्तो लेखिएको छ- ‘सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।’
यही क्रममा हामले भाइरल समाचार क्लीपको वास्तविकता जाँच गर्यौँ । भिडियोमा अर्थ खबर लेखिएको लोगो देख्न सकिन्छ यही आधारमा हामीले अर्थ खबरको फेसबुक फेज ArthaKhabar मा पोस्ट गरिएका पुराना समाचारहरुको जाँच गर्यौँ । नतिजास्वरुप १६ सेप्टेम्बर २०२५ मा पोस्ट भएको समाचार फेला पर्यो ।
समाचार पोस्ट भएको भोलिपल्ट अर्थात् १ असोज २०८२ मा सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा देशभर राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको थियो– ‘भदौ २३ र २४ गते जेन–जी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि स्वरूप असोज १ गते नेपालका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको जानकारी गराइएको थियो ।’
फेला परेका तथ्यहरुले के प्रष्ट पार्छन् भने हालसालै भाइरल भिडियो क्लिप पुरानो र फरक सन्दर्भको समाचार अंश हो ।
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरुको सम्झनामा शोक दिवस मनाएर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिने समाचार अंश वर्तमान समय भाइरल भएको छ । तर, बुधबार (यो तथ्यजाँच पोस्ट भएको दिन) सार्वजनिक विदा छैन ।
निष्कर्ष
हालसालै भाइरल भइरहेको क्लिप पुरानो समाचार अंश हो, भिडियोमा देखिएको समाचार वास्तवमा ३० कार्तिक २०८२ मा पोस्ट भएको थियो । त्यो बेला सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय (१ असाेज २०८२) गरेको थियो । बुधबार (यस तथ्यजाँच प्रकाशित भएको दिन) सरकारले कुनै सार्वजनिक विदा घोषणा गरेको छैन ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
पुरानो समाचार, ArthaKhabar
नयाँ पत्रिका डटकममा प्रकाशित समाचार, nayapatrikadaily.com
अनलाइन खबर डटकम प्रकाशित समाचार, onlinekhabar.com
सार्वजनिक विदा भएको दिन समाचार, shilapatra.com
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

