Fact Check
Fact check: कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू सडकमै रोएका हुन् ? पढ्नुहोस् वास्तविकता

दाबी: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू रोएको दाबी (भिडियोसहित)
तथ्य: पाँच वर्ष पूरानो फरक सन्दर्भको भिडियोलाई कैलाश सिरोहियालाई पक्राउ परेको घटनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
मानिसहरू रोइरहेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू रोएको दाबी गरिएको छ ।
Rajan Bhandari नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पत्रकारहरू रोइरहेको र चिच्याइरहेको दृश्य देखिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘सिरोहिया पक्राउ भएपछि पत्रकारहरू रुँदै गरेको दृश्य, बिजोग रमाइलो छ नेपालमा ।’

के कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू सडकमै बसेर रोएका हुन् त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि जेठ ९ (२०८१) गते कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि प्रहरीले थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट सिरोहिया पक्राउ गरेको थियो । सिरोहिया पक्राउ परेको यही सन्दर्भमा पत्रकारहरू रोएको दाबी सामाजिक संजालमा फैलाइएको छ ।
जाँचका क्रममा हामीले ‘पत्रकार’ ‘सडक’ ‘रोए’ लगायतका वाक्यांशहरुलाई गुगल र युट्युबमा सर्च गर्यौँ । नतिजास्वरुप Samachar TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । पाँच वर्षअघि अर्थात् १९ मे २०१९ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘प्रदर्शनको नयाँ तरिका : रुँदै धर्नामा बसे पत्रकार’
फेला परेको भिडियोका आधारमा हामीले थप जाँच गर्दा Annapurna Post मा प्रकाशित भिडियो र समाचार फेला पर्यो । प्रस्तुत दुबै सामग्री पाँच वर्षअघि पोस्ट गरिएको पाइयो ।
अन्नपूर्ण पोस्टमा पक्राशित समाचार अनुसार पाँच वर्षअघि तत्कालीन सरकारद्वारा प्रस्तवित मिडिया काउसिन्ल विधेयकको विरोधमा मोरङका पत्रकारहरुले सांकेतिक विरोध प्रदर्शन गरेका थिए । नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी रोएर विरोध प्रदर्शन गरेको समाचारमा उल्लेख छ ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सडकमा पत्रकार रोएको भिडियो र कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको घटनाबीच कुनै सम्बन्ध छैन । पाँच वर्षअघि पत्रकारले गरेको सांकेतिक विरोध प्रदर्शनको भिडियोलाई भ्रामक बनाइएको पाइयो ।
निष्कर्ष
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू रोएको भिडपयोसँगै गरिएको दाबी भ्रामक छ । पाँच वर्ष पूरानो फरक सन्दर्भको भिडियोलाई कैलाश सिरोहियालाई पक्राउ परेको घटनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, bbc.com
भिडियो/समाचार: Annapurna Post
भिडियो: Samachar TV
भिडियो: Deshsanchar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]