Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पश्चिम बंगालका मुख्यमन्त्री तथा भाजपा नेता शुवेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रेको नमोबुद्ध नगरपालिका (साबिक दाप्चा) रहेछ । उनी नेपाली मूलका भारतीय नेता हुन् ।
तथ्य: उपलब्ध सार्वजनिक अभिलेख, जीवनी, समाचार सामग्री तथा इतिहाससम्बन्धी स्रोतहरूले शुभेन्दु अधिकारीको परिवारको थलो पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको काँथी क्षेत्र रहेको देखाउँछन् ।
भारतको पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फेला परेका छन् । यस्ता पोस्टहरुमा भारतीय जनता पार्टी (भाजपा)का नेतासमेत रहेका मुख्यमन्त्री शुभेन्दु अधिकारीको घर नेपालस्थित काभ्रेको नमोबुद्धमा रहेको दाबी गरिएको छ ।

Diwas News Ghar नामक टिकटक आइडीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको तस्बिरसहितको पोस्टर पोस्ट गरिएको छ । ३० मे २०२६ मा पोस्ट गरिएको पोस्टरमा लेखिएको छ- ‘पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको घर नेपालको काभ्रे जिल्लामा’ ।
Dipakbhattarai60 नामक इन्स्टाग्राम आइडीमा पनि मुख्यमन्त्री शुभेन्दु अधिकारीको घर नेपालस्थित काभ्रेको नमोबुद्धमा रहेको दाबी गरिएको देखिन्छ ।
यसअघि प्रस्तुत दाबी Bhim Prasad Upadhyaya फेसबुक आइडीमा पनि पोस्ट गएको देखिन्छ । २८ मे २०२६ मा मुख्यमन्त्री अधिकारीको तस्बिर पोस्ट गरिएको छ ।

तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘पश्चिम बंगालका मुख्यमन्त्री तथा भाजपा नेता शुवेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रेको नमोबुद्ध नगरपालिका (साबिक दाप्चा) रहेछ । उनी नेपाली मूलका भारतीय नेता हुन् ।’
त्यस्तै, Greater Nepal TV फेसबुक पेजमा पनि सोही दाबीसहित पोस्ट गरिएको छ। २९ मे २०२६ मा पोस्ट गरिएको मुख्यमन्त्री अधिकारीको तस्बिरसहितको पोस्टरमा उक्त दाबी गरिएको देखिन्छ । पोस्टरमा लेखिएको छ- ‘पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको घर नेपालको काभ्रे जिल्लामा’ ।

के पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालस्थित काभ्रेको नमोबुद्धमा रहेको जानकारीमा कुनै सत्यता छ त? भाइरल दाबीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
शुभेन्दु अधिकारी पश्चिम बंगालको राजनीतिमा शक्तिशाली व्यक्तित्व मानिन्छन् । उनी ९ मे २०२६ देखि भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट पश्चिम बंगालका मुख्यमन्त्री बने । यही सन्दर्भमा शुभेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालस्थित काभ्रेको नमोबुद्धमा रहेको दाबी सामाजिक संजालमा फैलिएको देखिन्छ ।
जाँचका क्रममा सबैभन्दा पहिला, शुभेन्दु अधिकारीको परिवार तथा जीवनीसम्बन्धी विवरणको खोजी गर्यौँ । सुरुवातमै indianexpress.com मा प्रकाशित Explained: Who is Sisir, father of Suvendu Adhikari, who is now in the BJP?, theweek.in मा प्रकाशित ‘Knew he would become big’: Sisir Adhikari on son Suvendu’s rise, thehindu.com मा प्रकाशित Suvendu Adhikari: All you need to know about West Bengal’s first BJP CM शिर्षकका सामग्रीहरु फेला परे ।
त्यस्तै oneindia.com मा राखिएको शुभेन्दु अधिकारीका पिता शिशिर अधिकारीको संक्षिप्त जीवनीसमेत जाँच गर्यौँ ।

फेला परेका रिपोर्टहरुमा शुभेन्दु अधिकारी परिवारको मूल थलो पश्चिम बंगालस्थित पूर्व मेदिनीपुर, काँथी क्षेत्र रहेको उल्लेख छ । इतिहासिक रुपमै अधिकारी परिवारलाई पूर्व मेदिनीपुर क्षेत्रको प्रभावशाली राजनीतिक परिवारमध्ये एक मानिन्छ । यस परिवारका सदस्यहरू विभिन्न समयमा लोकसभा, विधानसभा तथा स्थानीय निकायमा निर्वाचित भएको पाइन्छ ।
शुभेन्दु अधिकारीको जन्म पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको करकुली गाउँमा भएको विवरणहरुमा उल्लेख छ । उनका पिता शिशिर अधिकारी पनि सोही क्षेत्रका पुराना राजनीतिज्ञ हुन् । उनी लामो समय स्थानीय निकाय, पश्चिम बंगाल विधानसभा र लोकसभामा निर्वाचित भएका थिए ।
शिशिरका पिता केनाराम अधिकारी पनि पश्चिम बंगालको पूर्व मेदिनीपुर, काँथी निवासी रहेको विवरणहरु भेटिन्छ । साथै उनको परिवार स्वतन्त्रता सेनानीहरुसँग सम्बन्धित थियो । उनका नातीहरु अर्थात् शिशिर छोराहरु शुभेन्दु अधिकारी, दिव्येन्दु अधिकारी र सौमेन्दु अधिकारी तीनै जना सक्रिय राजनीतिमा रहेका छन् ।
अधिकारी परिवारको वंशावली (उपलब्ध सार्वजनिक अभिलेखका आधारमा)

वास्तवमा, अधिकारी नेपालको बहुसंख्यक थर हो । तर यो नेपालमा मात्र सीमित थर होइन । यो संस्कृत मूलको प्रशासनिक उपाधिबाट विकसित भएको थर हो, जो नेपालसँगै पश्चिम बंगाल, ओडिशा, बिहार, बंगलादेश तथा दक्षिण एसियाका अन्य क्षेत्रमा पनि प्रयोग हुन्छ । पश्चिम बंगालमा यो थर विशेषगरी महिष्य (Mahishya) लगायत विभिन्न समुदायमा पाइन्छ । त्यसैले केवल ‘अधिकारी’ थरका आधारमा कसैलाई नेपाली मूलको भन्न मिल्दैन ।
अर्कोतर्फ उपलब्ध सार्वजनिक जानकारीहरुले शुभेन्दु अधिकारी नेपाली मूलका हुन् वा उनका पुर्खा नेपालबाट पश्चिम बंगाल गएका हुन् भन्ने दाबीलाई प्रमाणित गर्दैनन् । उनको पुर्ख्यौली घर नेपालको काभ्रेको नमोबुद्ध नगरपालिका (साबिक दाप्चा) रहेको जानकारी पनि पुष्टि हुँदैन ।
उपलब्ध सार्वजनिक अभिलेख, जीवनी, समाचार सामग्री तथा इतिहाससम्बन्धी स्रोतहरूले शुभेन्दु अधिकारीको परिवारको थलो पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको काँथी क्षेत्र रहेको देखाउँछन् । साथै, ‘अधिकारी’ थर नेपालमा मात्र सीमित नभई भारतका विभिन्न राज्य तथा दक्षिण एसियाका अन्य मुलुकहरूमा पनि प्रचलित भएकाले केवल थरका आधारमा कसैको मूल उत्पत्ति नेपालसँग जोड्न मिल्दैन । त्यसैले शुभेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका (साबिक दाप्चा) मा रहेको दाबी प्रमाणविहीन छ ।
समाचार रिपोर्ट, indianexpress.com
वायोग्राफी, oneindia.com
समाचार रिपोर्ट, theweek.in
समाचार रिपोर्ट, indiatoday.in
समाचार रिपोर्ट, thehindu.com
समाचार रिपोर्ट, jagranjosh.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]