Fact Check
दार्जीलिङका पार्टीले नगरेको घोषणा नेपालमा भाइरल, के भारतीय गोर्खाहरुले यस्तो घोषणा गरेका हुन्?

दाबी: आफूहरु नेपालमा मिल्न तयार रहेको दार्जीलिङका विभिन्न पार्टीको घोषणा ।
तथ्य: दार्जीलिङलाई पश्चिम बंगालबाट अलग गर्ने, छुट्टै राज्य बनाउने वा सिक्किमसँग गाभ्ने जस्ता मागबारे दिइएका अभिव्यक्तिलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
दार्जीलिङ केन्द्रीत पार्टीहरुको घोषणा लेखिएका केही भिडियोहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता भिडियोहरुमा ‘दार्जीलिङका पार्टीहरुले आफूहरु नेपालमा मिल्न तयार रहेको घोषणा’ गरेको दाबी गरिएको छ ।
Vishnubasnet37 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सिक्किम-दार्जीलिङ-कालिम्पोङ केन्द्रीत गोर्खा नेता तथा अभियान्ता भरत डोङ, विक्रमादि राई लगायतको भनाई अंशहरु जोडिएको छ ।

८ जुन २०२६ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘आफूहरु नेपालमा मिल्न तयार रहेको दार्जीलिङका विभिन्न पार्टीको घोषणा’ ।
त्यस्तै सागर गौतम user1736939653311 नामक टिकटक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘दार्जीलिङका नेताहरु नेपालमा मिल्न आत्तुर ।’
४ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा गोर्खा राष्ट्रिय कांग्रेसका नेतृत्वकर्ता भरत डोङको एउटा भनाई अंश जोडिएको छ । भिडियोको अंशमा डोङले ‘हामी भारतमा बस्न चाहदैनौँ’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ ।

त्यस्तै भिडियोमा दार्जीलिङ-सिक्किम-कालिम्पोङ केन्द्रीत गोर्खा अभियान्ता विक्रमादि राई बोलिरहेको अंश पनि जोडिएको छ । भिडियो अंशमा राईले भनेका छन्- ‘झट्टैभन्दा झट्टै पाँचौ अनुसूची हुँदै अलग राज्य बनिनुपर्यो ।’
प्रस्तुत भिडियो यसअघि नै Greater Nepal TV नामक फेसबुक पेजमा पोस्ट भएको पाइयो । २९ अक्टोबर २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘आफुहरु नेपालमा मिल्न तयार रहेको दार्जीलिङका विभिन्न पार्टीको घोषणा ।’
प्रस्तुत भिडियोलाई १८ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । करिब तीन हजार पटक सेयर भइसकेको भिडियो नै पछिल्लो समय सामाजिक संजालमा पुन: फैलिरहेको देखिन्छ ।

के दार्जीलिङका नेता तथा पार्टीहरुले आफूहरु नेपालमा मिल्न तयार रहेको घोषणा गरेका हुन् त? प्रस्तुत भनाईहरुको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
भारतको पश्चिम बंगाल राज्यस्थित उत्तरी भागमा रहेको एक प्रसिद्ध पहाडी क्षेत्र हो, दार्जीलिङ । यस क्षेत्रमा नेपालीभाषी भारतीय गोर्खा समुदायको उल्लेखनीय उपस्थिति छ ।
दार्जीलिङ ऐतिहासिक रूपमा सिक्किम र नेपालसँग जोडिएको प्रभाव क्षेत्र रहेको थियो । यस क्षेत्रमा तत्कालीन ब्रिटिश इस्ट इन्डिया कम्पनीको प्रभाव बढेसँगै यो क्षेत्र ब्रिटिश भारतमा समावेश भयो र पछि पश्चिम बंगालको हिस्सा बनेको थियो ।
यही सन्दर्भमा सिक्किम-दार्जीलिङ-कालिम्पोङ केन्द्रीत गोर्खा नेता तथा अभियान्ताहरुका भनाई अंश सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै ‘दार्जीलिङका पार्टीहरुले आफूहरु नेपालमा मिल्न तयार रहेको घोषणा’ गरेको दाबी गरिएको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले, भरत डोङ बोलिरहेको दृश्यको मूल अंश खोजी गर्यौँ । ‘भरत डोङ’ ‘Bharat Dong’ लगायतका वाक्यांशहरु जाँच गर्दा Daily Himalayan News युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
९ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा भरत डोङले ‘Darjeeling-Sikkim Merger’ को मागबारे बोलिरहेका छन् । यही भिडियोको एउटा सानो अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।
पुरा भिडियो हेर्दा, भिडियोमा गोर्खा राष्ट्रिय कांग्रेसका नेता भरत डोङले दार्जिलिङलाई सिक्किम राज्यमा मिसाउनुपर्ने माग गरिरहेका छन् । उनले भारतको स्वतन्त्रतापछि दार्जिलिङलाई अन्यायपूर्णरुपले पश्चिम बंगाल राज्यमा राखिएको दाबी गरेका छन् ।
भिडियोमा डोङले दार्जिलिङलाई सिक्किम राज्यमा मिसाउन अल्टिमेटम जारी गर्दै माग पुरा नभए छुट्टै देशको वकालत गर्ने घोषणासमेत गरेको देख्न सकिन्छ । तर, भिडियोमा गोर्खा राष्ट्रिय कांग्रेसका नेता भरत डोङले ‘आफूहरु नेपालमा मिल्न तयार रहेको घोषणा’ गरेका छैनन् ।

गोर्खा राष्ट्रिय कांग्रेसका नेता डोङको सोही मागसँग सम्बन्धित समाचार indiatodayne.in मा समेत प्रकाशित भएको देखिन्छ । समाचारमा डोङले दार्जिलिङलाई राज्यको दर्जा दिने वा सिक्किम राज्यमा मिसाउने माग गरेको जानकारी दिइएको छ । तर, ‘नेपालमा मिल्न तयार रहेको घोषणा’ गरेको उल्लेख छैन ।
त्यस्तै दाबीसहितको सामग्रीमा जोडिएको अर्को दृश्यमा विक्रमादि राई बोलिरहेका छन् । राई भारतको दार्जिलिङ क्षेत्रस्थित राजनीतिक तथा सामाजिक अभियान्ता हुन् । भिडियोको जाँचका क्रममा उनको आफ्नै फेसबुक पेज Bikramaadi Rai मा पोस्ट गरिएको पुरानो भिडियो फेला पर्यो ।
९ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा गाेर्खा सेवा सेनासँग सम्बद्ध विक्रमादि राईले ‘भारत सरकारले संविधानसभाकालदेखि नै दार्जीलिङलाई किनाराकृत’ गरिएको दाबी गरिरहेका छन् । उनले दार्जीलिङ क्षेत्रलाई संवैधानिक अधिकारबाट बन्चित गरिएकोसमेत अभिव्यक्ति दिइरहेका छन् । तर, भिडियोमा राईले ‘आफूहरु नेपालमा मिल्न तयार रहेको घोषणा’ गरेका छैनन् ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने, भारतस्थित गोर्खा नेता तथा अभियान्ताहरु भरत डोङ र विक्रमादि राई दार्जीलिङलाई पश्चिम बंगालबाट अलग गर्नुपर्ने, छुट्टै राज्य बनाउनुपर्ने वा सिक्किमसँग मिसाउनुपर्ने माग गरेका छन् । यही मागसहितका भिडियोहरुलाई छाटकाँट गरी नेपालसँग जोड्दै भ्रामक दाबी जोडिएको देखियो ।
निष्कर्ष
भारतस्थित गोर्खा नेता तथा अभियान्ताहरु भरत डोङ र विक्रमादि राईले ‘आफूहरु नेपालमा समावेश हुन वा मिल्न तयार रहेको घोषणा’ गरेका छैनन् । दार्जीलिङलाई पश्चिम बंगालबाट अलग गर्ने, छुट्टै राज्य बनाउने वा सिक्किमसँग गाभ्ने जस्ता मागबारे दिइएका अभिव्यक्तिलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको देखिन्छ । नेपाल देशसँग असम्बन्धित फरक-फरक अभिव्यक्तिलाई सम्पादन गरी भ्रामक अर्थ निकालिएको पाइयो ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
समाचार, indiatodayne.in
भिडियो, Daily Himalayan News
भिडियो, Bikramaadi Rai
Darjeeling, the hill capital of British India, historyjournal.net
Darjeeling District, darjeeling.gov.in
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
