Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: आगामी माघ १५ गतेसम्मका लागि देशभरका विद्यालयहरु बन्द हुन लागेको दाबी, भिडियो समाचार अंश
तथ्य: देशभरका विद्यालयहरु बन्द हुन लागेको समाचार अंशहरु वर्तमान समयका होइनन्, २०७८ सालमा कोभिड–१९ संक्रमण बढेका बेला प्रकाशित पुराना समाचार रिपोर्टका अंश हुन् ।
नेपालमा पछिल्लो समय सार्वजनिक विदासँग सम्बन्धित थप पोस्टहरु टिकटकमा फैलिरहेका छन् । फेला परेका पछिल्ला पोस्टहरुमा आगामी माघ १५ गतेसम्मका लागि देशभरका विद्यालयहरु बन्द हुन लागेको दाबी गरिएको छ ।
Kushalchhetry823 नामक टिकटक आइडीमा कान्तिपुर टेलिभिजनको समाचार अंश जोडिएको छ । साथै समाचारमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले लामो सार्वजनिक विदा दिएको जानकारी दिइएको छ ।

१६ डिसेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा समाचार प्रस्तोताले भनेकी छन्- ‘सरकारले भोलिबाट १९ दिन देशभरका विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर भोलिदेखि माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने र यस अवधिमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।’
दाबीसहितको भिडियोमा साढे ३५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ४ हजार पटक सेयर भएको भिडियोलाज्ञ १५ लाखभन्दा बढी पटक हेरिएको छ ।
त्यसैगरी १८ डिसेम्बर २०२५ मा पोस्ट गरिएको अर्को भिडियोमा पनि सोही दाबी गरिएको छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।’
पोस्ट भएको केही दिनमै दाबीसहितको भिडियोमा ८ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ४ हजार सेयर भएको भिडियो लाखौँपटक हेरिएको छ । प्रस्तुत तथ्यांकले देखाउँछ कि दाबीसहितको भिडियो द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको छ ।

के आगामी माघ १५ गतेसम्मका लागि देशभरका विद्यालयहरु बन्द हुन लागेको जानकारी सत्य हो त? भाइरल समाचार अंशको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको दृश्यलाई राम्ररी नियाल्यौँ, उक्त दृश्यमा कान्तिपुर टेलिभिजनको लोगो र प्रस्तोतालाई देख्न सकिन्छ । यही आधारमा हामीले ‘१९ दिन विद्यालय बन्द’ लगायतका वाक्यांशहरुको जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप Kantipur TV HD मा पोस्ट गरिएको पुरानो समाचार फेला पर्यो । १० जनवरी २०२२ मा पोस्ट गरिएको उक्त समाचारको शिर्षक छ- ‘१९ दिन देशभरका विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा भने नरोकिने’
थप जाँच गर्दा २०७८ पुसमा कोरोनाको संक्रमण बढेपछि अत्कालीन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसकै आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १९ दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
२६ पुष २०७८ मा शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको समाचारहरु onlinekhabar.com र prasashan.com लगायतका संचार माध्यममा प्रकाशित भएको पाइयो ।
फेला परेको तथ्यले के प्रष्ट पार्छ भने तीन वर्ष पुरानो समाचार रिपोर्टको अंशलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ । पुरानो समाचार अंशलाई पोस्ट गर्न सन्दर्भ र मितिसमेत लुकाइएको पाइयो ।
अर्कोतर्फ दाबीसहितको दोस्रो भिडियोमा पनि ‘शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको’ दाबी गरिएको छ । प्रस्तुत भिडियोमा नेपाल लाइभ संचार माध्यमको लोगोसमेत देख्न सकिन्छ ।
भिडियोको जाँचका क्रममा हामीले नेपाल लाइभमा २०७८ पुसमा पोस्ट गरिएका भिडियो समाचारहरु खोज्यौँ । जाँचको नतिजास्वरुप Nepal Live फेसबुक पेजमा पोस्ट गरिएको पुरानो भिडियो समाचार फेला पर्यौँ ।

१० जनवरी २०२२ मा पोस्ट गरिएको भिडियो समाचारमा र वर्तमान समयमा पोस्ट गरिएको क्लिपबीच समानता देख्न सकिन्छ ।
२६ पुस २०७८ मा प्रकाशित समाचार अनुसार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सोही पुरानो र फरक सन्दर्भको समाचारलाई सन्दर्भ लुकाएर वर्तमान सन्दर्भमा पोस्ट गरिएको देखियो ।
पछिल्लो समय नेपालमा २०७८ साल जस्तो कोभिड महामारीको कुनै लहर देखिएको छैन । अर्कोतर्फ सरकारले १९ दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको र गर्न लागेको जानकारी कुनैपनि निकायबाट प्रमाणित हुन सकेन ।
आगामी माघ १५ गतेसम्मका लागि देशभरका विद्यालयहरु बन्द हुन लागेको समाचार अंशहरु वर्तमान समयका होइनन्, २०७८ सालमा कोभिड–१९ संक्रमण बढेका बेला प्रकाशित पुराना समाचार रिपोर्टका अंश हुन् । जसलाई मिति र सन्दर्भ लुकाएर वर्तमान अवस्था जस्तो देखिने गरी पुनः पोस्ट गरिएको पाइयो। अर्कोतर्फ सरकारले वर्तमान समयमा १९ दिन देशभरका विद्यालय बन्द गर्ने कुनै नयाँ निर्णय गरेको भन्ने जानकारी कुनै पनि सम्बन्धित निकायबाट पुष्टि हुन सकेन । त्यसैले, विद्यालय बन्द हुने दाबी गर्दै फैलाइएका भिडियोहरूले भ्रामक सन्देश प्रवाह गरेका छन् ।
भिडियो, Kantipur TV HD
भिडियो, Nepallive
समाचार, onlinekhabar.com
समाचार, prasashan.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]