Fact Check
Fact Check: के कुलमान घिसिङ पुन: नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएका हुन्?

दाबी: कुलमान घिसिङ पुन: नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएको समाचार भिडियो । तथ्य: सामाजिक संजालमा फैलिरहेको समाचार भिडियो पुरानो हो । भिडियोमा प्रयोग गरिएको दृश्य र समाचार २०७८ साल साउन २७ गते (११ अगस्ट २०२१) प्रशारित भएको थियो ।
कुलमान घिसिङसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त क्लीपमा कुलमान घिसिङ पुन: नेपाल विद्युत प्राधिकरणमा नियुक्त भएको जानकारी दिइएको छ ।
Gautam Prakash र Rumba Nima Dawa लगायतका टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा न्युज ट्वान्टीफोर टेलिभिजनको समाचार अंश जोडिएको छ । साथै दुई वर्षभित्र सबै नेपालीको घरमा विजुली बाल्ने घिसिङ पुन: नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेको दाबी गरिएको छ ।

के सामाजिक संजालमा फैलिरहेको भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित छ त? भिडियो क्लीपको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘कुलमान घिसिङ’ ‘नेपाल विद्युत प्राधिकरण’ ‘पुन: नियुक्त’ लगायतका वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप onlinekhabar.com, setopati.com र nagariknews.nagariknetwork.com लगायतका संचार माध्यममा पोस्ट गरिएका पुराना समाचार फेला परे ।
२७ साउन २०७८ मा प्रकाशित समाचारमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएको जानकारी दिइएको छ । ती समाचार अनुसार ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गरेको थियो ।
दाबीसहितको भिडियोमा न्युज ट्वान्टीफोर टेलिभिजनको समाचार अंश पनि देख्न सकिन्छ । उक्त समाचारमा कुलमान घिसिङ पुन: नेपाल विद्युत प्राधिकरण नियुक्त भएको जानकारी दिइएको छ ।
प्रस्तुत दृश्यको वास्तविकता पत्ता लगाउन हामीले News24 Nepal टेलिभिजनले कुलमान घिरिङको नियुक्तिबारे प्रशारण गरेका भिडियो समाचारहरु खोज्यौँ । जाँचको नतिजास्वरुप ११ अगस्ट २०२१ मा पोस्ट गरिएको समाचार फेला पर्यो ।

फेला परेको पुरानो समाचार र वर्तमान समयमा पोस्ट गरिएको भिडियो अंश एकआपसमा हुबहु मिलेका छन् । यस तथ्यका आधारमा के प्रमाणित हुन्छ भने नेपाल विद्युत प्राधिकरण र कुलमान घिसिङसँग सम्बन्धित पुरानो समाचार अंश नै वर्तमान समयमा पोस्ट भइरहेको देखिन्छ ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । उनले सन् २०१६ देखि २०२० र पुनः २०२१ देखि २०२५ सम्म प्राधिकरणको नेतृत्व सम्हालेका थिए । २०२५ मार्च २४ मा सरकारले घिसिङलाई कार्यकाल पूरा हुनु चार महिना बाँकी छँदा पदबाट हटाएको थियो ।
निष्कर्ष
सामाजिक संजालमा फैलिरहेको समाचार भिडियो पुरानो हो । भिडियोमा प्रयोग गरिएको दृश्य र समाचार २०७८ साल साउन २७ गते (११ अगस्ट २०२१) प्रशारित भएको थियो, जतिबेला कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरिएको थियो । हालमा कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त भएका छैनन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, News24 Nepal
समाचार, onlinekhabar.com
समाचार, setopati.com
समाचार, nagariknews.nagariknetwork.com