Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी आएको र २९ घरहरु बगरमा परिणत भएको (तस्बिरहरु सहित) ।
तथ्य: २०८० साउनमा मुस्ताङको कागबेनीमा आएको बाढीसँग सम्बन्धित तस्बिरहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
बाढीले घरहरु डुबाएको भिडियो हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी आएको र २९ घरहरु बगरमा परिणत भएको दाबी गरिएको छ ।
आयुश राइ नामक टिकटक आइडीमा ‘बर्खाको समयमा छ होसियार हुनु’ लेख्दै केही तस्बिरसहितको भिडियो पोस्ट गरिएको छ । साथै भिडियोमा जोडिएको समाचार शैलीको अडियोमा भनिएको छ- ‘मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी, हेर्दाहेर्दै २९ घर बगरमा परिणत । कागबेनीवासी भन्छन्- मुक्तिनाथबाट आफन्तले फोन गरेर बाढी आएको जानकारी दिएकाले बाँच्यौँ ।’
पोस्ट भएको एक सातामै दाबीसहितको पोस्टमा करिब १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ सय ३० भन्दा बढी प्रतिक्रिया आइसकेको पोस्टलाई टिकटक प्रयोगकर्ताले करिब ५ सयपटक सेयर गरिसकेको देखिन्छ ।
के पछिल्लो समय मुस्ताङको कागबेनीमा बस्ती नै डुबाउनेगरी बाढी आएको हो त? दाबीसहित पोस्ट गरिएका तस्बिरहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालमा २०८१ को मनसुनी वर्षा सुरु भएको छ । मनसुनको वर्षा सक्रिय भएसँगै नेपालका विभिन्न स्थानमा बाढी-पहिरोजन्य विपत्तिका घटना बढ्न थालेका छन् । यही सन्दर्भमा मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी आएको र २९ घरहरु बगरमा परिणत भएको दाबी पोस्ट गरिएको छ ।
दाबीसहितको सामग्रीमा दुईवटा तस्बिरसमेत जोडिएका छन् । यिनै तस्बिरलाई मध्यनगर गर्दै हामीले ‘मुस्ताङ कागबेनी’ ‘बाढी’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप एक वर्षअघि अर्थात् २०८० साउन २८ गते मुस्ताङको कागबेनीमा लेदोसहितको बाढी आएको जानकारी फेला पर्यो । त्यो बेला पहिरोका कारण थुनिएको कागखोला फुट्दा तटीय क्षेत्रमा बाढी आएको र सोही बाढीले कागखोला-कालीगण्डकी दोभानमा रहेको कागबेनी बजारलाई क्षति पुर्याएको हो ।
जाँचका क्रममा Kathmandupost र thehimalayantimes मा प्रकाशित कागबेनी बाढीको समाचार फेला परेका छन् । दुबै संचार माध्यमले एउटै सन्दर्भको समाचारमा दुईवटा फरक दृश्य देखिने तस्बिर राखेका छन् । दुबै समाचारमा उल्लेखित तस्बिर र दाबीसहितको भिडियोमा जोडिएका तस्बिर एउटै हुन् ।
अर्कोतर्फ Kaligandaki Media युट्युब च्यानलमा पनि कागबेनी बाढीको भिडियो फेला पर्यो । १४ अगस्ट २०२३ मा पोस्ट गरिएको भिडियोमा देखिएको दृश्य र दाबीसहितको सामग्रीमा जोडिएको दृश्य उस्तै छ ।
फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने एक वर्ष पुरानो घटनाका तस्बिरलाई वर्तमान समयसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । वर्तमान समय तस्बिरमा देखिएजस्तो कागबेनी बाढी बाढी आएको खबर कुनैपनि निकायबाट पुष्टि भएन ।
२०८० साउनमा मुस्ताङको कागबेनीमा बाढीजन्य घटना घटेको थियो । सोही घटनासँग सम्बन्धित तस्बिरहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
तस्बिर, Kathmandupost
तस्बिर, thehimalayantimes
भिडियो, Kaligandaki Media
समाचार, ekantipur
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]